राष्ट्रपतीमा कांग्रेसको दावी-शेखर

478

राष्ट्रपतीमा कांग्रेसको दावी-शेखर

sssssनेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. शेखर कोइरालाले राष्ट्रपतिमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले कांग्रेसलाई समेत सहमतिमा लिएर अघि बढ्ने बताएको स्मरण गर्दै डा. कोइरालाले अनलाइनखबरसँग भने- ओलीजीले कांग्रेसलाई पनि विश्वासमा लिन्छु भन्नुभएको छ, लिनुहुन्छ भने ठीक छ नत्र भने, उहाँहरुले उमेद्वारी दिनुहुन्छ भने हामी पनि उमेद्वारी दिन्छौं ।’

राष्ट्रपतिको चुनावमा कांग्रेसले जसलाई भोट हाल्छ, उसैले जित्ने डा. कोइरालाले दाबी गरे । तर, पार्टीले सुशील कोइरालालाई नै उमेद्वार बनाउँछ या अरुलाई भन्ने चाहिँ तय भइनसकेको उनले बताए ।सुशील कोइरालामाथि लगाइएको ‘भारत परस्त’को आरोप खण्डन भइसकेको बताउँदै डा. कोइरालाले प्रश्न गरे-‘उहाँलाई आरोप लगाएर टि्वटर बजाउनेहरु कहाँ गायव भए ?’राष्ट्रपतिको भावी निर्वाचन, प्रधानमन्त्रीमा सुशील कोइरालाको पराजय अनि कांग्रेसको भावी रणनीतिबारे डा. कोइरालासँग गरेको विस्तृत कुराकानी

कांग्रेसका नेता कार्यकर्ताहरुले अब निराश हुनुपर्ने दिन आए हैन ?

निराश हुनुपर्ने त म देख्दै देख्दिँन । किन निराश हुने ?

मानिसहरु भन्छन्- अब कांग्रेसका दिन सकिए… ओली, प्रचण्ड र कमल थापा मिलिसकेपछि अब कांग्रेसको दिनगन्ती सुरु भयो…..

तपाईले यसो भनिसकेपछि मैले वीपी कोइरालालाई सम्झिएँ । जननायक वीपी कोइरालाले के भन्नुहुन्थ्यो भने अल्ट्रा लेफ्टिस्ट र अल्ट्रा राइटिस्ट अर्थात् उग्रवामपन्थी र उग्र दक्षिणपन्थीहरु एकै ठाउँमा उभिन्छन् र डेमोक्रेट्सहरुलाई दुःख दिन्छन् । वीपीले धेरै वर्ष पहिले गरेको यो कुरा अहिले सत्य सावित भएको छ । ठीकै छ नि, म त राम्रो भएको छ भन्छु ।

के अब लोकतन्त्रले नै दुःख पाउने दिन सुरु भएको हो त ?

हैन, नेपाली कांग्रेसले राम्रो प्रतिपक्षको भूमिका खेल्यो भने लोकतन्त्रले दुःख पाउँदैन । त्यही कारणले हामी प्रतिपक्षमा बसेका हौं ।

डा. शेखर कोइरालाले सुशीलमार्फत अकस्मात सरकारमा नजाने निर्णय गराएर एमालेसँगै जान खुट्टा उचालेका केही नेतालाई निराश बनाए भन्ने चर्चा छ नि ? तपाई नै सुशीललाई यो ठाउँमा ल्याएको हो ?

हाहा… मजस्तो अदना मान्छेले उहाँहरुलाई मन्त्री बनाउनबाट रोक्ने कहाँको हैसियत छ र ?

मन्त्री बन्नबाट रोकिएकोमा कांग्रेसका केही नेताको चित्त दुखाइ त देखियो नि हैन ?

एउटा कुरा के बुझ्नुपर्‍यो भने मन्त्री बन्नका लागि हामीले राजनीति गर्‍या हो ? कि नेपाली कांग्रेसको सिद्धान्तलाई टेकेर अगाडि जाने हो ? हामी नेपाली कांग्रेसको सिद्धान्तलाई टेकेर अगाडि जाने मानिसहरु हौं । मैले त एमालेलाई गुण र दोषका आधारमा सहयोग गर्ने भन्दै नै छु । हामी प्रतिपक्षको भूमिका खेल्छौं । प्रतिपक्ष भनेको पनि भोलि हामी सरकारमा आउन सक्छौं है भनेर देखाउनुपर्छ र हामी देखाउँछौं त्यो ।

सुशीललाई प्रधानमन्त्रीमा लडाएर शेरबहादुर देउवाजीले फसाउनुभएको हो ?

