दुई तिहाई बहुमतको सरकार असफल : काँग्रेस नेता सिंह

537

दुई तिहाई बहुमतको सरकार असफल : काँग्रेस नेता सिंह

बुटवल, ५ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले दुई तिहाई बहुमतको अहिलेको सरकार सबै क्षेत्रमा असफल बन्दै गएको बताउनु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले जनतालाई शान्ति सुरक्षा दिनेदेखि बिकास गर्ने सबै काममा सरकार असफल भएको बताउनु भयो ।

नेता सिंहले भन्नुभयो–‘बिहानीले दिनको संकेत गर्छ भनेजस्तै ९ महिनाले अहिलेको सरकारले के गर्छ भन्ने स्पष्ट भईसकेको छ ।’ नेता सिंहले प्रमुख प्रतिपक्षी दलका हैसियतमा काग्रेसले संसदमा रचनात्मक भुमिका निर्वाह गरेको बताउनु भयो । उहाँले सदन र सडकमा पनि काग्रेसले जनताका माग उठाईरहेको दावी गर्दै भन्नुभयो–‘संसदमा कुर्ची भाचेका छैनौ, बजेट ल्याउदा बजेट ब्रिफकेस च्यातेका खोसेका छैनौ, सभामुखलाई हान्ने काम गरेका छैनौ त्यो गरेनौ भन्दैमा सशक्त भएन भन्ने होइन, सशक्त भुमिका निर्वाह गरेका छौ ।’

पार्टीको प्रसंगमा भने उहाँले सभापति शेरबहादुर देउवा बिधि सम्मत नचलेको आरोप लगाउनु भयो । उहाले बहुमतको बलमा राजनीतिक निणर्य भन्दै २ वटा उपसभापति राख्नु बिधान बिपरित भएको उल्लेख गर्नुभयो । ‘पार्टी नीति र विधि सम्मत हुनुपर्छ भन्ने हाम्रो भनाई हो ।’ उहाँले भन्नुभयो–‘हामी पार्टीलाई सुधार गरेरै छोड्छौ ।’ उहाले पार्टीको नेतृत्व शैली एवं विधान समेत एकात्मक भएको हुदाँ लोकतान्त्रिक परिपाटी निर्माण गर्ने गृहकार्यमा आफूहरु जुटेको बताउनु भयो । युनियन रुपन्देहीकी सभापति रेखा भुसालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव श्यामशंकर पाण्डेले गर्नुभएको थियो ।