रुपन्देही र नवलपरासीका औषधी पसलमा विभागको अनुगमन

944

रुपन्देही र नवलपरासीका औषधी पसलमा विभागको अनुगमन

बुटवल, २३ माघ । औषधी व्यबस्था विभागबाट आएको अनुगमन टोलीले चार दिनमा रुपन्देही र नवलपरासीका करिव ६० वटा औषधी पसलको अनुगमन गरि मंगलबार फर्किएको छ ।

अनुगमन टोलीले जघन्य प्रकारका अनियमितता गर्ने औषधी पसल सञ्चालकलाई मौखिक रुपमा विभागमा बोलाएको छ भने सामान्य सुधार गर्न सकिने कमि कमजोरीहरु सुधार गर्नकालागि निर्देशन गरिएको औषधी व्यबस्था विभागबाट अनुगमनमा खटिनु भएका अनुसन्धान अधिकृत रमेश थपलियाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा कसैले राम्रो गरेको भेटिएको छ भने कसैले एकदमै नराम्रो गरेको पनि भेटिएको उहाँले बताउनु भयो । उहाँका अनुसार दर्ता नभएका औषधी बिक्रि वितरण गर्ने, एकजनाको नाममा दर्ता भएको औषधी पसल अर्कैले सञ्चालन गर्ने, लागु औषधजन्य औषधी विक्रि वितरण गर्दा रेकर्ड नराख्ने गरेका औषधी पसल सञ्चालकहरुलाई विभागमा बोलाईएको छ ।

त्यस्तै अनुगमनका क्रममा सामान्य कमिकमजोरी देखिएका औषधी पसलहरुमा लागु औषध सम्बन्धि औषधी बिक्रि वितरण गर्दा डाक्टरको प्रेप्किप्सनका आधारमा रेकर्ड राखेर मात्रै विक्रि वितरण गर्न, औषधी पसलमा फार्मेसी गरेका व्यक्ति मात्रै बस्न, मिति सकिएका औषधी नवेच्न, पसलको बोर्डमा पसलको मात्रै नाम लेख्न र त्यसबाहेक डाक्टरहरु कसैको पनि नाम नलेख्न अनुगमन टोलीले निर्देशन दिएको छ ।

दुई जिल्लाको अनुगमन गरेको उक्त टोलीले अनुगमन प्रतिवेदन तयार गरेर शुक्रबार मात्रै विभागमा बुझाउने भएकाले अनुगमनको विस्तृत रिपोर्ट त्यसपछि मात्रै आउने अनुसन्धान अधिकृत थपलियाले बताउनु भयो ।