शेरबहादुरजीले संसदीय दलको चुनाव माग गर्नुभयो । त्यसैलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले या जनताले भनेका होलान् शेरबहादुरजीले फसाउनुभो भनेर । पार्टीमा प्रतिस्पर्धा हुन्छ, यसलाई हामीले अन्यथा ठान्नुहुँदैन । तर, शेरबहादुरजीले सभापतिलाई राजीनामा गर्नोस् त भन्नुभएन । सुशील’दाले पनि भोलि पनि मै हो, संसदीय दलको नेता भनेको भए सक्किइहाल्थ्यो, अलिकति ढीलो भयो ।

नेपाली कांग्रेस अहिले सत्ता बाहिर हुने जुन स्थिति आएको छ, सुशील कोइरालालाई यो अवस्थामा कसले पुर्‍यायो ?

के बुझ्नुपर्‍यो भने नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी हो । हामी लोकतन्त्रमा विश्वास गर्छौं । संविधान बनाउने काममा हामी एमालेसँगै गयौं । संविधान जारी गर्‍यौं । त्यसबेला पनि एमाओवादी त विपक्षीमै थियो नि । त्यसैले डेमोक्रेसीलाई स्थायित्व दिने हो र सुदृढ गर्ने हो भने प्रतिपक्षको भूमिका पनि त्यत्तिकै जरुरी छ ।

प्रतिपक्ष विनाको लोकतन्त्र, त्यो खिचडीतन्त्र हुन्छ भन्ने रामचन्द्र पौडेलजीले जुन भन्नुभयो, म त्यसमा सतप्रतिशत सहमत छु । हाम्रोमा आठ-दश वर्षदेखि खिचडीतन्त्र नै भइराखेको छ ।

यो अवधिमा एमाओवादी त प्रतिपक्षमै थियो नि हैन र ?

एमाओवादीले प्रतिपक्षको भूमिका नै निभाएन । रमाइलो के भयो भने एमालेले सत्ता पक्षमा हुँदाखेरि पनि प्रतिपक्षको भूमिका खेल्यो ।

कसरी ?

संविधान संशोधन गर्ने कुरा सरकारमा बसेर एमालेले नमानेकै हो । समानुपातिक, समावेशी र चुनावक्षेत्र निर्धारणको कुरा उसले नमानेकै हो । पुनर्निर्माण प्राधिकरण विधेयक सत्तापक्षले स्वीकार गरिसकेकोमा संशोधन हाल्ने पनि सत्तारुढ एमालेकै सभासदहरु थिए । यो त विल्कुल डेमोक्रेसीको मर्मको विपरीत कुरा हो ।

त्यसैले कांग्रेस डेमोक्रेसीको विरुद्धमा जान सक्दैन । सहमतिका नाममा देशलाई बन्धक बनाउन पनि हुँदैन । देशलाई हामीले अहिले जसरी भागवण्डामा लगिराखेका छौं, यो गलत हो । प्रतिपक्षको भूमिकालाई हामीले राम्ररी निर्वाह गर्नुपर्छ ।

कांग्रेसले पहिलेको भद्र सहमतिअनुसार नै ओलीलाई समर्थन जनाएरै सरकार बाहिर बसेको भए पनि त हुन्थ्यो नि, प्रधानमन्त्रीमा उमेद्वारी नै किन दिनुपर्थ्यो   र ?

एउटा कुरा के बुझ्नोस् भने भद्र सहमतिबारे सुशील’दाले हामीलाई सुनाउनुभएको है…. सुशील’दाले हामीलाई के भन्नुभयो भने मैले चारदलको बैठकमा भनेको हो, तर सञ्चारमाध्यमले केमात्रै टिपिदिनुभयो भने नेपाली कांग्रेसले संविधान जारी भएपछि एमालेलाई सरकारको नेतृत्व दिन्छ । तर, सुशील’दाले त्यसपछि भनेका कुराहरु तपाई सञ्चारकर्मीहरुले टिपिदिनुभएन ।

थप के भन्नुभएको रहेछ सुशील’दाले ?

