बुटवलमा पहिलो पटक राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिता हुँदै

912

बुटवलमा पहिलो पटक राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिता हुँदै

बुटवल, १७ फागुन । पाँचौ राष्ट्रिय खुला रनिङशिल्ड दोहोरी प्रतियोगिता तथा साँंस्कृतिक महोत्सव बुटवलमा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र रुपन्देही शाखाको सह–आयोजनामा राजधानी बाहिर पहिलो पटक उक्त प्रतियोगिता बुटवलमा हुन लागेको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १९ देखि २५ गतेसम्म बुटवल मण्डपमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईएको हो । उक्त प्रतियोगितामा अहिलेसम्म ४८ समूहले नाम दर्ता गरेको लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक गरौंजाले जानकारी दिनुभयो ।
सात दिन सम्म सञ्चालन गरिने कार्यक्रममा १ सय २० स्टलहरु समेत रहने छन् । प्रतियोगितामा पुरुष/पुरुष वा महिला/महिलाले पनि दोहोरीमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । महोत्सवमा प्रवेशको लागि विद्यार्थीलाई ३० र अन्यको लागि ५० रुपैयाँको टिकट बनाइएको छ । कार्यक्रमको लागि ४९ लाख खर्च हुने र आम्दानी ५० लाखको हाराहारीमा हुने अनुमान गरिएको अध्यक्ष गरौजाले बताउनुभयो । कार्यक्रममा राष्ट्रिस्तरमै ख्याती कमाएका कलाकारका साथै स्थानीय स्तरका लोकदोहोरी कलाकारहरुको जमघट हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार खिमबहादुर हमालले बताउनु भयो ।
प्रतियोगितामा प्रथम हुने समुहलाई २ लाख, द्वितीय हुने समुहलाई एक लाख २० हजार, तृतीय हुने समुहलाई ७० हजार र सान्त्वना पुरस्कार ३५ हजार रुपैंया प्रदान गरिने छ । त्यस्तैगरी उत्कृष्ट गायक र गायिकालाई जनही १५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने उहाँले जानकारी गराउनु भयो । कार्यक्रमको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।