आम्दानीको राम्रो स्रोत : माछा पालन

2.6K

आम्दानीको राम्रो स्रोत : माछा पालन

खेमानन्द पाठक/
कपिलवस्तु, ३० फागुन ।
आफ्नो डेढ विगाहा क्षेत्रफल खेतमा धान खेती गर्दै आउनु भएका कपिलवस्तु शुद्धोधन गाउँपालिका–१ बग्दीका रिखिराम भण्डारी अहिले धान खेती छोडेर माछा पालन ब्यवसायमा लाग्नु भएको छ । माछा पालनबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएकाले परम्परागत खेती गर्दै आउनु भएका भण्डारीले त्रिशक्ति कृषि माछा फर्म दर्ता गरी व्यवसायिक रुपमा माछा पालन ब्यवसाय अंगाल्नु भएको हो ।

जति लगानी र जति धेरै समय खर्चे पनि परम्परागत खेतीमा सोचेजस्तो उपलब्धि हात पार्न नसकेपछि वैकल्पिक पेशाका रुपमा व्यवसायिक माछा पालन सुरु गरेको भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो– ‘बाउ बाजेको पालादेखि गर्दै आइरहेको खेती जति गरेपनि परिवार पाल्न निकै समस्या भएकाले धान खेती छोडेर छोटो समयमा धेरै फाईदा लिन माछा ब्यवसाय शुरु गरेको छु ।’

‘छोराछोरीलाई पढाउन लेखाउन र घर खर्च जुटाउन समेत समस्या भएपछि वैकल्पिक पेशाका रुपमा माछा पालनलाई रोजें र माछा पालन सुरु गरेको छोटो समयमै माछाले रामै्र प्रतिफल दिन थालेपछि यसलाई व्यवसायिक रुपमा अंगाल्दै आइरहेको छु ।’ भण्डारीले भन्नुभयो –‘माछा बिक्रीबाट मात्रै वार्षिक १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको छ । डेढ विगाह क्षेत्रफलमा रु ३५ लाख खर्च गरेर ४ वटा पोखरी निमार्ण गरी माछा पाल्दै आइरहेको छु ।’

प्रति पोखरी ८५ देखि ९० क्वुइन्टल सम्म माछा उत्पादन हुने गरेको छ । शुरुमा संरचना बनाउँदा बढि खर्च लागे पनि पछि धेरै खर्च र मेहनत नलाग्ने हुंदा अन्य खेती भन्दा माछा खेती आफुलाई मान परेको उहाँले बताउनु भयो । भण्डारीले खेतमा डिप बोरिङ्ग बनाई पोखरीमा पानी जम्मा गरेर माछा पालन गर्दै आउनु भएको छ । थोरै लगानी र कम समयमै माछा पालनबाट मनग्य आम्दानी गर्न सकिने भएकाले माछा पालन ब्यवसाय अंगालेर नेपालमै बस्न विदेश जाने युवाहरुलाई भण्डारीले सुझाव दिनुहुन्छ ।

माछा संगै माछा पोखरीको डिलमा समेत तरकारी खेती गरेर त्यसवाट पनि भण्डारीले राम्रो आम्दानी गर्दै आउनु भएको छ । माछाबाट अन्य भन्दा राम्रो आम्दानी हुने भएपछि अन्य किसानहरु पनि माछा पालन तर्फ आकर्षित भएका छन् । त्रिशक्ति कृषि माछा फार्मका सञ्चालक भण्डारीका अनुसार माछाबाट आम्दानी राम्रो भएपनि दाना र औषधी उपचारमा भने समस्या छ । माछामा लाग्ने रोगहरु चाडै थाहा नहुने एउटा समस्या छ भने बाहिरी जीवहरुको आक्रमणवाट माछालाई जोगाउनु अर्को समस्या छ ।

माछामा छाला जन्य रोगको पनि समस्या देखिन्छ । नेपालमा ब्यवसायिक माछा पालन राम्रो भएपनि माछाको उपचारका लागि साधन र स्रोतको अभाब छ । यस्तै भनेको समयमा पानी नपर्ने र खडेरी जस्ता समस्याले पनि माछा पालनमा समस्या आउने गर्दछ भने माछा समात्ने, दाना, अक्सिजन र औषधी गर्ने दक्ष जनशक्तिको पनि त्यत्तिकै समस्या छ ।
भण्डारीका अनुसार निरास भएर नोक्सान नै हुने अवस्था सधै हुँदंैन ।

