बुटवलमा ‘एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०७४’ हुँदै

755

बुटवलमा ‘एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०७४’ हुँदै

बुटवल, २० माघ । कृषि बिकास मन्त्रालय अन्तरगत कृषि व्यबसाय प्रवद्र्धन कार्यक्रम काठमाण्डौ, क्षेत्रीय कृषि निर्देशनालय पोखरा, जिल्ला कृषि बिकास कार्यालय रुपन्देही र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा आगामी फागुनमा एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०७४ हुँदैछ ।

प्राकृतिक रुपमा उपलब्ध प्राङ्गारिक तथा जैविक मल, जैविक बानपस्तिक विषादीहरुको प्रयोगबाट वातावरण र माटोको गुणस्तरको उचित संरक्षण गरि दीगो गुणस्तरीय उत्पादन गर्ने पद्धतीको बिकासकालागि प्राङ्गारिक कृषि मेला गर्न लागिएको हो । प्राङ्गारिक कृषि प्रवद्धनकालागि कृषि विभाग अन्तरगत कृषि प्रवद्धन कार्यक्रमले २०६४ देखि प्रत्येक वर्ष राष्ट्रिय प्राङ्गारिक कृषि मेला गर्दै आएको छ । सोही अन्तरगत आगामी फागुनको ३ देखि ७ गतेसम्म बुटवलमा ११ औं राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०७४ गर्न लागिएको कृषि विभागका महानिर्देशक डा. डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

आयोजकले शनिबार बुटवल उद्योग बाणिज्य संघमा पत्रकार सम्मेलन गरि मेलाको बारेमा औपचारिक जानकारी गराएको हो । मेलामा प्राङ्गारिक कृषि उपजहरुको जानकारी गराउने, प्राङ्गारिक कृषि प्रणाली अपनाउन किसानलाई प्रात्साहन गर्ने, प्राङ्गारिक उपजहरुको आर्थिक, पौष्टिक, सामाजिक तथा पर्यावरणीय महत्वबारे जानकारी गराउने पनि उहाँले बताउनु भयो । त्यस्तै बाली बिरुवाका शत्रुहरुको स्थलगत पहिचान तथा प्राङ्गारिक निदानमा सहयोग पु¥याउने, प्राङ्गारिक कृषि पद्धतीको आवश्यकता बोध गराउन समेत मेला आयोजना गरिएको हो ।

हाल नेपालमा ३१ लाख हेक्टरमा खेती हुने र त्यसमध्ये ४१ हजार हेक्टर जमिनमा मात्रै प्राङ्गारिक खेती हुने महानिर्देशक डा. शर्माले जानकारी गराउनु भयो । त्यस्तै उहाँका अनुसार ५७० मेट्रिकटन विषादी नेपाल भित्रिन्छ । त्यसमध्ये ८० प्रतिशत भन्दा बढी विषादी तरकारीमा मात्रै प्रयोग हुन्छ ।

बुटवल १० रामनगर स्थित बुटवल मण्डपमा पाँच दिनसम्म सञ्चालन हुने मेलामा प्राङ्गारिक कृषि सूचना केन्द्र, वाली उपचार शिबिर सञ्चालन गरिने छ भने माटो परिक्षण सेवा समेत राखिनेछ । तरकारीमा विषादीको मात्रा समेत चेकजाँच गरिने छ । त्यस्तै कृषि संग सम्बन्धित गोष्ठिहरु समेत सञ्चालन गरिने छ । ती गोष्ठिमा कृषि विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने क्षेत्रीय कृषि निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक शरदकुमार श्रेष्ठले बताउनु भयो ।

उक्त मेलामा देशै भरिका प्राङ्गारिक उत्पादनका स्टलहरु राखिने र त्यसकालागि कृषि व्यबसाय प्रवद्र्धन कार्यक्रम, क्षेत्रीय कृषि निर्देशनालय, जिल्ला कृषि बिकास कार्यालय र बुटवल उद्योग बाणिज्य संघले काम गरिरहेका छन् । बुटवल उद्योग बाणिज्य संघले २०६२ सालदेखि प्रत्येक दुई वर्षमा कृषि मेला गर्दै आएको छ ।

बुटवल उद्योग बाणिज्य संघले यस अंगाडी २०६९ सालमा छैठौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला गरेको थियो । प्राङ्गारिक कृषि व्यबसायकालागि मेलाले किसानलाई प्रवद्र्धन गर्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख भोजप्रसाद सापकोटाले गर्नुभएको थियो ।