२१ औं तिलोत्तमा गोल्ड कप : कठिन जितसंगै उपाधी क्यामरुनलाई

813

२१ औं तिलोत्तमा गोल्ड कप : कठिन जितसंगै उपाधी क्यामरुनलाई

बुटवल, १३ फागुन । २१ औं तिलोत्तमा गोल्ड कपको उपाधी दाफिन्स एफसी क्यामरुनले उचालेको छ । सोमबार नेपाल पुलिस क्लवसंग भएको फाईनल खेलमा सडन डेथको साहारामा तिलोत्तमा गोल्ड कपमा पहिलो पटक भिडेको क्यामरुनले उपाधी कब्जा गरेको हो । बुटवल देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको मैदानमा विभागीय टिम नेपाल पुलिससंग क्यामरुनले कठिन जित निकालेको हो ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेललाई पेनाल्टीमा लगिएको थियो । यद्यपी पेनाल्टीमा पनि बराबरी भएपछि सडन डेथमा नेपाल पुलिस क्लवका तेज तामाङ्को प्रहारलाई क्यामरुनका गोलकिप्पर प्रिसो नटजंगाले रोकिदिएका थिए । प्रतिउत्तरमा क्यामरुनका नियाको प्रहारले जाली चुमेसंगै उपाधी क्यामरुनले उचालेको हो ।
प्रतियोगितामा उपाधि विजेता क्यामरुनले ८ लाख ८० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस क्षेत्रको लोकपृय तिलोत्तमा गोल्ड कप उचालेसंगै क्यामरुनले यस वर्ष फूटवलमा ह्याट्रिक गरेको छ । क्यामरुनले यो वर्ष पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा कप उचालिसकेको छ । उपविजेतामा समेटिएको नेपाल पुलिस क्लवले ५ लाख ५० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । पुरस्कार वितरण गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपालकै जेठो तिलोत्तमा गोल्डकप निरन्तर रुपमा सञ्चालन हुँदै आएकोमा खुसी व्यक्त गर्दै बाँकी स्थानमा स्थायी प्याराफिट निर्माणकालागि राखेपले पूर्ण सहयोग गर्ने प्रतिवद्धता सहित निर्माणकाले थालनी गर्न आग्रह गर्नुभयो । उहाँले प्रदेश पाँचमा आठौं राष्ट्रिय खेलकुँद प्रदेश पाँचमा सञ्चालनको तयारी गरिएकाले त्यसले प्रदेश पाँचको खेलकुँदैको बिकासमा एउटा उचाई लिने बताउनु भयो । राखेपले आठौं राष्ट्रिय खेलकुदको एउटा खेल बुटवलमा सञ्चालन गर्ने समेत तयारी गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लाली रुपन्देही ११ का आशिष गुरुङ् भएका छन् । उनले एउटा स्कुटी पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा नेपाल पुलिसका अनन्त थापा उत्कृष्ट खेल प्रशिक्षक, पुलिसकै हेम तामाङ् उत्कृष्ट मिड फिल्डर, पुलिसकै रवि पासवान उत्कृष्ट फरवाड, पुलिसकै बिक्रम धिमाल उत्कृष्ट डिफेन्स र क्यामरुनका प्रिसो उत्कृष्ट गोलकिप्पर भएका छन् । उनीहरुलाई समान २५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगिताको समापन कार्यक्रममा आयोजक रुपन्देही जिल्ला फूटवल संघका अध्यक्ष दीर्घबहादुर केसीले पछिल्लो समयमा जिल्लामा खेलकुदको बिकासले गति लिएको र सोही अनुसार पूर्वाधार निर्माणमा सहयोग गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारलाई आग्रह गर्नुभयो ।