प्रविधिको बिकाससंगै ‘डिजिटल भिजन सिन्ड्रोम’को समस्या

591

प्रविधिको बिकाससंगै ‘डिजिटल भिजन सिन्ड्रोम’को समस्या

मदन शर्मा/
बुटवल, ३ जेठ । बढ्दो डिजिटलाईजेशन र प्रविधिको प्रयोगले मावन जीवनमा कैयौं फाईदाहरु भएका छन् । शिक्षा, स्वास्थ्य तथा देश विदेशको अवस्था जानकारी हासिल गर्न प्रबिधिको बिकास र डिजिटलाईजेसनका माध्यमबाट मावन जीवनलाई सहज बनाउनुका साथै रोजगारीको समेत सुविधा उपलब्ध भएका छन् ।

तर पछिल्लो समयमा यहि बढ्दो आधुनीकिकरण, डिजिटलाईजेसन र प्रविधीको अत्यधिक प्रयोगले बालबालिका तथा युवामा आँखा सम्बन्धि समस्याहरु देखा पर्न थालेका छन् । पछिल्लो समयमा मोबाईल फोन, कम्प्युटर, ल्याप्टप, ट्याब लगायतका डिजीटल उपकरणको प्रयोग धेरै मात्रामा हुने गरेको छ । जसले गर्दा आँखाबाट आँसु बगिरहने, आँखा रातो हुने लगायतका समस्या उत्पन्न भएका छन् । जसका कारणबाट सानै उमेरमा चस्माको प्रयोग समेत गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

यी समस्या वातावरण प्रदुषण, मानिसको आन्तरिक स्वास्थ्य स्थितीका कारण पनि हुन्छन् । तर विभिन्न अनुसन्धानले अत्याधिक प्रविधिको बढ्दो प्रयोगले समस्या बढ्दै गएको पुष्टि हुन्छ । बुटवल ११ कालिकानगरका तुलसिराम सापकोटालाई यस्ता समस्या देखा पर्नुमा केही प्रतिशत प्रदुषण तथा स्वास्थ्य समस्या भए पनि अत्यधिक प्रविधिको प्रयोग नै भएको लाग्छ । ‘अहिलेका पुस्तालाई बिहानै उठ्ने वित्तिकै मोबाईल, साँझ नसुतुन्जेल पनि मोबाईल या कम्प्युटर चाहिन्छ ।’ उहाँले भन्नुभयो–‘आंखालाई पनि आराम दिनुपर्छ बल्ल पो सन्तुलन रहन्छ, एक छिन् पनि आराम नदिए पछि समस्या आउने नै भयो ।’

आँखाका विभिन्न समस्या मध्य पछिल्लो समयमा अत्यधिक रुपमा डिजिटल (कम्प्युटर) भिजन सिन्ड्रोम देखा परेको छ । यो समस्याको सुरुवाती समय सामान्य हुने गर्दछ । जसमा आँखा रातो हुने, चिलाउने, आँखाबाट आँसु बगिरहने जस्ता समस्याहरु देखा पर्दछन् । समस्या बढ्दै जांदा दृष्टि कमजोर हुने, आंखा झिम्क्याउन असजिलो हुने, अत्यधिक टाउको दुख्ने हुन्छ ।

पछिल्ला केही वर्ष यता १० देखि २५ वर्ष उमेर समुहका युवा युवतीमा यस्तो समस्या बढी देखिन थालेको आँखा रोग विशेषज्ञ सुशिल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार डिजिटल ग्याजेटहरुबाट विभिन्न विकिरणहरु निस्कने गर्दछ । अत्यधिक उपकरणको प्रयोग गर्दा त्यस्ता विकिरणहरुलाई आँखाले रोक्न सक्दैन र आँखामा भएको पानीको मात्रा कम हुन जान्छ । यसले गर्दा आंखाको दृष्टि कम हुने, आँखा दुख्ने, टाउकोमा समस्या उत्पन्न हुन्छ ।

डिजिटल प्रबिधिको बढी प्रयोगमा रहने व्यक्तिले २०/२०/२० नियमको पालना गर्नुपर्ने डा. श्रेष्ठको भनाई । यसमा २०/२०/२० को नियम भन्नाले हरेक २० मिनेटमा २० सेकेन्डकोलागि २० फिट टाढा हेर्नुपर्छ । यसो गर्दा आंखा तथा आँखाका मांसपेसीले आराम पाउँछ र समस्या निम्तिने खतरा कम हुन्छ । त्यस्तै आँखा ब्लिङ्क (झिम्क्याउने) दर बढाउने र ल्यापटप तथा कम्प्युटर, मोवाईल लगाएका उपकरण प्रयोग गर्दा ६० डिग्रि एंगल (कोण) मा प्रयोग गर्न उहाँको सुझाव छ ।

विभिन्न उपकरणको प्रयोग गर्दा आंखा नै नझिम्काईकन बस्ने बानी राम्रो होईन । आँखा नझिम्क्याई बस्दा आँखामा सुख्खापना बढ्ने गर्दछ । त्यसैले आँखा झिम्क्याउने दर बढाउन डा. श्रेष्ठको सुझाव छ । त्यस्तै ल्यापटप कम्प्युटर, मोवाई लगायतका उपकरण प्रयोग गर्दा ढाडलाई सिधा राख्ने र उज्यालो वातावरणमा रहेर प्रयोग गर्नुपर्छ ।