अञ्चल अस्पतालमा अक्सिजन जेनेरेसन मेसिन

905

अञ्चल अस्पतालमा अक्सिजन जेनेरेसन मेसिन

बुटवल, १९ चैत । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आफ्नै अक्सिजन प्लान्ट जडान हुँदैछ । नयाँ वर्ष भित्रै अस्पतालमै उत्पादन भएको अक्सिजन बिरामीलाई दिने गरी काम भईरहेको अस्पतालले जनाएको छ ।

रोटरी क्लव अफ बुटवलको सहयोगमा अक्सिजन जेनेरेसन (उत्पादन) गर्ने मेसिन जडान गर्न लागिएको हो । उक्त मेसिन जडानकालागि मेसिन सेटअप गर्ने हल निर्माण सकिएको र अब चाँडै नै जडानकालागि कम्पनीमा जानकारी गराउने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालले जानकारी गराउनु भयो । कम्पनीमा जानकारी गराएपछि कम्पनीका कर्मचारी आएर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने उहाँले बताउनु भयो ।

रोटरी क्लव अफ बुटवलको २३ लाख रुपैंया तथा रोटरी फाउण्डेशन र अन्तर्राष्ट्रिय क्लवहरुको सहयोगमा झण्डै ५० लाखको लागतमा उक्त मेसिन खरिद गरिएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष राजेन्द्र लम्सालले बताउनु भयो । आईसीयु, एनआईसीयु, दम लगायत स्वासप्रस्वासका बिरामीलाई अक्सिजन अनिवार्य छ ।

लुम्बिनी अञ्चल अस्पतालमा अहिले दैनिक सरदर २५ सिलिण्डर अक्सिजन खपत हुँदै आएको छ । अव उक्त अक्सिजन प्लाण्ट जडान भएपछि दैनिक ४० देखि ४५ सिलिन्डर अक्सिजन उत्पादन हुने लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताउनु भयो । एउटा सिलिन्डरलाई सरदर ५ सय रुपैंया पर्छ । तर लुम्बिनी अञ्चल अस्पतालमा उपचार गराउने बिरामीलाई अस्पतालले अक्सिजनको शुल्क निशुल्क गरेको छ ।

अस्पतालका सूचना अधिकृत रेग्मीका अनुसार अक्सिजन खरिदकालागि बार्षिक ४० लाख बढी खर्चिनु परेको छ । अक्सिजन जेनेसन मेसिन जडान भएपछि बिद्युत, कर्मचारी लगायतमा ५÷७ लाख खर्च भएपनि अक्सिजन खरिदमा खर्च हुने करिव ३५ लाख रुपैंया वचत हुने उहाँले बताउनु भयो ।

रोटरीको सहयोगमा प्राप्त भएको अक्सिजन जेनेरेसन मेसिन मात्रै हो । जसबाट सेन्ट्रल सप्लाई मात्रै गर्न सकिन्छ । अस्पताल भित्र भएको पाईपलाईनबाट मात्रै पठाउन मिल्नेलाई सेन्ट्रल सप्लाई भनिन्छ । उक्त मेसिनको क्षमता अनुसार अक्सिजन उत्पादन गर्ने हो भने फिलिङ् (सिलिन्डरमा भर्ने) मेसिन आवश्यक पर्छ । त्यो मेसिन अस्पतालसंग छैन ।

जसका कारण तत्काल क्षमता अनुसारको अक्सिजन उत्पादन गर्न भने सकिँदैन । अस्पताले फिलिङ् मेसिन व्यबस्थापनकालागि स्थानीय, प्रदेश तथा संघीय सरकारलाई अनुरोध गरेको मेसु खनालले बताउनु भयो ।

अस्पतालमा अति आवश्यक भएको अक्सिजन जेनेरेसन मेसिन प्रदान गरेर रोटरी क्लव अफ बुटवलले राम्रो काम गरेको प्रतिक्रिया दिँदै लुम्बिनी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले अव अक्सिजन आपूर्तिमा अस्पतालको भार धेरै कम भएको बताउनु भयो । उहाँले उक्त मेसिनलाई दीर्घकालिन बनाउनकालागि सबै पक्षको सहयोग अपरिहार्य रहेको पनि बताउनु भयो ।