नविनको ह्याट्रिकसंगै एपिएफ क्वाटरफाईनलमा

493

नविनको ह्याट्रिकसंगै एपिएफ क्वाटरफाईनलमा

बुटवल । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फूटवल प्रतियोगिता अन्तरगत आईतबारको प्रतिस्पर्धामा नविन लामाको ह्याट्रिक संगै एपिएफ क्वाटर फाईनलमा प्रवेश गरेको छ । झापा–११ संग भएको प्रतिस्पर्धामा एपिएफका खेलाडी लामाको तीन सहित एपिएफ चार दुई गोल अन्तरले क्वाटर फाईनलको यात्रा तय गरेको हो ।
पहिलो हाफको सुरुवातीमै पाँचौ मिनेटमा कर्ण लिम्बुको गोलसंगै झापा–११ को अग्रतालाई १७ औं मिनेटमा एपिएफका रामकुमार कुमालले तोडिदिएका थिए । खेलको सुरुवाती समयमै अग्रता कायम गरेको झापाका खेलाडी हौसिएका कारण सुरुवाती अग्रता तोडिएको हो । खेलको ३६ औं मिनेटमा झापाका भुषण सुवेदीले एपिएफका नविन लामालाई लडाएपछि प्राप्त पेनाल्टी किकमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एकका बिरुद्ध २ गोलले अग्रता कायम गरेको एपिएफका सामु दोस्रो हाफमा झापा–११ ले थप एक गोल गरेपनि थप दुई गोलको सामना गर्दै चारका बिरुद्ध दुई गोलमा समेटिन पुग्यो । खेलको दोस्रो हाफमा थप दुई गोल गर्दै नविन लामाले ह्याट्रिक गरेका हुन् । खेलको ५७ औं मिनेटमा झापाका खमिर गिल्सन खवाले हेडिङ् मार्फत गोल गर्दै बराबरीमा पु¥याएपनि एपिएफका लामाले झापालाई रोक्दै थप दुई गोल गरेका हुन् । एपिएफका लामाले थप गोल ६१ औं मिनेट र ८८ औं मिनेटमा गरेका थिए । एपिएफको जित संघै आईतबारको खेलमा एपिएफका नविन लामा म्यान अफ द म्याच घोषित हुँदै दश हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
एपिएफलाई कम आँकेर मैदानमा उत्रिएको झापा ११ ले सुरुवाती समयमा नै पहिलो गोल सहित अग्रता दिलाएको र त्यसैका कारण हौसिएर ओभर कन्फिडेन्समा खेलेकाले हार व्यहोर्नु परेको झापा–११ का प्रशिक्षक प्रवेश कटुवालले बताउनु भयो । झापा ११ का खेलाडीको मिस पास तथा आफैले गोल गर्ने रणनीतिमा खेलाडी भएकाले पनि उल्टो नतिजा पाउनु परेको उहाँले स्वीकार गर्नुभयो । झापाको पहिलो गोलसंगै एपिएफका खेलाडी भने अलर्ट भएर खेलेका थिए । खेलाडीको राम्रो समन्वय र हाई अलर्टका साथ खेलेकाले नै नतिजा आफ्नो पक्षमा परेको एपिएफका प्रशिक्षक रत्नकाजि महर्जनले बताउनु भयो । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश पाँच समितिको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तरगत आज सोमबार मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाण्डौ र नेपाल आर्मिका बिचमा पहिलो क्वाटर फाईनलको प्रतिस्पर्धा हुने छ ।