पेशागत सुरक्षाको माग गर्दै बिद्यालय कर्मचारीको आन्दोलन

1.1K

पेशागत सुरक्षाको माग गर्दै बिद्यालय कर्मचारीको आन्दोलन

बुटवल, १७ साउन । सामुदायिक बिद्यालयका कर्मचारीको पेशागत सुरक्षाको माग गर्दै नेपाल बिद्यालय कर्मचारी परिषदले देशव्यापी आन्दोलन सुरु गरेको छ । परिषदले अन्य कर्मचारी सरहको सेवा सुविधा माग गर्दै आन्दोलनका रुपमा केन्द्र तथा प्रदेश र स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम गर्न सुरु गरेका छन् ।

नेपाल बिद्यालय कर्मचारी परिषद प्रदेश पाँच कार्य समितिले बिहिबार बुटवलमा सामुदायिक बिद्यालयका कर्मचारीको पेशागत स्थायित्वको बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । परिषदको केन्द्रीय कार्यक्रम अनुसार बिहिबार सात वटै प्रदेशमा सोही किसिमका अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश पाँच परिषदका अध्यक्ष गंगा नेपालले सामुदायिक बिद्यालयमा काम गर्ने कर्मचारीको पद र हैसियतका निजामति सेवाका कर्मचारी सहायक खरिदारलाई मासिक २२ हजार १७०, लेखापाललाई मासिक २३ हजार ५ सयका दरले तलव भत्ता, पोषाक भत्ता ७ हजार ५ सय, महंगी भत्ता १ हजार तथा दुर्गम भत्ता लगायतका सुविधाको व्यबस्था गरेपनि सामुदायिक बिद्यालयका कर्मचारी सहयोगीलाई मासिक २ हजार, ४ हजार, ४ हजार ५ सय, ७ हजार ५ सय र लेखापाललाई मासिक ११ हजार ५ सय मात्रै उपलब्ध गराएको जानकारी गराउनु भयो । त्यस्तै उहाँले संघीय शिक्षा ऐनको मस्यौदाले पनि बिद्यालयका कर्मचारीको पेशालाई संकटमा पारेको बताउनु भयो ।

परिषदले शिक्षा ऐन आठौं संशोधनबाट गरिएको बिद्यालय कर्मचारी संबन्धि व्यबस्थालाई केही संशोधन गरि सम्पूर्ण बिद्यालय कर्मचारीको हित अनुकुलको ऐन बनाउन पटक पटक ध्यानकर्षण गराउँदै आएको जनाउँदै उहाँले आफूहरुको मागलाई वेवास्ता गरि आठौं संशोधनमा गरिएको व्यबस्था हटाएर सामुदायिक बिद्यालयमा कर्मचारीको व्यबस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिईएको बताउनु भयो । सरकारले गरेको भेदभावपूर्ण व्यबहारको बिरोध गर्दै पेशागत हकहितका लागि आन्दोलित हुनु परेको उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष डिल्लीराज भण्डारीले बिद्यालय कर्मचारीलाई स्थायी दरवन्दीमा लैजानु पर्ने बताउँदै परिषदले पेशागत हकहितकालागि सुरु गरेको आन्दोलनमा महासंघको ऐक्यवद्धता रहेको जानकारी गराउनु भयो । महासंघका केन्द्रीय सदस्य गंगाराम तिवारीले शैक्षिक बिकासकालागि शिक्षक र बिद्यालय कर्मचारीको भूमिका नङ् मासुको हुने बताउँदै बिद्यालय कर्मचारीलाई छुट्याएर शैक्षिक गुणस्तर हासिल गर्न नसकिने बताउनु भयो ।

त्यस्तैगरी बुटवल उपमहानगरपालिका शिक्षा उपशाखाका प्रमुख लोकराज पन्थीले बिद्यालय कर्मचारीले उठान गरेका मुद्धा जायज भएको बताउँदै आफूले आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको परिषदका प्रदेश सदस्य तथा गुल्मीका अध्यक्ष शालिकराम पन्थीले बताउनु भयो ।

कार्यक्रममा परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डोलराज शर्मा पौडेल, उपमहासचिव लोकनाथ पाण्डे, केन्द्रीय सदस्य प्रमोद गौतम, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराई, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका उपाध्यक्ष बिष्णु गौतम लगायतले भनाई राखेका थिए ।

परिषदले बिभिन्न माग सहित आज सात वटै प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउन, यहि साउनको २४ गते ७७ वटै जिल्लाका अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम गर्ने, त्यस्तै २५ गते ७७ वटै जिल्लामा जिल्ला प्रशासन तथा शिक्षा बिकास तथा समन्वय इकाईको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने, ३० गते सबै स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम गर्ने, ३१ गते ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने पहिलो चरणका आन्दोलनका कार्यक्रम तय गरेको छ ।

त्यस्तै यी कार्यक्रम गरिसक्दा पनि सरकारले आफ्ना माग सुनुवाई नगरे आगामी भदौ ३ र ४ गते देशै भरका सामुदायिक बिद्यालय बन्द गर्ने र ७ गते काठमाण्डौमा शान्तिपूर्ण प्रदेर्श गर्ने तथा काठमाण्डौ जाऔं अभियान सञ्चालन गरि राजधानी केन्द्रित ससक्त प्रदर्शन तथा धर्ना लगायतका कडा आन्दोलन गरिने परिषदका अध्यक्ष बहादुर खड्काले जारी गरेको अपिलमा उल्लेख गरिएको छ ।