मम्मीको राष्ट्रपति बन्ने रोडम्याप नै थिएन-राष्ट्रपतिपुत्री

969

मम्मीको राष्ट्रपति बन्ने रोडम्याप नै थिएन-राष्ट्रपतिपुत्री

Usha-kiran-Bhandari

उषाकिरण भण्डारी, राष्ट्रपतिपुत्री

आमा देशको सर्वोच्च पदका निम्ति सपथ खाइरहेकी थिइन् । दुई छोरीहरु दर्शकदिर्घामा बडो शान्त र गम्भीर मुद्रामा हेरिरहेका थिए । उनीहरुको भागभंगीमा हेरेर कमैले अनुमान गर्न सक्थे, राष्ट्रपति पुत्रीहरु हुन् भनेर ।हजुरआमा मिथिला पाण्डेलाई लिएर दिउँसो साढे दुई बजे शीतल निवासमा पसेका थिए यी दिदीबहिनी । दिदी उषाकिरण सारी चोलोमा सजिएकी थिइन् भने बहिनी निशाकुसुम कालो कुर्ता सुरुवालमा थिइन् । शीतलनिवासको प्राङ्गणमा तीन घन्टा बिताउँदा उनीहरु दुवैमा कत्ति पनि फुर्तिफार्ति देखिएन । देखाएको भए सञ्चारकर्मीले छोप्थे होला ।नवनिर्वाचित राष्ट्रपतिले सपथ ग्रहण गरेपछि परिचयका लागि आगन्तुकहरुको लामो लाइन लाग्यो । यता, दिदीबहिनी ‘परिवारलाई त अहिले भेट्न नदेलान् है’ भन्दै साउती गरिरहेका थिए ।उषाकिरण विवाहित र निशाकुसुम अविवाहित हुन् । निशाकुसुम अलि लजालु रहिछन् । कुराकानीका लागि आग्रह गर्दा ओठलाई दाँतले टोकिन् भुईंतिर हेर्दै भनिन्, ‘नाई, म त कुरा गर्दिन । दिदीसित गर्नुस् ।’ उषाकिरण भने बोल्न पारंगत रहिछन् । तुरुन्त तयार भइहालिन् । उनीसितको प्रश्नोत्तर यस्तो रह्योः

आमाले देशको सर्वोच्च पदको सपथ खाँदा छोरीको मनमा के चल्दोरहेछ ?

– परिवारको सदस्य भएको नाताले हामी खुशी लाग्नु स्वभाविक नै भयो । एज अ वुमन पनि हामी यस अर्थमा गौरवान्वित छौं कि देशले पहिलो महिला राष्ट्रपति पाएको छ ।

– तपाईंले कहिल्यै आफ्नी आमालाई राष्ट्रपति भएको कल्पना गर्नुभएको थियो ?

-अहँ थिइँन । मैले मात्र होइन, मम्मीले पनि कहिल्यै यो कुरा सोच्नुभएको होइन । राष्ट्रपति बन्ने उहाँको रोडम्याप नै थिएन । यो हाम्रो लागि एउटा आकस्मिक घटना हो । सुखद आश्चर्य भनौं न ।

– राष्ट्रपतिको कुर्सीमा बसेर आमाले के-के काम गरेको हेर्न चाहनुहुन्छ ?

– नेपालको संविधानले राष्ट्रपतिलाई एउटा सिमाभित्र राखेको छ । मम्मीले यहि सिमाभित्र रहेर काम गर्नुहुनेछ । छोरीको रुपमा मैले उहाँलाई एकदमै राम्रोसित चिनेकी छु, । मलाई यत्ति थाहा छ, उहाँले जानेर गलत काम गर्नुहुने छैन । आफ्नो अधिकारको दुरुपयोग गर्नुहुने छैन । देश र जनताको लागि ‘प्रोएक्टिभ’ भएर आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ ।

आजको दिनमा आफ्नो र मम्मीको विगतलाई फर्केर हेर्दा कस्तो महसुस हुन्छ ?

– मम्मीको जीवन सँधै संघर्षमै बितेको पाउँछु । उहाँले जीवनमा भोग्नु भएका हरेक सुखदुखका क्षणहरुको साक्षी हुँ म । बुवाको हत्यापछि उहाँले एक्लै हामीलाई हुर्काउनुभयो, बढाउनुभयो । बाबु-आमा दुवै भएको परिवार र दुईमध्ये एक जना मात्र भएको परिवारमा फरक हुन्छ । बाबु र आमामध्ये एक जना नभएको परिवारको सन्तुलन बिग्रेको हुन्छ । हाम्रो परिवारको पनि सन्तुलन बिगि्रयो । त्यतिबेला हामी दिदीबहिनी सानै थियौं । मम्मीले ती कठिन दिनहरुलाई पार गरेर आजको अवस्थासम्म आइपुग्नुभयो । यो सम्भिmदा उहाँप्रतिको श्रद्धा झन् बढ्छ ।

आज बुवाको कति याद आइरहेको छ ?

