स्तनमा गिर्खा भएमा बेवास्ता नगरौँ

1.1K

स्तनमा गिर्खा भएमा बेवास्ता नगरौँ

कल्पना पौडेल/काठमाडौँ, १२ कात्तिक । विभिन्न किसिमका अर्बूद (क्यान्सर) रोगमध्ये आफँै जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । घरमै बेलाबेलामा सरलताका साथ आफ्नो स्तन जाँच गरिराख्दा समयमै यो रोगबाट बच्न सकिन्छ जसलाई ‘ब्रेस्ट सेल्फ इक्जामिनेसन’ भनिन्छ ।

वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागाईंका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐनाअगाडि उभिएर जाँच गर्न सकिन्छ । उहाँले भन्नुभयो, “ऐनाअगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार, बनोट, निप्पलको अवस्था, छालाको रङ, स्तनको कुनै भागमा गिर्खा भए नभएको ध्यान दिनुपर्छ, केही गिर्खा, गाँठागुँठी भएमा वा केही परिवर्तन देखिएमा चिकित्सककहाँ गइहाल्नुपर्छ ।”

चिकित्सकका अनुसार आफैँ जाँच गर्दा नुहाउने समय निकै राम्रो मानिन्छ । नुहाउँदा पनि सरलताका साथ जाँच गर्न सकिन्छ । साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न अझ सजिलो हुन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्न सकिन्छ । यसरी जाँच गर्ने क्रममा कुनै भाग कडा लागेमा तुरुन्तै उपचार गराउनुपर्ने हुन्छ ।

स्त्रीरोग विशेषज्ञ डा ज्योति अग्रवाल यसरी स्तनको जाँच आफैँ गर्दा महिनावारी नियमित रूपमा भइरहेका महिलाले महिनावारी रोकिएको चार–पाँच दिनपछि यो जाँच गर्नुपर्ने बताउनुहुन्छ । महिनावारी भएका बेलामा स्तन अलिकति सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ । यसो भएमा तुरुन्त जाँच गराउनुपर्नेे उहाँको भनाइ छ ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापति स्तन क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो नम्बरमा आउने बताउनुहुन्छ । महिला उमेर पार गर्दै बुढ्यौलीतिर लाग्दा स्तन क्यान्सरको सम्भावना बढ्दै जाने हुन्छ । विभिन्न तथ्याङ्कअनुसार विश्वमा औसत ५० वर्ष उमेर नाघेका महिलामा स्तन क्यान्सरको समस्या बढी देखापर्ने गर्दछ ।

उहाँले भन्नुभयो, “कतिपय स्तन क्यान्सर वंशाणुगत कारणले पनि हुन सक्छ । तर सबैमा यो समस्या हुन्छ भन्ने छैन । कुनै महिलालाई चाँडै महिनावारी शुरु भएर ढिलै सुकेको छ भने पनि स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ, ढिलो बच्चा जन्माएका महिला र आफ्नो बच्चा जन्माएर पनि स्तनपान नगराउने तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने महिलालाई स्तन क्यान्सर हुने खतरा हुन्छ ।”

लामो समयसम्म परिवार नियोजनको चक्की खाने, हर्मोनको प्रयोग गर्ने, अनावश्यक विकीरणको (एक्सरे) सम्पर्कमा आउने, बोसोयुक्त खानेकुरा ज्यादा खाने, धेरै मदिरा सेवन गर्ने र अति मोटा महिलामा पनि स्तन क्यान्सरको खतरा हुने पनि चिकित्सक बताउँछन् ।

डा प्रजापतिले बताउनुभयो, ‘स्तन क्यान्सर एक प्रकारको ट्युमर हो जुन व्यक्तिको स्तनका कोषिकाहरू अस्वाभाविक वृद्धि भएर हुन्छ । यसका कोषिकाहरू एकै ठाउँमा मात्र रहन सक्दैनन् । शरीरका अन्य तन्तुहरूमा सर्दै जाने गर्दछन् । यसलाई समयमै नष्ट गर्न नसकेमा पूरै शरीरभरि फैलिन गई बिरामीको मृत्यु पनि हुनसक्छ ।’

नेपाल क्यान्सर सोसाइटीका अनुसार युवती तथा प्रौढ महिलालाई हुने क्यान्सरमध्ये ६० प्रतिशत स्तन क्यान्सर हुन्छ । डा प्रजापति नेपालमा ३० देखि ५० वर्षका शहरी महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइएको बताउनुहुन्छ । यकिन तथ्याङ्क नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान छ ।

क्यान्सर विशेषज्ञ सन्ध्या चापागाईंका अुनसार फेरिएको जीवनशैलीका कारण स्तन क्यान्सरका बिरामी बढ्दै गएका छन् । क्यान्सर छ वा छैन भनेर वर्षको एक पटक म्यामोग्राफी (स्तनको मात्र एक्स–रे) गर्नु पनि आवश्यक रहेको चिकित्सक बताउँछन् । समयमै बच्चा जन्माई स्तनपान गराउनुपर्ने, व्यायाम गर्ने, मोटोपनबाट बच्ने र खानपानमा ध्यान दिनु आवश्यक हुने डा चापागाईंको सुझाव छ । रासस