सरकारका कामले जनतामा निराशा : सांसदहरु

680

सरकारका कामले जनतामा निराशा : सांसदहरु

बुटवल, २९ पुस । प्रदेश पाँचको आईतबार बसेको बैठकमा सांसदहरुले सरकारले खरिद गरेका गाडी प्रकरणमा प्रश्न उठाएका छन् । प्रदेश पाँचको तेस्रो अधिवेशनको नबौं बैठकको बिशेष समयमा बोल्दै प्रदेश सभा सदस्य फकरुद्धिन खाँले संघीय सरकारले वाईड बडी जहाज खरिदमा अनियमितता गरेजस्तै प्रदेशमा पनि गाडी खरिदमा अनियमिता हुनु राम्रो नभएको उल्लेख गर्नुभयो । उहाँले संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले अविलम्ब राजीनामा गरेर बाटो खुला गर्नुपर्ने माग राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री लुम्बिनी बिकास कोषको समेत अध्यक्ष हुने भएकाले राजिनामा नगरे मन्त्रीलाई त्यस क्षेत्रमा बहिस्कार गर्ने चेतावनी दिनुभयो ।
त्यस्तै उहाँले प्रदेश पाँचको सरकारले खरिद गरेको गाडी पनि बजार मुल्य भन्दा अत्यधिक रहेको पाईएकोले सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो ।
बैठकमा बोल्दै अर्का सदस्य बिरबहादुर रानाले निर्वाचन पछि पहिलो पटक प्रदेश सभामा आउँदा निकै उत्साहित भएपनि सरकारका गतिबिधिले पछिल्ला दिनहरुमा निराशा मात्रै थप्ने काम गरेको उल्लेख गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी दलले सरकारलाई साना तिना कुरामा चुप लागेर राम्रो कामको अपेक्षा गरिरहेपनि सरकारले राम्रो काम गर्न नसकेको उल्लेख गर्दै अव पनि चुप लागेर बस्ने हो भने प्रदेशका जनताले धिक्कारने भएकाले अव खरो रुपमा उत्रिने चेतावनी दिनुभयो । ‘सरकारले प्रदेशका जनतालाई केन्द्रमा राखेर काम गर्ने हो की, आफूलाई केन्द्रमा राख्ने हो ।’ प्रदेश सरकारतर्फ प्रश्न गर्दै उहाँले भन्नुभयो–‘सरकारका मन्त्रीहरु आफ्ना सुेवा सुविधा बढाउने काममा मात्रै लाग्नु राम्रो भएन ।’ प्रदेश सभा सदस्य रानाले गाडी खरिद काण्डमा प्रकृया पु¥याएर अनियमितता गरेको समेत आरोप लगाउनु भयो । उहाँले मुख्यमन्त्री शंकर पोखरेललाई बिद्यालयमा गएर बिद्यार्थीलाई पढाउने, सभा सम्मेलनको उद्घाटन गर्न छाडेर कार्यकक्षमा बसेर प्रदेशको बिकास र जनस्तर बृद्धिका लागि चिन्तन गर्न पनि सुझाव दिनुभयो ।
त्यस्तै अर्का सदस्य ईन्द्रप्रसाद खरेलले प्रमुख प्रतिपक्षि दल तर्फ ईङिगत गर्दै प्रदेश राजधानीकालागि संघर्ष नगर्न आग्रह गर्नुभयो । उहाँले प्रदेश पाँचमा बाँके बर्दिया आवश्यक छैन भन्ने हो भने हार्दिकताका साथ बाँके बर्दिया प्रदेश पाँचबाट छुट्टिन तयार रहेको बताउनु भयो । त्यस्तै प्रदेश सांसदहरु तिलकराम शर्मा, लौटी थारुले महिला तथा घरेलु हिंसामा बृद्धि भईरहेको बताउँदै हिंसाजन्य गतिबिधि निरुत्साहित गर्न तथा न्यूनिकरणमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको थियो ।