आगामी फागुनमा देवदह औद्योगिक व्यापार मेला हुँदै

560

आगामी फागुनमा देवदह औद्योगिक व्यापार मेला हुँदै

बुटवल, असोज । आगामी फागुनमा रुपन्देहीको देवदहमा ‘पाँचौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७५’ हुने भएको छ । देवदह उद्योग बाणिज्य संघको आयोजनामा हुने उक्त महोत्सवमा कृषि, पशुपालन तथा पर्यटनलाई मुख्य प्राथमिकता दिईने आईतबार देवदहमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।

कच्चा पदार्थ बाहिरबाट आयात गरी बस्तुको उत्पादन गर्दा लागत बढी पर्ने भएकाले छिमेकी मुलुकहरु भारत तथा चिनसंग प्रतिस्पर्धा गर्न गाह्रो भएकाले मुलुक भित्रै उत्पादन हुने कच्चा पदार्थमा आधारित उद्योग धन्दालाई संघले जोड दिँदै त्यसकालागि कृषि, बन तथा बनस्पती, खानी तथा खनिज पदार्थमा आधारित उद्योगका उत्पादनलाई महोत्सवमा प्राथमिकता दिईने देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालले बताउनु भयो ।

बिभिन्न संघसंस्थाले देवदहमा सञ्चालन गर्दै आएका मेला महोत्वसमा पाँचौ भएपनि देवदह उद्योग बाणिज्य संघले सञ्चालन गरेको महोत्सव भने यो दोस्रो हो । यस अंगाडी संघले २०७२ फागुनमा दोस्रो संस्करणको पहिलो महोत्सव गरेको थियो ।
घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्न, देबदहका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनगर्ने, स्थानिय पर्यटकिय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले आगामी फागुनको १६ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने महोत्वसमा ३ सय ५० स्टललाई सहभागि गराईने छ भने ३ लाख दर्शक भित्र्याउँदै १० करोड बढीको कारोवार गर्ने लक्ष्य लिईएको उहाँले बताउनु भयो ।

महोत्सवका माध्यमबाट कृषि तथा पशुपालनलाई बढवा दिईने र ती क्षेत्रमा लगानी अभिबृद्धि गर्ने, देवदह नगरपालिका दुग्ध उतपादनमा अग्रणी नगरपनि भएकाले उत्पादित दुधलाई बिबिधीकरण गर्न त्यस्ता उद्योगलाई प्रोत्साहन गर्ने, किसानको जीवनस्तर उकास्नकालागि अर्गानिक तथा व्यबसायिक खेती किसानीलाई प्रोत्साहन गर्ने, देवदह शान्तिका अग्रदुत गौतम बुद्धको मावली स्थल पनि भएकाले देवदहलाई पर्यटकीय गन्तव्यका रुपमा बिकास हुने किसिमका कार्यक्रम सञ्चालन गरिने संघका उपाध्यक्ष प्रमोद खनालले बताउनु भयो ।

त्यस्तै उन्नत जातका गाई, भैंसी तथा बाख्रा पाल्नकालागि किसानलाई अभिप्रेरित हुने कार्यक्रम पनि मेलामा सञ्चालन गरिने छ भने कृषि तथा पशुपालनका क्षेत्रमा थप सम्भावनाको समेत खोजी गरिने अर्की उपाध्यक्ष मीना श्रेष्ठले बताउनु भयो ।

संघका महासचिव हरि भण्डारीको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा सल्लाहकार बासुदेव रिमाल लगायलते संघले मेला महोत्सव मात्रै नगरेर त्यसबाट भएको आम्दानी देवदह मण्डपको बिकासमा लगाउँदै आएको जानकारी गराउनु भएको थियो ।