विना सर्त रिहा गर्न प्रदेश सांसदहरुको माग

396

विना सर्त रिहा गर्न प्रदेश सांसदहरुको माग


बुटवल, ९ वैशाख । प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने रुद्र घिमिरे बिरुद्ध दर्ता भएको मुद्धा खारेज गर्न प्रदेश सभा सदस्यले माग गरेका छन् ।आज (सोमवार) बसेको प्रदेश सभाको बिशेष समयमा बोल्दै प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी र निर्मला क्षेत्रीले लोकतन्त्रमा वोल्न पाउने र बिरोध गर्न पाउने अधिकार रहेको भन्दै कालो झण्डा देखाएको अभियोगमा पक्राउ परेका अर्घाखाँचीका युवा घिमिरेलाई तत्काल रिहा गर्न र घिमिरे बिरुद्ध दर्ता भएको मुद्धा समेत फिर्ता लिएर लोकतान्त्रिक अधिकारको रक्षा गर्न माग गरे । शनिवार जीतगढी उत्सवमा प्रधानमन्त्री ओलीले बोलिरहदा कालो भण्डा देखाएका घिमिरेलाई प्रहरीले तत्काल पक्राउ गरी हिजो जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेको थियो ।

बैठकमा चौधरीले यस अघि साझा सूचिमा रहेका अधिकार कटौती गरेर संघीय सरकारले प्रदेशलाई कमजोर बनाउने प्रयास गरेको भन्दै यस अघि प्राप्त भएका अधिकार स्थापीत गर्ने र थप अधिकार खोसिन नदिन प्रदेशसभाबाट संकल्प प्रस्ताव पारीत गर्नुपर्नेमा जोड दिए ।प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले प्राकृतिक स्रोत साधनमाथीको अधिकार संघीय सरकारले खोस्नुले प्रदेशलाई कमजोर बनाउने नियत देखिएको बताए ।
चैत्रमा बजेट पठाउने,३५ दिने सूचना प्रकाशीत गरेर टेन्डर गर्न लगाउने र उपभोक्ताहरुलाई काम गर्न नदिने पुरानै परम्परालाई कायम राखेर समृद्ध मुलुक बन्न नसक्ने भन्दै उहाले योजना कार्यान्वयनमा बाधक बन्ने कार्यविधि सच्याएर छिटो छरीतो काम गर्ने व्यवस्था मिलाउनुपर्ने आवश्यकता औल्याए ।

प्रदेशसभाको बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य इन्द्र प्रसाद खरेलले पनि संघीय सरकार प्रदेशको भुमिका कमजोर बनाउने खालका ऐन कानून ल्याउन सक्ने आशंका व्यक्त गरे ।अर्का प्रदेशसभा सदस्य बिजयबहादुर यादवले प्रदेश सरकारले प्रदेशसभा सदस्यहरुलाई जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाए । त्यसैगरी प्रदेशसभाको बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य बिष्णु प्रसाद पन्थीले नेपालगञ्ज नाकाबाट मात्रै आठ महिनाको अवधिमा पौने दुई अर्बको तरकारी आयात भएको भन्दै नेपाली किशानले उत्पादन गरेका तरकारी खेत बारीमै कुहिने तर बिदेशबाट अर्बौको तरकारी आयात हुने अवस्था अन्त गर्ने तर्फ सरकारको ध्यानाकर्षण गरेका छन् ।