बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

714

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

बुटवल, २९ मंसिर । रुपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको आयोजनामा बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।

‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको बिकास’ भन्ने नाराका साथ यहि पुसको ६ देखि १८ गतेसम्म बुटवल रामनगर स्थित बुटवल मण्डपमा ‘१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव २०७४’ गर्न लागिएको रुपन्देही उद्योग संघका अध्यक्ष तथा प्रदर्शनी आयोजक मुल समितिका संयोजक दिनेशराज रेग्मीले बताउनु भयो ।

प्रदर्शनी आयोजक संस्था रुपन्देही उद्योग संघले शुक्रबार प्रदर्शनी स्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गरि प्रदर्शनीका बारेमा जानकारी गराएको हो ।

१३ दिनसम्म सञ्चालन गरिने प्रदर्शनीमा आई.टी बाहेक सबै स्टलहरु नेपाली उत्पादनका राखिने संयोजक रेग्मीले बताउनु भयो । संघले पहिलो पटक २०४५ सालमा प्रदर्शनी गरेको र ०५३ सालदेखि निरन्तर गर्दै आएको औद्योगिक प्रदर्शनीमा यो वर्ष प्रविधिलाई विशेष महत्व दिईएको बताईएको छ ।

प्रविधिको प्रयोग गरेर प्रदर्शनी स्थलमै उपभोग्य बस्तु उत्पादन गरिने र उपभोक्तालाई प्रत्यक्ष देखाईनेछ । जसकालागि अहिलेसम्म १३ वटा स्टल दर्ता भईसकेका छन् भने १५ वटा सम्म राख्न सकिने संयोजक रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै मुलुकमा कृषिका माध्यमबाट आर्थिक बिकासको सम्भावना उत्तिकै छ । संघले प्रदर्शनीमा कृषिलाई पनि उत्तिकै महत्व दिएको पत्रकार सम्मेलनमा उहाँले बताउनु भयो । प्रदर्शनीमा ६३ वटा कृषिका स्टल राखिने छ । त्यसमा माछा पोखरी, नर्सरी, फ्लोरीकल्चर, कृषिजन्य उत्पादन, च्याउ, केरा लगायतका परिकार तथा कृषि प्रविधी समेत समावेश गरिएको उहाँले बताउनु भयो ।

उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना, उत्पादित बस्तुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया, सूचना प्रविधिबारे जानकारी आदान–प्रदान, सरकारी नीति र कार्यान्वयन प्रक्रियामा रहेका कठिनाइहरू तथा उद्योगीहरूका विद्यमान कमजोरी समेतलाई पत्ता लगाई सरकार र उद्योगीहरूलाई सुझाव दिने तथा निर्यातमुलक उद्योगहरुको पहिचान गर्ने लक्ष्य सहित आयोजना गरिएको प्रदर्शनीमा प्रविधि प्रदर्शनी, सूचना केन्द्रको स्थापना र प्रसारण, औद्योगिक गोष्ठी, कार्यशाला र अन्तरक्रिया, साँस्कृतिक कार्यक्रम, पर्यटन सूचना केन्द्र, लुम्बिनी दर्शन यात्रा, भलिवल प्रतियोगिता लगायतका कार्यक्रम गरिने संघका महासचिव माधव पौडेलले जानकारी दिनुभयो ।

प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, आरसिआई ट्यालेन्ट हन्र्ट प्रतियोगिता सञ्चालन गरिने प्रचार प्रसार संयोजक माधव नेपालले जानकारी दिनुभयो ।

औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, अटो, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, वेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटी लगायत करिव ५ सय स्टल रहेने प्रदर्शनीमा ६ लाख दर्शकले अवलोकन गर्ते तथा २० करोडको कारोवार हुने आयोजकले अनुमान गरेका छन् ।