उहाँले के भन्नुभएको थियो भने मेरो इन्स्िटच्युसन छ, नेपाली कांग्रेसको केन्द्रीय समिति छ । नेपाली कांग्रेसको केन्द्रीय समितिले जे निर्णय गर्छ, त्यो मलाई मान्य हुन्छ, यो मेरो व्यक्तिगत विचार हो । उहाँले भनेको यो कुरालाई तपाईहरुले टिपिदिनुभएन । यसमा मलाई दुःख लाग्यो ।

सञ्चारमाध्यममा के हुँदोरहेछ भने आफूलाई चित्त बुझेको कुरा ठ्याक्क राखिदिनुहुन्छ, बाँकी कुरा तपाईहरुले हटाइदिनुहुन्छ । यो कुरालाई सुशील’दाले अस्तिको नेपाली कांग्रेसको बैठकमा स्पष्ट पारिदिनुभयो ।

यसरी लड्दा सुशील कोइराला हार्नुहुन्छ भन्ने तपाईहरुलाई थाहा थिएन ?

पहिलो संविधानसभामा हामीलाई थाहा थियो, हामी हार्दैछौं । त्यसबेला एमाले, एमाओवादी, मधेसी मोर्चा सबैले एक ठाउँमा प्रचण्डलाई भोट हालेर प्रधानमन्त्री बनाउने कुरा हामीलाई थाहा थियो । कांग्रेसको जम्मा ११४ भोटमात्रै थियो । ६ भोट अरुबाट आयो, राप्रपा कतैबाट । १२० भोटमात्रै शेरबहादुरजीले पाएको हो नि त । कति चाँडै बिर्सिएको हामीले यो कुरालाई ? पाँच वर्षमै बिर्सिइदिने यो कुरा ?

नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी हो । हामी प्रतिपक्षमा बस्छौं । प्रतिपक्षमा बस्ने हो भने दुई भोट भए पनि लड्नैपर्‍यो नि ।

संविधान बनाउने भूमिका खेलेर उच्च छवि बनाएका सुशील कोइरालालाई प्रधानमन्त्रीको उमेद्वार बनाएपछि बेइज्यती भएन ?

यो लंगडो तर्क हो । म किन लंगडो हो भन्छु भने सुशील’दा संसदीय दलको नेता हो । उहाँले जबसम्म म उठि्दँन, तपाईहरु दुई जनामध्ये कोही उठ्नुहोस् भनेको भए अर्कै कुरा, उहाँले म उठ्छु भनिसकेपछि र प्रतिपक्षको भूमिकामा पनि बस्न तयार छु भनिसकेपछि नेपाली कांग्रेसको केन्द्रीय समितिका ९० प्रतिशत साथीहरुले या कांग्रेसको नेतृत्वमा सरकार बनाऊ, या प्रतिपक्षमा बस भन्ने म्याण्डेट दिइसकेपछि हार्ने जित्ने लोकतन्त्रमा त हुन्छ नि । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । यसलाई हामीले बुझ्न सकिराखेका छैनौं ।

सामाजिक सञ्जालमा सुशील कोइराला र नेपाली कांग्रेसलाई कति आलोचना भयो, तपाईले हेर्नुभएको छ ?
तपाईहरुको फेसबुकमा हेर्दाखेरि, तपाईहरुको सञ्चार माध्यममा हेर्दाखेरि, ट्विटरमा हेर्दाखेरि… आज कहाँ गए ती टि्वटर बजाउने मानिसहरु ? कहाँ गए ती फेसबुकमा स्टाटस लेख्ने मानिसहरु ? कहाँ छन् अहिले तिनीहरु ? किन लेखिरहेका छैनन् तिनीहरुले अहिले नेपाली कांग्रेसलाई भारतपरस्त भनेर ? गायब भए त तिनीहरु !

