Wednesday 13th December 2017
  • New title for a=>html, img=>alt
  • ? सन्दर्भः विश्व मधुमेह दिवस:
    किन यति भयावह बन्दैछ मधुमेह ?

    November 14, 2017


     डा. हेमराज कोइराला र डा. भोजराज अधिकारी/

    मधुमेहबाट विश्वभर लगभग ४२ करोड २० लाख व्यक्ति पीडित छन् । प्रत्यक्ष रुपमा मधुमेहका कारणले वाषिर्क १५ देखि २० लाख मानिस मारिन्छन् ।

     

    सुषुप्त हत्यारा (साइलेन्ट किलर) को नामले पनि सम्बोधन गरिएको यो रोग भुसको आगोजस्तो भित्रभित्रै झ्यांगिएर एकै चोटी बृहत रुप धारण गरिसकेपछि मात्र देखापर्छ । यसो हुँदा रोग झ्यांगिइसकेर निम्त्याएका जटिलता देखापरिसकेको हुन्छ । फलतः रोगको निधान बेलैमा हुन नसक्दा रोगीको स्वास्थ्य जीर्ण भइसकेको हुन्छ । तसर्थ, जोखिम वर्गमा परेकाहरुले यो रोगबारे उच्च सतर्कता अपनाएर जोगिने वा बेलैमा व्यवस्थापन गर्नु पर्छ ।

    मधुमेहले महिला र पुरुष दुवलाई प्रभावित पार्न सक्छ तर महिलाहरुमा यो ज्यादा जटिल बन्न सक्छ । विशेषगरी गर्भवती भएका बेला मधुमेह देखा परे आमा र बच्चा दुवैको स्वास्थ्यका लागि खतरा सावित हुन सक्छ । गर्भावस्थाबाहेक हुने मधुमेहबाट पनि करिब १९ करोड ९० लाख महिला प्रभावित छन् ।

    यसरी करोडौं महिलाको साझा समस्याको रुपमा रहेको यो रोगबारे उनीहरुलाई जागरुक बनाउनु आवश्यक छ ।

    जागरण ल्याउने उद्देश्यले नै हरेक वर्ष १४ नोभेम्बरलाई विश्व मधुमेह दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको नारा छ, ‘मधुमेहः स्वस्थ भविष्यका लागि हाम्रो अधिकार’ ।

    यसलाई मधुमेह, डाइबिटिज, चिनी रोग, सुगरजस्ता नामले चिन्ने गरिन्छ । यसको मुख्य लक्षण रगतमा ग्लुकोजको मात्रा बढ्नु हो । ८/१० घण्टाको उपवासपछि लिइएको रगतमा यदि ग्लुकोजको मात्रा एक सय २६ मिलिग्राम प्रतिडेसीलिटरभन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह रोग लागेको मानिन्छ ।

    सामान्यतया एउटा स्वस्थ व्यक्तिको रगतमा ८० देखि एक सय १० मिलिग्राम प्रतिडेसीलिटर ग्लुकोज पाइन्छ । यदि ग्लुकोजको मात्रा यसभन्दा ज्यादा भएमा हाइपर ग्लाइसिमिया भनिन्छ । कम भएमा हाइपो ग्लाइसिमिया भनिन्छ ।

    चिकित्सकीय परिभाषामा ती सम्पूर्ण रोगावस्थालाई मधुमेह को नामले सम्बोधन गरिन्छ, जसले हाइपर ग्लाइसिमियाको साझा लक्षणलाई व्यक्त गर्छन् ।

    ग्लुकोज, रक्त ग्लुकोज र मधुमेह

    ग्लुकोज हाम्रो शरीरको इन्धन हो । जसरी गाडीको इन्जिन चलाउन पेट्रोल आवश्यक पर्छ, त्यसैगरी शरीररुपी इन्जिन चलाउन पनि ग्लुकोजको आवश्यकता पर्छ ।

