सैनामैना नगरपालिकामा मेयर र उपमेयरको कार्यकक्षमा ताला

899

सैनामैना नगरपालिकामा मेयर र उपमेयरको कार्यकक्षमा ताला

बुटवल, १७ माघ । रुपन्देहीको सैनामैना स्थित पर्रोहा स्वास्थ्य चौकीमा कर्मचारी छनौट प्रकृयामा असन्तुष्टि जनाउँदै नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीले सैनामैना नगरपालिकाको मेयर तथा उपमेयरको कार्यकक्षमा तालावन्दि गरिदिएको छ ।

सैनामैना नगरपालिकाले पर्रोहा स्वास्थ्य चौकीमा आमा सुरक्षा कार्यक्रम अन्तरगत २४ घण्टे प्रसुती सेवामा करारमा नियुक्त गर्दा कार्यरत कर्मचारीलाई हटाई नयाँ कर्मचारी भर्ना गरेको तथा भर्ना प्रकृया समेत त्रुटीपूर्ण रहेको भन्दै त्यसलाई नसच्याउँदा सम्म अनिश्चितकालिन तालाबन्दि गरिएको नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका सचिव रामप्रसाद ढकालले बताउनु भयो ।

नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीका अध्यक्ष विश्वबन्दु विनयीको नेतृत्वमा पदाधिकारी समेतको टोलीले निर्णय सच्याउन माग गर्दै बुधबार मेयर चित्रबहादुर कार्की तथा उपमेयर बिना रानाको कार्यकक्षमा तालाबन्दि गरिदिएको हो ।

पर्रोहा स्वास्थ्य चौकीमा आमा सुरक्षा कार्यक्रम अन्तरगत २४ घण्टे प्रसुती सेवामा दुई जना स्वास्थ्य कर्मी करारमा काम गर्दै आएका थिए । उनीहरुको करार अवधि सकिएलगत्तै नगरपालिकाले जिल्ला जनस्वास्स्थ्य कार्यालयले प्रदान गरेको एक तथा नयाँ एक दरवन्दी सिर्जना गरि ४ पदमा दरखास्त आह्वान गरेको थियो ।

जसमा नगरपालिकाले पर्रोहामै कार्यरत विष्णु खड्का, रुद्रपुर हेल्थ पोष्टमा कार्यरत रीता शाही, सुर्यपुरा हेल्थपोष्टमा कार्यरत मायाँ बिक र फरेना हेल्थपोष्टमा कार्यरत श्रीमायाँ थापालाई चयन गर्यो र उनीहरुलाई असार मसान्त सम्मको लागि बुधबार नै नियुक्ति दिईसकेको छ । २०६६ सालदेखि पर्रोहा हेल्थ पोष्टमै काम गर्दै आएकी सरस्वती श्रेष्ठलाई बैकल्पिकमा नाम निकालेको छ ।

कर्मचारी पदपूर्ति समितिमा सम्बन्धित क्षेत्रका प्रमुख स्वतः सदस्य रहने व्यबस्था भएपनि नगरपालिकाले दरखास्त आह्वान गर्दादेखि छनौट प्रकृया पुरा गर्दा सम्म नगरपालिकाले स्वास्थ्य शाखा प्रमुखलाई कुनै जानकारी दिएको छैन । सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले त्यसबारेमा आफूलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिनुभयो ।

यद्यपी नगरपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद भण्डारीले नगरपालिकाले सबै प्रकृया पु¥याएर काम गरेकाले त्यसमा विवाद गर्नुको कुनै अर्थ नभएको बताउनु भयो । संघले पुराना कर्मचारीलाई प्राथमिकता दिईनुपर्ने बताउँदै उनीहरुलाई पूर्ववत रुपमा यथास्थितीमा पुनर्बहाली गर्न र नयाँ सिर्जना भएका दरवन्दीमा मात्रै नयाँ ढंगले पद पुर्ति गर्नुपर्ने माग गरेको हो ।