भलाई कोषमा नयाँ समितिलाई पदहस्तान्त्रण

555

भलाई कोषमा नयाँ समितिलाई पदहस्तान्त्रण

बुटवल, बैशाख । यातायात मजदूर तथा व्यवसायी भलाई कोषको ४२ औं साधारण सभा र २२ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिको शपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरेर पद हस्तान्तरण गरिएको हो । नवनिर्वाचित अध्यक्ष दिनेश फुल्लेलको नेतृत्वमा रहेको १७ सदस्यीय समितिलाई निवर्तमान अध्यक्ष नारायणप्रसाद भट्टराई नेतृत्वको समितिले संघको विधान अनुसार पद हस्तान्तरण गरेको हो ।

पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष भट्टराईले नवनिर्वाचित अध्यक्ष फुल्लेललाई र निवर्तमान महासचिव दिनेश फुल्लेलले नवनिर्विाचित महासचिव योगेश गुरुङलाई संस्थाको निर्णय पुस्तिका हस्तान्तरण गरेर पदस्थापन गराउनु भएको हो ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष कुमार थापाले समयको माग अनुसार संस्थालाई अगाडी बढाउनु पर्ने बताउनुभयो । थुप्रै समस्या र चुनौतिको सामना गर्दै आएको कोष माथि अहिले पनि थुप्रै चुनौति रहेको भन्दै थापाले चुनौतिको सामना गर्न नयाँ नेतृत्व एक ढिक्का भएर लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नारायणप्रसाद भट्टराई र पूर्व अध्यक्ष चीनबहादुर गुरुङले संस्थाको दीगो विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । नवनिर्वाचित अध्यक्ष दिनेश फुल्लेलले थप जिम्मेवारीबोधका साथ संस्थालाई अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।

कोषको २२ औं अधिवेशनबाट अध्यक्षमा दिनेश फुल्लेल, उपाध्यक्षमा छविलाल थापा, महासचिवमा योगेश गुरुङ (योग), सचिवमा प्रकाशकुमार नेपाल, कोषाध्यक्षमा विजेश न्यौपाने निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा दिलीप कार्की, तोयानाथ लम्साल, लक्ष्मी पाण्डे, लालकाजी गुरुङ, चेतबहादुर गुरुङ, होमप्रसाद पौडेल, भक्तिराम शर्मा, किशोर क्षेत्री, दिपेन्द्र शर्मा, अर्जुनकुमार बञ्जाडे, कृष्णप्रसाद रेग्मी र श्याम गैरे निर्विरोध निर्वाचित हुनु भएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक यानेन्द्र जि.सी.ले शपथ ग्रहण गराउनु भएको थियो । निर्वाचन समितिका संयोजक यानेन्द्र जि.सी.को अध्यक्षता, सदस्य दिनेश पाण्डेको स्वागत र खिमानन्द भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।