मैले त दुई दिनदेखि फेसबुक, टि्वटर नहेरेको, हिजो राति खोलेर हेर्दा देख्दै देखिँन, कहाँ गए तिनीहरु ? नेपाली कांग्रेसलाई गाली गर्ने व्यक्तिहरु कहाँ गए ? यो सबै बनावटी रहेछ भन्ने त देखियो नि त । हाम्रा कार्यकर्ता र नेताहरु फेसबुक र टि्वटर पढेर नेपाली कांग्रेस एमालेको सरकारमा जानुपर्थ्यो  भन्छन् । यस्तो पनि हुन्छ ?

सुशीलमाथि लागेको गम्भीर आरोप के छ भने उहाँले रातारात भारतको कुरो सुन्नुभयो, भारतले नै उहाँलाई उमेद्वारी खडा गर्‍यो…

म तपाईलाई यसको उत्तर दिइहाल्छु, तर मलाई हाँस उठ्छ है । एउटा एकदमै रमाइलो कुरा छ, मलाई बहुतै हाँस उठ्छ । नेपाली कांग्रेसलाई भारतपरस्त भनियो । सुशील’दालाई भारतपरस्त भनियो । सुशील’दा भारतपरस्त भएको भए… म भारत परस्त भन्दैछु । भारतसँग नेपाली कांग्रेसको बहुतै नजिकको सम्बन्ध छ । तर, भारतपरस्त भनेको फरक कुरा हो । सुशील’दा भारतपरस्त भएको भए डेढ वर्ष उहाँलाई अफिसियल भिजिट त भएन त भारतमा । भयो ? र, नाकाबन्दी कसको पालामा भयो ? सुशील’दाको पालामा नाकाबन्दी भएको होइन ? अहिले ओलीजी प्रधानमन्त्री हुनेवित्तिकै नाका त अलिकति खुकुलो भएको छ नि त । नेपाली कांग्रेस भारतपरस्त हैन भन्ने यसले देखाउँदैन र ?

सुशील’दाले त अत्यन्त…. यो त नेपालको इतिहासमा कोरिन्छ, त्यो के भने आन्दोलनरत मधेसी दलहरुलाई सुशील’दा संसदमा ल्याइदिनुभयो । सुशील कोइराला प्रधानमन्त्रीमा नउठेको भए उनीहरु संसदमा आउँदैन थिए । यो कुरा नेपाली जनताले बुझेको छ ।

मधेसी र थारुको माग सुशील कोइरालाकै पालामा पूरा भएन, यो कसले गर्दा नभएको ? एमालेले कि कांग्रेसले ?

हैन, अझै पनि क्लियर भएन ? म यो किन भन्दैछु भने नेपाली कांग्रेसको नेतृत्वको मन्त्रिपरिषदले समानुपातिक, समावेसी जुन मुद्दा थियो, अर्को भूगोल र जनसंख्याका आधारमा चुनाव क्षेत्र निर्धारण गर्ने भन्ने थियो, यो प्रस्ताव मन्त्रि परिषदमा राख्दा एमालेका मन्त्रीहरु त्यहाँबाट उठेर हिँडेको एकदम ताजै छ यो घटना ।

तैपनि प्रधानमन्त्रीले प्रस्ताव लग्नुभो । अहिले संसदमा छ यो । संसदमा छलफल गराउने काम अब संसदीय मन्त्रीको होला, सभामुखको होला । उहाँहरु नै बन्नुहुन्छ । नेपाली कांग्रेसले त यतिसम्म गर्दियो । संसदसम्म पुर्‍याइदियो । एमाले बाधक बन्दाबन्दै पनि कांग्रेसले संसदमा पुर्‍याइदिएको छ । एमालेले त नमानेकै हो नि यो कुरा । अब पनि लुकेको छ र जनतासित ? छैन नि त लुकेको ।

अब राष्ट्रपतिका विषयमा कुरा गरौं, नेपाली कांग्रेस सहमतिमा आएको भए राष्ट्रपति पाउने सम्भावना थियो, तर, अब प्रतिपक्षमा बस्ने नीति लिँदा राष्ट्रपति गुम्ने भयो हैन त ?