माछा खरिद बिक्री गर्न बजारको अवस्था राम्रो भए पनि अहिले पनि भारतबाट आउने माछाले नेपाली बजार लिईरहेको छ । बजारमा खाने माछा किन्नेहरुको भिड लाग्ने गर्दछ । अन्य कृषि व्यवसायका तुलनामा यो पेशाबाट बढी नै अम्दानी लिन सकिन्छ । माछा पालन व्यवसाय रमाईलो व्यवसाय पनि हो । खासै धेरै आर्थिक आवश्यकता पनि नपर्ने र माछाको भुरा छोडेको करिव ६ महिनामा खरिद बिक्री गर्न योग्य हुने हुंदा यो सजिलो र रमाईलो ब्यवसाय वनेको हो ।

माछा पालन व्यवसायलाई व्यवसाय मूलक बनाएर पेशाको सुधार र विकास गरी अघि बढनु आवश्यक छ । थोरै जमिन हुने किसानका लागि पनि माछा पालन राम्रो आर्थिक उन्नतिको विकल्प हुन सक्छ । धानखेती भित्र माछा पालन गर्दा धान खेती संगै दोब्बर भन्दा बढी फाईदा लिन सकिन्छ । मेहेनत र जाँगर चलाउन सके राम्रो बजार पनि लिन सकिन्छ ।

कपिलवस्तुमा पछिल्लो समयमा किसानहरु धान खेती मासेर माछा पालन तर्फ आकर्षित हुदै गएका छन् । भेटेनरी पशु अस्पताल तथा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख नन्दलाल चौधरीका अनुसार कपिलवस्तु जिल्लामा कुल जलाशय क्षेत्रफल ३ सय ७६ हेक्टर रहेकोमा पोखरी जलाशय क्षेत्रफल केहि भागमा मात्र किसानहरुले माछा पालन गर्दै आएका छन् । बार्षिक रुपमा १ हजार २ सय ४० मेट्रिक टन माछा उत्पादन हुदै आएको जिल्लाको उत्पादकत्व ३.३ मेट्रिक टन प्रति हेक्टर रहेको मस्य विकास कपिलवस्तुका अधिकृत धनईप्रसाद यादवले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्लामा छुट्टा–छुट्टै माछा जोन कार्यालय खोलेर मत्स्य विकास कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइएको छ । माछा जोन गोरुसिङ्गेका अधिकृत मनिराम चौधरीका अनुसार जिल्लाको कुल जलासयको २१५ हेक्टर क्षेत्रफल यस जोन भित्र पर्दछ । जसमा बुद्धभूमि नगरपालिका र वाणगंगा नगरपालिकाको सवै वडा, महाराजगञ्जको वडा नम्बर ११ र शिवराज नगरपालिकाको वडा नम्बर १,२,३,४,५ पर्दछ ।

यो क्षेत्रफल भित्र रहेका दर्ता भएका उद्यमी कृषि समूह, कृषि फर्म, सहकारीहरुको लागि माछा भुरा अनुदान ८०÷२० कार्यक्रम लागु गरेकाले निवेदन दर्ता प्रक्रृया अगाडि बढिरहेकाले अवको केहि बर्ष भित्रमा कपिलवस्तु जिल्ला माछामा आत्मनिर्भर हुने अधिकृत मनिराम चौधरीले बताउनु भयो ।

माछा पालन गर्न चाहाने कृषकहरुको लागि सरकारी निकायबाट सहयोगको पनि त्यत्तिकै आवश्यकता छ । तर अहिले सम्म कृषकहरुको लागि सम्बन्धित निकायले उपयुक्त व्यवस्था तथा सहयोग नगरेका कारण कृषकहरु मर्कामा छन् । यस व्यवसायमा सरकारी फर्मले कृषकहरुको लागि स्वदेशमै सहज तथा सरल रुपमा माछाका भुराहरु किन्न पाउने राम्रो वातावरण मिलाउनु जरुरी छ ।

समयमा गुणस्तरीय तथा राम्रो जातका माछाका भुराहरु नपाउँदा कृषकहरुलाई यस व्यवसायमा अघि बढेर काम गर्न समस्या छ । माछा पालन व्यवसायमा लाग्ने किसानले पाउने अनुदानलाई सहज र सरल रुपमा उपलब्ध गराएर कृषकहरुलाई हौसला प्रदान गर्नु पर्दछ ।