रुपन्देहीमा ११ औं डिष्ट्रिक कन्फ्रेन्स हुँदैः नेपालमा रोटरीका १०७ परियोजना सञ्चालनमा

288

रुपन्देहीमा ११ औं डिष्ट्रिक कन्फ्रेन्स हुँदैः नेपालमा रोटरीका १०७ परियोजना सञ्चालनमा


बुटवल, फागुन । रोटरी इन्टरनेशनलको माध्यमबाट नेपालमा दश हजार डलर माथिका १०७ वटा परियोजना सञ्चालनमा रहेका छन् ।

रोटरी फाउण्डेसनको आर्थिक सहयोगमा बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, भक्तपुरमा क्यान्सर अस्पताल, चितवनमा जलुके खानेपानी आयोजना र चितवनको टाँढीमा रहेको मुसहर बस्ती, काठमाण्डौ जोरपाटीको अर्थोपेडिक अस्पताल, बिराटनगरमा ई–लर्निङ् कार्यक्रम लगायतका परियोजना सञ्चालनमा रहेको डिष्ट्रिक ३२९२ का गभर्नर चिन्तामणी भट्टराईले जानकारी गराउनु भयो ।

विश्व शान्ति, सुद्ध खानेपानी र सरसफाई, रोग उन्मुलन तथा रोकथाम, मातृ तथा बाल स्वास्थ्य, साक्षरता र आर्थिक समृद्धि तथा समुदाय बिकासका क्षेत्रमा काम गर्दै आएको रोटरीले त्यसैलाई आधार बनाएर परियोजना सञ्चालन गर्ने उहाँले जानकारी गराउनु भयो । त्यसकालागि स्थानीय क्लवहरुले प्रस्तावना गर्नुपर्ने छ । प्रस्तावना सहि भएमा छनौट भएको परियोजनामा स्थानीयको समेत साझेदारीमा परियोजना सञ्चालन हुने उहाँले बताउनु भयो ।

एकजना रोटरी सदस्यले वर्षमा ६४ डलर सदस्यता शुल्क बुझाउनु पर्ने र डिष्ट्रिकमा ४ हजार ६ सय सदस्य रहेको गभर्नर भट्टराईले जानकारी गराउनु भयो । त्यस्तै भुटानमा एउटा मात्रै क्लवमा करिव २५ जना सदस्य छन् । रोटरी सदस्यता मार्फत अंघिल्लो वर्ष नेपालबाट १ लाख ७१ हजार डलर रोटरी इन्टरनेशनलमा पठाईएको र रोटरी फाउन्डेसन मार्फत नेपालमा बिभिन्न परियोजनाका लागि ३३ लाख डलर बराबरको सहयोग प्राप्त भएको उहाँले जानकारी गराउनु भयो ।

रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानको यहि फागुनको १० देखि रुपन्देहीको मणिग्राममा हुन लागेको ११ औं डिष्ट्रिक सम्मेलनको जानकारी गराउन बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा गभर्नर भट्टराईले रोटरीले नेटवर्कमा विश्वास गर्ने र नेटवर्क निर्माण तथा रोटरीयनहरुमा क्षमता बिकासका कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताउनु भयो ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल र भूटानका गरि ११७ क्वलका १ हजार ५ सय रोटरी तथा छिमेकी मुलुक भारत सहित विश्वका बिभिन्न मुलुकका रोटरीयन प्रवक्ताहरुको सहभागिता रहने कन्फ्रेन्स चियर डा. आरसी आचार्यले जानकारी गराउनु भयो । सम्मेलनमा रोटरीले काम गर्दै आएका क्षेत्रहरु विश्व शान्ति, सुद्ध खानेपानी र सरसफाई, रोग उन्मुलन तथा रोकथाम, मातृ तथा बाल स्वास्थ्य, साक्षरता र आर्थिक समृद्धि तथा समुदाय बिकासका विषयमा विषय विज्ञले ६ वटा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

नाराणी पश्चिममा पहिलो पटक हुन लागेको ११ औं सम्मेलनको प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा करिव १ करोड २५ लाख खर्च लाग्ने र सहभागिको शुल्कबाट ९५ लाख उठ्ने जानकारी गराउँदै बाँकी रकम स्पोन्सर तथा सहयोग संकलन गरिने आर्थिक चेयर एजाज आलमले बताउनु भयो