हामीले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख पाउनलाई राजनीतिक गरेको हैन नि । नेपाली कांग्रेसले कि त्यसका लागि राजनीति गरेको हो ? यसो विचार गर्नोस् त ।

कांग्रेसले अब राष्ट्रपतिमा दाबी गर्दैन त ?

दाबी त किन हुँदैन ? राष्ट्रपतिमा विल्कुल दाबी हुन्छ । नेपाली कांग्रेसकै नेतृत्वको राष्ट्रपति हुन्छ । नेपाली कांग्रेसले जसलाई भोट दिन्छ, उनी राष्ट्रपति हुन्छ ।

साँचै राष्ट्रपतिको चुनावमा कांग्रेसले उमेद्वारी दिने नै हो त ?

दिन्छ, दिन्छ । किन दिँदैन ? दिनैपर्छ ।

एमालेले सुवास नेम्वाङ या विद्या भण्डारीलाई राष्ट्रपतिको उमेद्वार बनाउने चर्चा सुनिन्छ, कांग्रेसले कसलाई उठाउँछ ? सुशील कोइराला या अरु ?

नेपाली कांग्रेसले निर्णय गरेको छैन, तर कांग्रेसले एउटा उम्मेद्वार दिन्छ ।

जित्ने दाबी पनि छ कि ?

चुनाव लडेपछि जित्नलाई लड्ने हो । हार्ने चुनाव लड्दैन मान्छे । यो बुझ्नोस् ।

तर, प्रधानमन्त्रीमा त सुशीलले हार्ने चुनाव नै लड्नु भो नि ?

अहिले सुशील कोइरालालाई उठाएर नेपाली कांग्रेसले हार्‍यो, तर देशले जित्यो । यो बुझ्नोस् । मधेसी दलहरुलाई हामीले संसदमा ल्यायौं, यो देशको जीत होइन ?

सहमतिमै कांग्रेसले राष्ट्रपति पाउनुपर्छ तपाईहरुको दाबी हुन्छ या हुँदैन ?

त्यो त ओलीजी आफैं प्रधानमन्त्री हुनुहुन्छ । संसदीय दलको नेता, पार्टीको अध्यक्ष हुनुहुन्छ । कांग्रेसलाई पनि विश्वासमा लिन्छु भन्नुभएको छ । लिनुहुन्छ भने ठीक छ नत्र भने, उहाँहरुले उमेद्वारी दिनुहुन्छ भने हामी पनि उमेद्वारी दिने । के भो र, यसमा देशले जित्ने कुरा आउनुपर्‍यो ।

फेरि प्रशंग बदलौं, अब कांग्रेसले कसरी प्रतिपक्षको भूमिका खेल्छ ?

त्यो भनेको संविधान बनाउने बेलामा कसरी कांग्रेसलाई एमाले र एमाओवादीले साथ दियो, त्यस्तै नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर एमाले र माओवादीलाई संविधान संशोधन गर्ने जायज कुराहरुमा नेपाली कांग्रेसले साथ दिन्छ ।

ओली नेतृत्वकै सरकारले चुनाव गराउँछ होला हैन ?

कुन चुनावको कुरा गर्‍या तपाईले ?

भावी चुनावको नि… स्थानीय चुनाव, प्रादेशिक चुनाव, संसदीय चुनावको

त्यो चुनाव धेरै टाढा छ । हामी प्रतिपक्षमा छौं । हामीले प्रतिपक्षको भूमिका खेलिकन हामी कहाँ पुग्छौं, सरकार कहाँ पुग्छ, त्यो हेर्न बाँकी छ अहिले ।

ओली सरकारको आयु आगामी चुनावसम्म नहोला ?

हैन, आयु त मैले कसरी भन्नु ? आयु त राम्रै जाओस् भन्ने मेरो चाहना हो । सबैभन्दा पहिले त माथि नै लेखिदिनोस्, ओलीजीलाई मेरो बधाइ । उहाँको कार्यकालको शुभकामना पनि दिन्छु । पूरै कार्यकाल उहाँको चलोस् । तर, नेपाली कांग्रेसलाई जुन चार्ज लागेको छ नि, त्यो चार्जबाट नेपाली कांग्रेस मुक्त भो । मलाई एकदम रमाइलो लागेको छ । अनलाइनखबरबाट