आकाश पुगे जीटीभीको सुपर डान्स–२ को टप ६ मा , भोट दिएर जिताउन परिवारको अपील

569

आकाश पुगे जीटीभीको सुपर डान्स–२ को टप ६ मा , भोट दिएर जिताउन परिवारको अपील

बुटवल, मंसिर । बुटवल–१२ तामनगरका १२ वर्षिय आकाश थापा भारतको चर्चित रियालिटी शो सुपर डान्स–२ को टप ६ मा पुग्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा भारतभरिबाट करिब ३ लाख जनाले अडिसनमा भाग लिएका थिए । उक्त प्रतियोगिताको टप ६ मा पुग्नेमा आकाश एक मात्र नेपाली प्रतियोगी हुन् ।

सोनी टिभीबाट हरेक शनिबार र आइतबार राति सवा ८ बजे शुरु हुने प्रतिस्पर्धामा दर्शकबाट सबैभन्दा बढी भोट प्राप्त गर्ने प्रतियोगि विजेता बन्ने नियम छ । आफूलाई मन परेका प्रतियोगीलाई वेबसाइटको प्ले स्टोरमा गएर सोनी टिभी लाइभ डाउनलोड गरी अनलाइन भोट गर्न सकिने आकाशका बुबा भारतीय सेनाको जागिरे दीपक थापाले जानकारी दिए ।

आकाश भारतको देहरादुनस्थित आर्मी पब्लिक स्कूलमा कक्षा ८ मा पढ्दैछन् । उनका बुबा भारतीय सेनाका जागिरे हुन् । पुख्र्यौली घर बागलुङको अर्जेवा भएका थापा परिवार हाल तामनगरका स्थायी बासिन्दा हुन् । तामनगरमा बसाई सर्नुअघि उनीहरु रुपन्देही रुद्रपुरकी तेरिया फौजामगरका छिमेकी थिए ।
सानैदेखि नृत्यका रुचि राख्ने आकाश कक्षा १ सम्म रुद्रपुरकै सोनी शाइन बोर्डिङ स्कूलमा अध्ययन गरेका थिए ।

आकाश र उनका परिवारजनले नेपाल र विश्वभर रहेका नेपालीहरुसंग आकाशलाई अनलाइनमार्फत भोट दिएर जिताउन अपील गरेका छन् । आकाशका बुबाले भारतको देहरादुनबाट टेलिफोन गर्दै भने–‘जसरी संसारभर रहेका नेपालीले प्रशान्त तामाङ र तेरिया मगरलाई भोट दिएर जिताए,त्यसैगरी आकाशलाई पनि जिताउन अनुरोध गर्दछु ।’ उनले आकाशले जित्नु आफ्नो छोराले मात्र जित्न नभई नेपालले जित्नु भएकाले सहयोग गर्न अपील गरे ।

प्रतियोगिताको विजेताले कम्तीमा २० लाख भारु र एउटा कार प्राप्त गर्ने आकाशका बुबाले बताए । यद्यपि आयोजकले नगद पुरस्कारको राशीलाई गोप्य राखेका छन् । प्रतियोगिको प्रस्तुति सकिएको भोलिपल्ट बिहान आठ बजे सम्म भोट गर्न सकिने जनाइएको छ ।