५ नम्वर प्रदेशवाट लन टेनिसका खेलाडी छनोट

694

५ नम्वर प्रदेशवाट लन टेनिसका खेलाडी छनोट


बुटवल, २५ चैत । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५ नम्वर प्रदेश वाट लन टेनिसका ५ जना खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले प्रतियोगिताका लागि खेलाडी छनोट गरेको हो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लन टेनिसका लागि छनोट भएका खेलाडीहरुमा भिष्म काउचा, सन्जय श्रेष्ठ, राम वहादुर वि. क., शेषमणि चौधरी र अनिल सेन्च्युरी रहेका छन् । यस्तै प्रशिक्षकमा अर्जुन गुरुङ र टिम म्यानेजरमा मनोज वस्नेत छनोट हुनुभएको रुपन्देही लन टेनिस संघका सचिव गोपाल ज्ञवालीले जानकारी लिनु भयो ।

लन टेनिस र सफ्ट टेनिसका खेल बुटवल ११ देविनगर स्थित लन टेनिस कोर्टमा हुनेछन् । यस्तै रुपन्देहीमा ६ वटा खेल संचालन हुने जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङले जानकारी दिनु भयो । अध्यक्ष गुरुङका अनुसार लन टेनिस र सफ्ट टेनिस देविनगर स्थित लन टेनिस कोर्टमा, पुरुष फूटवल एन्फा एकेडेमी देवीनगर, शारिरीक सुगठन कान्ति सभागृह बुटवल, पुरुष क्रिकेट सिद्धार्थ रंगशाला भैरहवा र टाईकाण्डो ब्याडमिण्टन कभर्डहल भैरहवामा संचालन हुनेछ ।

नेपाल राष्ट्रिय खेलकुदको आठौं संस्करणको खेलकुद प्रतियोगिताका अधिकांश खेलहरु बाँके जिल्लाका विभिन्न खेलस्थलमा हुने छन् भने केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा हुनेगरी आयोजना गरिदैछ । राष्ट्रिय खेलकुद परिषदको बैठकले आठौं राष्ट्रिय खेलकुदको लागि खेल स्थल तय गरेको हो । नेपालगञ्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन र समापन कार्यक्रम हुने छ ।

पुरुष फुटबल सहित एथ्लेटिक्सका विभिन्न स्पर्धा बाँकेको नेपालगञ्ज रंगशालामा हुने छन् । बाँकेका विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् भने बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु आयोजना हुनेछन् । प्रदेश ५ मा हुने आठौं खेलकुद प्रतियोगितामा ३५ खेल समावेश छन् । सातौ राष्ट्रिय खेलकुदमा समावेश गरिएको खेल स्नुकरलाई हटाएर अहिले पाराग्लाइडिङलाई राखिएको छ ।

समावेश अन्य खेलहरुमा फुटबल, क्रिकेट, भलिबल, उसु, बास्केटबल, तेक्वान्दो, कराँते, ब्याडमिन्टन, साइक्लिङ, कुस्ती, जिम्न्याष्टिक, शारीरिक सुगठन, फेन्सिङ, ट्रायथलन र स्क्वास रहेका छन् । त्यस्तै, एथ्लेटिक्स, बक्सिङ, भारत्तोलन, टेबलटेनिस, ह्यान्डबल, हक्की, सुटिङ, लनटेनिस, पौडी, बुद्धिचाल, जुडो, खोखो, आर्चरी, सेपाकताक्रो, आइटीएफ तेक्वान्दो, सफ्ट टेनिस, कबड्डी र फुलकन्ट्याक कराँते पनि रहेका छन् ।

प्रतियोगिताको नारा ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन वैशाख ५ गते हुने र ११ गतेसम्म संचालन हुने छ ।