    कार्बोहाइडे्रट वर्गका र गुलिया प्रकृतिका खाद्यान्न तथा फलफूलहरु चामल, गहुँ, मकै, कोदो फापर, मुङ, मस्याङ, मुसुरो, मास, रहडी, गहत, भटमास, केराउ, राजमा, बोडी, सिमी, आलु, पिँडालु, सुठुनी, तरुल, सिमल-तरुल, चिनी, आँटा, मैदाको पाचनपछि ग्लुकोज बन्छ ।

    र, अवशोषित भई रगतमा पुग्छ । थोरै मात्रामा ग्लुकोज शरीरभित्रै पनि उत्पादन हुन्छ ।

    भोजनमा ग्लुकोजजन्य खाद्यपदार्थको मात्रा कम छ भने शरीरभित्र ग्लुकोज उत्पादन हुने क्रम बढ्छ । यसरी भोजनबाट प्राप्त र शरीरभित्रै उत्पादित ग्लुकोजले रक्त ग्लुकोजको मात्रा निर्धारित गर्छ । क्रियात्मक रुपमा स्वस्थ व्यक्तिको शरीरमा ८०-११० मिलिग्राम प्रतिडेसीलिटर ग्लुकोज पाइन्छ ।

    रक्त ग्लुकोजका मानक विन्दुहरु नाघेर बढी भएमा हाइपर ग्लाइसिमिया र कम भएमा हाइपो ग्लासिमिया भएको मानिन्छ । मधुमेह हाइपर ग्लाइसिमियासँग सम्बन्धित रोग हो । चिकित्सकीय भाषामा ती सबै रोगावस्थालाई मधुमेहको साझा लक्षण मानिन्छ ।

    कति भए मधुमेह

    ८/१० घण्टाको उपवासपछि लिइएको रगतमा ग्लुकोजको मात्रा एक सय २६ मिलिग्राम डेलीभन्दा ज्यादा भएमा वा ग्लुकोजजन्य खाद्यपदार्थहरु खाएको दुई घण्टापछि लिएको रगतमा ग्लुकोजको मात्रा दुई सय मिलिग्राम डेलीभन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह भएको मानिन्छ ।

    फास्टिङ ब्लड ग्लुकोज ११०-१२६ मिलिग्राम डेली र पोस्ट प्रोन्डल ब्लड ग्लुकोजको १४०-१९९ सम्म भए मधुमेहको शुरुवाती लक्षण अथवा जोखिम भएको मानिन्छ ।

     

    जाँच विधि

    मधुमेहको निदान बेलैमा हुन नसक्दा रोगीको स्वास्थ्य जीर्ण भइसकेको हुन्छ । रोगको जोखिममा परेकाहरु वा पारिवारिक इतिहास भएकाहरुले नियमित रगत र पिसाब परीक्षण गराई रोग लागे/नलागेको निक्र्योल गर्नुपर्छ ।

    मधुमेह भए/नभएको थाहा पाउन ८/१० घण्टाको उपवासपछि रगत र पिसाब तथा खाना खाएपछिको रगत जाँचलाई मुख्य आधार बनाइन्छ । यसका अलावा ग्लाइकोसिलेटेड हेमोग्लोबिन पनि गरिन्छ ।

    खालि पेट र खानापछि ब्लड ग्लुकोज

    ग्लुकोज परीक्षणबाट रोगीको रगत पत्ता लगाई उसलाई मधुमेह भए/नभएको निक्र्योल गरिन्छ । रक्त परीक्षणभन्दा पहिलो दिन रोगीलाई कार्बोहाइडे्रटयुक्त -भात, रोटी) खानेकुरा खान जोड गरिन्छ ।

    भीटामिन सी, एस्पि्रन दुखाइ कम गर्ने औषधि, गर्भनिरोधक चक्की, नाइसिन ट्याब्लेटजस्ता औषधि खाएर ग्लुकोजको सही परिक्षण हुन नसक्ने हुँदा यस्ता दबाइ खाएर रक्त परिक्षण गर्नु हुँदैन ।