– बुवालाई हामी हरदम सम्झिरहेका हुन्छौं । मलाई आफ्नो बुवाको रुपमा भन्दा बढि देशको जननेताका रुपमा उहाँको अभाव खटि्कएको महसुस हुन्छ । जबजब देश अप्ठेरो अवस्थामा हुन्छ, बुवा हुनुभएको भए यस्तो हुन्थेन कि भन्ने मनमा लाग्छ । उहाँ हाम्रो लागि प्रेरणा स्रोत हुनुहुन्छ । आजको यो दिनमा बुवालाई नसम्झिने कुरै भएन ।

तपाईंको आमा आजको स्थानसम्म आइपुग्नुमा मदनपत्नी हुनु प्रमुख कारण हो जस्तो लाग्छ कि लाग्दैन ?

– आमाको आफ्नै पृष्ठभूमि छ । उहाँले विवाहभन्दा अगाडी नै राजनीति गर्न थाल्नुभएको हो । ७-८ कक्षामा पढ्दाखेरी नै उहाँ कम्युनिष्ट विचारधाराबाट प्रभावित हुनुभएको थियो । विवाहपछि बुवालाई हरदम साथ दिनुभयो । जीवनका कुनै पनि उतारचढावमा विचलित हुनुभएन । परिवर्तनका लागि हुने हरेक आन्दोलनहरुमा निष्ठापूर्वक सहभागी हुनुभयो । यो सबैको परिणाम हो जस्तो लाग्छ । तर, यो पनि सत्य हो कि बुवाले देखाउनुभएको सिद्दान्तमा हिँडेर नै उहाँ आजको स्थानसम्म आइपुग्नुभएको छ ।

एउटी महिला नेतृ विद्या भण्डारी र देशको राष्ट्रपति विद्या भण्डारीमा के फरक अपेक्षा गर्नुहुन्छ ?

– महिला नेतृ हुँदा र राष्ट्रपति हुँदा भूमिकाका हिसाबले फरक त भइ नै हाल्छ । पहिले उहाँ एउटा पार्टीप्रति प्रतिवद्ध हुनुहुन्थ्यो । अब सिंगो देशको अभिभावक बन्नुभएको छ । उहाँको विचार र व्यवहार त्यहि अनुरुप बदलिएला ।

तपाईं हिजोसम्म एउटी आम महिला हुनुहुन्थ्यो । आज राष्ट्रपतिपुत्री हुँदा तपाईंको पनि त हैसियत अर्कै भएको छ । शक्तिमा रहेका व्यक्तिका सन्तानले अनेक तुजुक देखाउँछन् । तपाईंहरुबाट के अपेक्षा राख्न सकिन्छ ?

– मैले आफ्नो स्टाटस फेरिएको जस्तो महसुस गरेकी नै छैन । विगतदेखि नै मदन भण्डारीको परिवार भनेर हाम्रो परिवारलाई सबैले माया र सम्मान गर्दै आउनुभएको छ । घरमा नेताहरुको आउजाउ पहिलेदेखि नै भइरहन्थ्यो । मम्मी पहिले दुई पटक मन्त्री पनि भइसक्नुभएको हो । यस्तो माहोलामा हामी अभ्यस्त नै छौं ।

हिजो उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभयो । राति सुत्न बेडरुम गएपछि मात्र मैले भेटेर बधाई दिन पाएँ । आज त भेट्न पनि पाउँछु कि पाउँदिन । अघि उहाँको सम्मानमा राष्ट्रिय धुन बज्दा मेरो मन गौरवले ढक्क फुलेको थियो । यद्यपि, राष्ट्रपतिकी छोरी भएँ भनेर कुनै घमण्डको महसुस भएको छैन र सायद भविष्यमा पनि नहोला ।

नेपालमा पहिलो महिला निर्वाचित भएको भनेर हर्षोल्लास चलिरहेको छ । उहाँ राष्ट्रपति हुँदा आम नेपाली महिलाले के पाउलान् त ?

– एउटी महिला राष्ट्रपति हुँदैमा ठूलो उथलपुथल हुने होइन । यो एउटा सिम्वोलिक कुरा हो । यसबाट आम महिलाहरुको मनोबल बढ्छ । पुरुष र महिलामा फरक छैन भन्ने सन्देश प्रसार हुन्छ । महिलाहरुका सवालहरुमा भविष्यमा पक्कै पनि उहाँले मिल्नेसम्मको पहल लिनुहुनेछ भन्ने विश्वासमा छु ।

अनलाईनखबरबाट