बुटवललाई मुलुककै आर्थिक हव बनाउने संयुक्त प्यानलका उम्मेद्वारको प्रतिवद्धता

310

बुटवललाई मुलुककै आर्थिक हव बनाउने संयुक्त प्यानलका उम्मेद्वारको प्रतिवद्धता

बुटवल, ६ असार । नेपाली काँग्रेस र नेकपा माओवादीका उम्मेदवारहरुले बुटवललाई मुलुककै आर्थिक हवको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलवार बुटवलमा भएको उद्योगी व्यवसायीको भेलालाई सम्वोधन गर्दै उनीहरुले मुलुकको आर्थिक केन्द्रविन्दुको रुपमा बुटवललाई विकास गर्ने सकिने प्रसस्त सम्भावना रहेको बताए छन् । बुटवलको मुहार फेर्न सक्ने र जनताको मन जितेर काम गर्न सक्ने भएकाले पार्टीले विश्वास गरेर आफूहरुलाई बुटवल उपमहानगरको उम्मेदवार बनाएको उनीहरुले औल्याएका छन् ।

नेपाली काँग्रेसवाट मेयरको उम्मेदवार बन्नुभएका खेलराज पाण्डेले एमालेले काँग्रेस र माओवादीले गरेको कामलाई भजाएर जनतामा भ्रम छर्ने काम गरेको भन्दै काँग्रेस माओवादी गठबन्धन सरकारले उद्योगी व्यवसायीलाई राहत र टेवा पुग्ने काम गरेको बताउनु भयो । काँग्रेस र माओवादी केन्द्रको जित नै उद्योगी व्यवसायीहरुको जित भएकाले उद्योगी व्यवसायीको संरक्षणको लागि संयुक्त प्यानललाई विजयी गराउन उहांले उद्योगी ब्यवसायी र नगरवासीसंग अपिल गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रवाट उपमेयर पदका उम्मेदवार जगतबहादुर पोखरेलले समग्र बुटवलको विकासका लागि आफुसंग स्पष्ट दृष्टिकोण भएको बताउंदै त्यसलाई साकार पार्न उद्योगी व्यवसायीहरुको सहयोग अपरिहार्य भएको बताउनु भयो ।
कार्यक्रममा पुर्व मन्त्रि शँकर भण्डारीले बुटवलको जितको सन्देशले मुलुकको राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने भएकाले इमान्दारीपुर्वक काँग्रेस माओवादी संयुक्त प्यानलका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दधिराम न्यौपानेले शान्ति प्रकृयादेखि नै माओवादी केन्द्र र काँग्रेसको सहकार्य रहेको बताउंदै शान्ति र संवृद्धिको लागि दुई दलविच चिरकाल सम्म सहकार्यको आवश्यक्ता औल्याउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद शंकर पाण्डे, क्षेत्रिय सभापति हरि लम्साल, बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह महासचिव हरिप्रसाद अर्याल लगायतले बोल्दै बुटवलको विकास र सुकुम्वासी समस्या सदाका लागि समाधान गर्न काँग्रेस माओवादी गठवन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताउनु भयो ।

यसैविच बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका तर्फवाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले नगरका सुकुम्वासीहरुको समाधान नेपाली काँग्रेस बाहेक कुनै पार्टीले गर्न नसक्ने बताउनु भएको छ ।
पटक पटक सुकुम्वासी समस्या समाधान गर्छौं भनी जनतामाझ भोट माग्ने तर चुनाव जितेपछि फर्केर पनि नहेर्ने दललाई यस पटक भोट नदिई नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनका मेयर उपमेयरलाई विजयी गराउन उम्मेदवार पाण्डेले जनतासंग अपिल गर्नु भयो ।
मंगलवार बुटवल उपमहानगरपालिकाको वडा नम्बर १७ को रानीगंज र मोतिपुर तथा वडा नम्बर १६ को सेमलारमा भएका अलगअलग चुनावी कोण सभामा वोल्दै मेयर पदका उम्मेदवार पाण्डेले काँग्रेसले जे वोल्छ त्यो जितेपछि गरेर देखाउने प्रतिबद्धता जनाउनु भयो । हामी जनतालाई झुठा नारा बाड्दैनौ जे प्रतिवद्धता सार्वजनिक गरेका छौं त्यो चुनाव जितेपछि कार्यान्वयन गरेर देखाउछौ भन्ने बुटवल नगरमा विकासको शुरु र नेतृत्व नेपाली काँग्रेसले गरेको कुराले पुष्टि गर्दछ भन्नुभयो ।

त्यस्तै उपमेयरका उम्मेदवार जगत पोखरेलले सम्युक्त प्रतिवद्धतालाई कार्यान्वयनका साथै नगरका वडाले जारी गरेका तथा थप आवश्यक कार्यक्रमहरुलाई समेटेर नगरको विकास गर्दै जनताका आवश्यकता पुरा गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले मोतिपुर औद्योगिक क्षेत्रभित्र पर्ने वस्तीको उचित व्यवस्थापन गरेर मात्र औद्योगिक क्षेत्र संचालन गरिने धारणा राख्नु भयो । कार्यक्रममा नेपाली काँग्रेसका वडा नम्बर १६ का अध्यक्षका उम्मेदवार भवानी शर्मा, १७ नम्बर वडा अध्यक्षका उम्मेदवार ओमबहादुर घिमिरे बावुरामले वडाका समस्या समाधानका लागि नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्नु भएको थियो ।

त्यस्तै नेपाली काँग्रेस बुटवल वडा नम्बर ४ ले मंगलवार वडाको आदर्श नगरमा घरदैलो तथा जनभेटघाट गरेको छ । घरदैलोको क्रममा वडा अध्यक्षका उम्मेदवार अर्जुन रानभाट, वडा सदस्य परमानन्द भट्टराई, सर्वजित केसी, महिला सदस्य गंगा पन्थी, महिला दलित सदस्य गोमा नेपाली, बुथ सभापति अरुण श्रेष्ठ लगाएतले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न वडावासीलाई आग्रह गर्नु भएको थियो ।

त्यसैगरि वडा नम्बर ७ मा मंगलवार मोटरसाईकल ¥याली निकाली चुनावी प्रचार प्रसार गरेको वडा अध्यक्षका उम्मेदवार पदम बहादुर गाहाले बताउनु भयो । वडाको प्रचार कार्यालयवाट निकालिएको ¥याली पुरै वडा परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । वडामा नेपाली काँग्रेस, जनमुक्ति र माओवादी केन्द्रबीच चुनावी तालमेल गरिए अनुसार ¥याली पनि संयुक्त रुपमा निकालिएको हो ।