    फास्टिङ, रक्त ग्लुकोज परीक्षण गराइसकेपछि भरपेट खाना वा ७५ ग्राम ग्लुकोज खाएर त्यसको दुई घण्टापछि पुनः रगत निकालिन्छ । तर, खाना वा ग्लुकोज खाएर रगत ननिकाल्दासम्म कुनै पनि शारीरिक व्यायाम, मानसिक तनावमा रहनु हुँदैन ।

    ग्लाइकोसिलेटेड हेमोग्लोबिन परीक्षण

    फास्टिङ तथा पोस्टपान्डल ब्लड ग्लुकोज जाँच गर्दा मानसिक तनाव, आकस्मिक र अन्य विशेष रोगावस्थामा ग्लुकोजको मात्र धेरै आउन सक्छ । यस्तो अवस्थामा रोगीलाई मधुमेह भएको या नभएको भन्न सकिन्न र द्विविधा उत्पन्न हुन सक्छ ।

    यस्ता द्विविधा हटाउने, रोगीलाई मधुमेह हुनसक्ने सम्भाव्यता आकलन गर्ने र गर्भवतीलाई मधुमेह हुन सक्ने/नसक्ने निक्र्योल गर्न ग्लाइकोसिलेटेड हेमोग्लोबिन परीक्षण गरिन्छ । यो परिक्षण गर्दा रगतमा पछिल्लो तीन  महिनाको औसत ब्लड ग्लुकोज लेबल थाहा पाइन्छ ।

    मधुमेहको औषधि खाइरहेका विरामीमा त्यसको असर पनि थाहा पाउन सकिन्छ । यदि कसैको रगतमा ४.५ देखि ६ प्रतिशत भएमा मधुमेह नभएको मानिन्छ । ५.७ देखि ६.४ प्रतिशत भएकाहरुलाई प्रि-डाइबेटिक मानिन्छ भने ६.५ भन्दा माथिकाहरुलाई मधुमेह भएको मानिन्छ ।

    मधुमेहको निगरानी

    रोगीहरुले मधुमेह नियन्त्रण राख्न नियमित परीक्षण गरिरहनुपर्छ । निगरानी परीक्षणमा क्रमशः निम्न जाँचहरु पर्छन् ।

    १. फास्टिङ र पोस्ट-प्रान्डल ब्लड ग्लुकोज लेबल परीक्षण

    २. ग्लाइकोसिलटेड हेमोग्लोबिन परीक्षण

    ३. लिपिड प्रोफाइल

    ४. पिसाब माइक्रो आल्बुमिन्युरिया र अन्य

    ५. ब्लड युरिया नाइट्रेड

    ६. क्रियाटिनन

    ७. मुटु परिक्षण (इको,टीएमटी, ईसीजी)

    ८. आँखा परीक्षण

    ९. मिर्गौला परीक्षण (किटोन बडी, ब्लड युरिया नाइट्रेट, क्रियटिन, माइक्रो आल्बुमेन्यरोया)

    १०. खुट्टा परीक्षण

    सेल्फ मनिटरिङ (आफ्नै निगरानी)

    रोेगीले आफ्नो ब्लड ग्लुकोज आफैं पनि जाँच्न सक्छन् । त्यसका लागि ग्लुकोमिटर आवश्यक हुन्छ । ग्लुकोमिटर खल्तिमा बोकेर हिँड्न सकिने यन्त्र हो ।

    यसले केसिका (धमनी)मा भएको ब्लड ग्लुकोज मापन गर्छ । फलतः शिराबाट जाँचभन्दा १०-१५ प्रतिशत बडी रिडिङ दिन्छ । यस विधिद्वारा ग्लुकोज जाँच्न रगतको सानो थोपा काफी छ ।

