२१ औं तिलोत्तमा गोल्ड कपको फाईनलमा पुलिस र क्यामरुन : उपाधि उचाल्न आआफ्नै रणनीति

525

२१ औं तिलोत्तमा गोल्ड कपको फाईनलमा पुलिस र क्यामरुन :  उपाधि उचाल्न आआफ्नै रणनीति

बुटवल, १२ फागुन । बुटवलमा जारी २१ औं संस्करणको तिलोत्तमा गोल्ड कपको आज सोमबार हुने फाईनल प्रतिस्पर्धामा समुह ‘क’ बाट दाफिन्स एफसी क्यामरुन र समुह ‘ख’ बाट नेपाल पुलिस क्लव भिड्दैछन् ।

सेमिफाईनलमा लाली रुपन्देही ११ लाई दुई शुन्यमा पाखा लगाएको दाफिन्सको क्यामरुन र च्यासल युथ क्लवलाई एकका बिरुद्ध तीन गोलमा पाखा लगाएको नेपाल पुलिस क्लवले उपाधिकालागि आआफ्नै रणनीति बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन् ।

फिजिकल्ली राम्रो देखिएको क्यामरुन बिरुद्ध नेपाल पुलिस क्लवले आक्रामक खेल खेल्ने र जतिसक्दो चाँडो स्कोर निकाल्ने रणनीति लिएको छ । पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा कप उचालिसकेको क्यामरुनलाई २१ औं तिलोत्तमा गोल्ड कपको उपविजेतामा सिमित गराउनकालागि नेपाल पुलिस क्लवले आक्रामक खेल खेल्नुका साथै अपोजिसनलाई सेटअप हुन नदिने गरी खेलको रणनीति बनाएर अंगाडी बढेको नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्तराज थापाले बताउनु भयो । यो वर्षको खप्तड कपको जिजेता पुलिसले तिलोत्तमा गोल्ड कपको उपाधि पुन उचाल्ने पक्का भएको प्रशिक्षक थापाले बताउनु भयो । यस अंगाडी पुलिसले तिलोत्तका गोल्ड कपको २०३५ सालमा तेस्रो, ०५१ मा नवौं, ०५२ को दशौं र ०५५ को १३ औं संस्करणको उपाधि उचालि सकेको छ भने गत वर्ष भएको २० औं संस्करणमा उपविजेतामा समेटिएको थियो । ‘फूटवलमा एभ्रिगेम न्यू गेम हो ।’ प्रशिक्षक थापाले भन्नुभयो–‘हाम्रो टिम फिजिकल्ली पनि राम्रो छ, टेक्निकल्ली पनि राम्रो छ ।’

त्यसो त यस वर्षको दुई वटा प्रतियोगिताको उपाधि उचालिसकेको क्यामरुनले पनि आफूले जित्ने दावी गरेको छ । क्यामरुनका टिम क्याप्टेन जो अङगोलाले फिल्ड चिनेको, शारीरिक ससक्तता र खेलाडी बिचको तालमेल मिलेका कारण आफूले खेल जित्ने दावी गर्नुभयो । यस अंगाडी धरानको बुढासुब्बा कपमा सेमिफाईनलमा पुलिससंग भिडेको क्यामरुनले २ शुन्यमा समेट्दै उक्त प्रतियोगिताको समेत उपाधि विजेता बनेको थियो । फिजिकल्ली स्ट्रोङ् देखिएको क्यामरुनले क्वाटर फाईनल तथा सेमिफाईनलमा भएका कमजोरीलाई सुधार गर्ने र विपक्षिको खेल हेरेर सोही अनुसार रणनीतिक खेल खेल्ने तयारी गरेको छ । आयोजक रुपन्देही ११ संगको खेलमा क्यामरुनका यिनिक ववोना रेड कार्ड पाएका थिए । टिम क्याप्टेन जो अङगोलाले रेड कार्ड पाउनु टिमकै लागि नराम्रो भएको बताउँदै फाईनलमा त्यस्ता गल्ती नहुने गरी प्रस्तुत हुने पनि बताउनु भयो ।

प्रतियोगितामा उपाधि विजेतालाई ८ लाख ८० हजार र उपविजेतालाई ५ लाख ५० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै विधागत रुपमा पाँच जना खेलाडीलाई जनही २५ हजार नगद पुरस्कार सहित ट्रफि प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फूटवल संघका महासचिव लोक पुनले बताउनु भयो । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप स्कुटी प्रदान गरिने छ ।