बुटवलमा राष्ट्रिय स्तरको लन टेनिस प्रतियोगिता हुँदै

918

बुटवलमा राष्ट्रिय स्तरको लन टेनिस प्रतियोगिता हुँदै


बुटवल, माघ । रुपन्देही लन टेनिस संघको आयोजनामा आगामी फागुनमा ‘दोस्रो बुटवल लुम्बिनी खुल्ला लन टेनिस प्रतियोगिता’ हुने भएको छ । नेपालमा भित्रीएको छोटो अवधिमै विकासको गति लिएको लन टेनिस खेलका माध्यमबाट लुम्बिनीमा खेल पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष अशोक गुरुङ्ले बताउनु भयो ।

प्रतियोगिताको बारेमा जानकारी गराउनकालागि संघले बुधबार बुटवल देवीनगर स्थित लनटेनिस कोर्टमा पत्रकार सम्मेलन गरेको थियो । आगामी फागुनको ११ देखि सुरु हुने प्रतियोगितामा ८ वटा ईभेन्ट्समा खेल खेलाईने छ भने १५० जना भन्दा बढी खेलाडी सहभागि हुने आयोजकले अपेक्षा लिएका छन् ।

पुरुष तथा पुरुष सिंगल तर्फ विजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार, ३५ वर्ष भन्दा माथिको उमेर समुहमा पुरुष सिंगलमा विजेतालाई ३५ हजार, उपविजेतालाई २० हजार, सोही उमेर समुहमा पुरुष डवल तर्फ विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार, ४५ वर्ष माथिको उमेर समुहमा विजेतालाई २० हजार र उपविजेतालाई १० हजार रुपैंया पुरस्कार प्रदान गरिने छ ।


४५ वर्ष उमेर समुहमै पुरुष सिंगलमा विजेतालाई १५ हजार र उपविजेतालाई १० हजार, ५५ वर्ष माथिको उमेर समुहमा पुरुष सिंगल तर्फ विजेतालाई २० हजार र उपविजेतालाई १० हजार तथा सोही उमेर समुहमा पुरुष डवल तर्फ विजेतालाई १५ हजार र उपविजेतालाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने संघका सचिव गोपाल ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतियोगितामा भाग लिनकालागि फागुनको ७ गतेसम्म दर्ता गरिसक्नुपर्नेछ भने ९ गते संघले ट्राईसिट सार्वजनिक गर्ने उहाँले जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै संघका सल्लाहकार अर्जुनमान सैंजुले नेपाल भित्रिएको छोटो समयमा नै भएको लनटेनिसको बिकासले खेलकुदको क्षेत्रमा नयाँ आयाम थपिएको बताउनु भयो ।

त्यस्तै देवसिद्ध समाज सुधार समितिका अध्यक्ष पूर्णानन्द गिरीले बिकासको गति लिँदै गरेको त्यस क्षेत्रमा भएका खेलकुदका कार्यक्रमले स्थानीयमा नयाँ उत्साह थपिएको उल्लेख गर्नुभयो ।