    घरमा आफैंले ग्लुकोज मनिटर गर्ने गर्दा औषधिको प्रभाव, खानेकुराको रक्त ग्लुकोजमा असर, हाइपो ग्लाइसियमियाजस्ता आकस्मिक अवस्थाको आकलन गर्न सकिन्छ । त्यसैले मधुमेह रोगीले सेल्फ मनिटरिङ कला सिक्नु जरुरी छ ।

    मधुमेहबाट हुने नोक्सानी

    मधुमेह भएकाहरुलाई विशेषतः मिर्गौला फेलियर, हृदयघात, स्ट्रोक प्यारालाइसिस, घाउ निको नहुनु, गुप्तांगको इन्फेक्सन, दृष्टिनाश, छालाका रोगहरु, खुट्टामा घाउ हुने, दाँतको समस्या, पुरुषमा नपुंसकता, महिलामा बाँझोपना, काँधको जोर्नी जाम हुने, नशा र नाडीहरुको क्षय भई संवेदनशीलतामा कमि, मानसिक तथा भावनात्मक विकलता, अनिद्रा, यौन क्षमताको ह्रास, अपच, अजीर्ण र कब्जियतजस्ता रोगहरुले सताइरहन्छन् ।

    लक्षणहरु

    मधुमेह एउटा सुषुप्त रोग भएकाले प्रारम्भिक चरणमा खासै लक्षण देखिँदैनन् । रोग बढ्दै गएपछि धेरै भोक, तिर्खा, पिसाब, थकाइ लाग्ने,  मानसिक जडता, पेटको गोलाइ बढ्ने, डर लाग्ने, बिनाकारण हल्का रिस उठ्ने,  नैराश्यताको अनुभव भइराख्ने, कमजोरी महशुस हुने, खुट्टाहरु लुलो हुने, योनी, नितम्ब र औंलाको काप र स्तनमुनि चिलाउने, छालामा दाद वा घाउ-खटिरा आउने, तौल घट्ने, दृष्टि धुम्मिने, स्वासमा एसिटोनको गन्ध आउने, दम बढ्ने, वाकवाकी लाग्ने, बमन हुने, पेट दुख्ने, प्रतिरक्षा कमजोर हुने, घाउ-चोट चाँडै निको नहुने, पिसाबमा कमिला लाग्ने, गुप्तांग चिलाउने, तौल घट्दै जाने, छालाको रंग, कान्ति, मोटाइ र सुन्दरता परिवर्तन हुनेजस्ता लक्षण देखा पर्छन् ।

    मधुमेहका प्रकार

    मधुमेहलाई टाइप वान र टु, गर्भावस्थामा हुने र अन्य रोगका कारणले हुने गरी चार प्रकारमा विभक्त गरिएको छ । टाइप-१ लाई इन्सुलिन आश्रति, बाल्यवस्थामा हुने वा जुबेनाइल मधुमेह पनि भनिन्छ ।

    टाइप-२ लाई इन्सुलिन अनाश्रति, प्रौढावस्थामा शुरु हुने मोटोपनासँग सम्बिन्धितजस्ता नामले सम्बोधन गरिन्छ ।

    यस्तै, गर्भावस्थाका कारणले हुने मधुमेह तेस्रो प्रकारको हो । ग्लुकोजमा गडबडी, कुपोषणले हुने मधुमेह र विशेष रोगावस्था प्यांक्रियाजको संक्रमण, सिस्टिक फाइब्रोसिस, हेमाक्रोमाटोसिस, कुसिङ सिन्ड्रोम, पोली सिस्टिक ओभरी सिन्ड्रोम र प्यांक्रियाजको क्यान्सरमा देखिने चौथो प्रकारको मधुमेह हो ।

    कसले लिने इन्सुलिन ?

    १. मधुमेह पीडित गर्भवती

    २. यदि खाने औषधिले मधुमेह कन्ट्रोल नभएमा

    ३. मुटु रोगी, हृदयाघात भएका, प्यारालाइसिस भएका मधुमेहले आँखा, मिर्गौला, नशा, खुट्टाजस्ता संवेदनशील अंगलाई हानी पुर्‍याइसकेको अवस्थामा

    ४. टाइप-१ डाइबिटिज र कुपोषणको कारणले हुने मधुमेहमा

    ५. एडभान्स (झ्यांगिइसकेको) मधुमेहमा

     

    कसरी लिने इन्सुलिन ?

