नेकोद्वारा आगलागि पिडितलाई बिमा दावी भुक्तानी

795

नेकोद्वारा आगलागि पिडितलाई बिमा दावी भुक्तानी

बुटवल, १० जेठ । नेको इन्सुरेन्स लिमिटेडले बुटवलको अमरपथमा रहेको विन्दबासिनी फेसन हाउसमा भएको आगलागीको क्षतिपूर्ति स्वरुप बिमा दावी भुक्तानी गरेको छ । बुटवलको अमरपथमा रहेको विन्दबासिनी फेसन हाउसमा १२ फागनु २०७५ मा विद्युत सट भई आगलागी हुँदा पुरै पसल जलेर नष्ट भएको थियो । पसल जलेर नष्ट भएपछि बिमितको बिमा दावी अनुसार बिमा कम्पनीले शुक्रबार बुटवल उद्योग बाणिज्य संघमा कार्यक्रम गरि बिमितलाई ९५ लाख रुपैंया दावी भुक्तानी गरेको हो ।

बिमा कम्पनी नेको इन्सुरेन्सका क्षेत्रीय प्रवन्धक रमेशबहादुर थापा, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल र रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले विन्दबासिनी फेसन हाउस (पसल)का सञ्चालक विशाल भट्टराईलाई ९५ लाख रुपैंया बराबरको चेक हस्तान्त्रण गर्नुभयो । भट्टराई बुटवल उद्योग बाणिज्य संघ तथा रुपन्देही व्यापार संघका सदस्य समेत हुनुहुन्छ ।

त्यस अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले पुरानो इन्स्योरेन्स कम्पनी नेकोले बिमितलाई छिटो रकम हस्तान्तरण गरी व्यवसायबाट पलायन हुन नदिन र ब्यवसायी प्रतिको बिश्वास बढाउदै आफनो शाख पनि कायम राखेको बताउनु भयो । उहाँले व्यवसायीहरुले भबितब्य र जोखिमको सामना गर्न बिमा गर्ने भएकाले बिपतमा बिना झण्झट बिमा रकम हस्तान्तरण गरेमा बिमा व्यवसाय पनि बढ्दै जाने बताउनु भयो । उहाले संघका सदस्य तथा अन्य व्यवसायीलाई बिमामा आकृषित गर्न संघले बिमा सचेतनाको कार्यक्रम निरन्तर रुपमा चलाउने बताउनु भयो ।

रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले बढदो व्यवसायिक जोखिम न्यूनिकरणका लागि संघले छुट्टै व्यवसायीक हित कोष स्थापना गरेपनि त्यसबाट न्यून रकम मात्रै सहयोग गर्न सकिने भएकाले व्यवसायीहरुले बिमाबाट नै लाभ लिन सक्नु पर्ने बताउनु भयो । उहाले बुटवल उपमहानगरपालिका भित्र सञ्चालित व्यवसायीहरुको हितका लागि उपमहानगरपालिकाले पनि बिशेष योजना ल्याउनु पर्ने बताउनु भयो ।

सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलका प्रमुख अधिवक्ता बावुराम पाण्डेले कुनै पनि व्यवसायलाई दीगो बनाउन र जोखिम कम गर्न बिमा सबै भन्दा उत्तम बिकल्प भउको बताउनु भयो । उहाँले अहिले पनि बिमा दावी भुक्तानी पाउनकालागि ठूलो लडाई लड्नु पर्ने परिस्थिती रहेको बताउँदै नेकोले तीन महिना भित्रै बिमा दावी भुक्तानी गरेर संस्थाको साख बनाउने काम गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेको इन्सुरेन्सका क्षेत्रीय प्रवन्धक थापाले अझैपनि बिमा सम्बन्धि चेतना नभएकाले बिमा गर्न हिचकिचाउने गरेको औंल्याउँदै घटना घटीसकेपछि मात्रै बिमाको महत्व थाहा हुने बताउनु भयो । उहाँले आफ्नो कम्पनीले नाफालाई भन्दा पनि सेवालाई आधार मानेर काम गर्ने गरेकाले बिमितले बिल भरपाई सुरक्षित र चुस्त राखेमा बिमा दावी भुक्तानी सहज हुने बताउनु भयो । उहाँले बिमितलाई बिल भरपाई लगायतका कागजातहरु सुरक्षित रुपमा राख्न पनि आग्रह गर्नुभयो । उहाले पछिल्लो समय बिमा कम्पनी बिचमा अस्वस्थ्य प्रतिस्पर्धा बढेको बताउँदै यसले बिमा कर्तालाई अल्मल्याउने र जोखिम झन बढाउने काम रोकिनु पर्ने धारणा राख्नुभयो ।

दावी भुक्तानी पछि विन्दबासिनी फेसन हाउसका सञ्चालक भट्टराईले आगलागिबाट आफ्नो पसल पुरै सखाप भएको र बेलैमा बिमा गरेकाले केही भएपनि राहत महसुस भएको बताउँदै खुसी व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन कम्पनीका सेल्स म्यानेजर युवराज न्यौपानेले गर्नुभएको थियो ।