    १) डाक्टरले बताएअनुुुसारको मात्रा लिनु पर्छ ।

    २) इन्सुलिन लिन सुई हान्ने वा इन्सुलिन पेनको उपयोग गर्न सकिन्छ । तर, पेन सुईभन्दा सजिलो हुन्छ ।

    ३) तोकिएको मात्रा निर्धारण गरेर खाना खानुभन्दा १०-१५ मिनटअघि लिनु पर्छ ।

    ४) एक टाइमको इन्सुलिन लिन बिर्सिएमा भुलेर पनि अर्को पटक डबल डोज लिनु हुँदैन ।

    ५) दुई इन्सुलिनबीच १०-१२ घण्टाको ग्याप हुन जरुरी छ ।

    ६) इन्सुलिनलाई चिसो तथा सुख्खा ठाउँमा राख्ने गरौं ।

    के खाने ?

    फलफूल

    अमला, भुईं अमला, कागती, सुन्तला, मेवा, काँक्रो, खरबुजा, नास्पाती, बेल, बेलौती, जमुना, फडिर, मौसम । फल खानासँग नखाएको राम्रो । १५० ग्राम फलफूूल दिनमा तीनदेखि पाँच चोटी खाने बानी बसालौं । र, खानामा पनि भेज सलाद लिने गरौं ।

    सागपात

    लुँडेको साग, लट्टेको साग, बेथेको साग, तोरीको साग, पालुंगोको साग, मेथीको साग, रायोको साग, तितेकरेला, चुच्चे करेला, फर्सीको मुन्टा, कलिलो फर्सी, झिंगनी, रामतोरीया, घिरौंला, लौका, भेडे खुर्सानी, सलगम, मुला, हरियो सिमी, बोडी, लसुन, प्याजको पत्ता, कडी पत्ता ।

    अन्न, दाल, गेडागुडी

    रातो चामल, बोक्रासँग पकाएको दाल, गहुँको खस्रो पिठो, दलिया, मकैको च्यांख्ला, आँटा, फापर, कोदो, सामा, कागुनी, जौको भात, ढिंडो, भुटेको मकै, भटमास, चना, अंकुरित गेडागुडी, ओटमिल, कर्नफ्लेक्स, ब्राउन ब्रेड ।

    जुस

    करेला, अमला, पालुंगो, लौका, सलगम, कोभी, बन्दाकोभी, घीउकुमारी, गहुँको जमराको जुस ।

    खानैपर्ने जडिबुुटीहरु

    हिमाली सातपाते/बतासे (प्यानक्स जिनसिङ), हर्माल जडी -गलेगा अफिसिनालिस), तीते करेला (मेमोरडीका क्यारेन्सिया), मेथी (ट्रिगोनेल फेनम ग्रेकम), गुुडमार (जिम्नेमा सुबेस्टा), लसुन (एलिएम सटाइबम), प्याज (एलिएम सेपा), विजयसाल (टेरोकार्पस मासर्ुुपियम),  घ्युुकुुमारी (एलोभेरा), बिलबेरी (बक्सिनिअम मार्टिलस) ।

    खानैपर्ने सूक्ष्म पोषक तत्वहरु

    क्रोमियम, म्याग्नेसियम, जिंक, क्याल्सियम, पोटासियम, भेनाडाइल सल्फेट, एल-कार्निटिन, एल- आर्जिनिन, टउरिन, भिटामिन ई, भिटामिन सी, भिटामिन बी-६ (पेरिडोक्सिन), बायोटिन, ग्लुटाथायोन, ओमेगा-३, कोइन्जाइम क्यु-१०, लिपोइक एसिड ।

    (लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुरका मेडिकल डाइरेक्टर हुन् ।)