दोहोरो करले क्रसर ब्यवसायी मर्कामा

399

दोहोरो करले क्रसर ब्यवसायी मर्कामा

मणिग्राम, १२ कात्तिक । तिलोत्तमा नगरपालिकाले क्रसर उद्योगीसँग आईतबार अन्तरक्रियात्मक बैठक गरेको छ । क्रसर व्यवसायीले दोहोरो करका कारण आफूहरु मर्कामा परेको बताइरहँदा नगरपालिकाले सम्बद्ध पक्षसँग अन्तरक्रियात्मक बैठक गरेको हो ।

बैठकमा क्रसर उद्योगीका समस्याका साथै नगर भित्रका क्रसर उद्योगलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो । रुपन्देहीमा रहेकामध्ये सबैभन्दा बढी क्रसर उद्योग तिलोत्तमा नगरपालिकामा छन् ।

नेपाल रोडा ढुंगा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीका अनुसार तिलोत्तमामा रहेका १७ क्रसर उद्योगहरुमध्ये हाल १२ वटा सञ्चालनमा छन् । बैठकमा क्रसर व्यवसायीहरुले आफूहरुले भोगेका समस्याका बारेमा जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।

उनीहरुले रुपन्देहीका क्रसर उद्योगी दोहोरो करका कारण मर्कामा परेको भन्दै समस्या समाधानका लागि जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए । जिल्ला समन्वय समितिले नदीबाट ल्याउँदा प्रति घनमिटर ५ रुपैंयाँ ७५ पैसा र बिक्रीका लागि उद्योगबाट बाहिर लैजाँदा ४ रुपैंयाँ प्रति घनमिटर कर लिँदै आएकोमा उद्योगीहरु असन्तुष्ट छन् ।

दोहोरो करका कारण छिमेकी जिल्लाका क्रसर उद्योगसँग प्रतिस्पर्धा गर्न नसकिएको उनीहरुको गुनासो छ । प्रदुषणको नाममा हुने विभिन्न अवरोध, नदीजन्य पैदावारको अभाव, दोहोरो करलगायतका कारण क्रसर उद्योगीहरु यस क्षेत्रबाट पलायन भैरहेको बताउँदै व्यवसायीले उद्योग चल्ने वातावरण बनाईदिन नगरपालिकालाई आग्रह गरेका छन् ।

साथै उनीहरुले आवश्यक पूर्वाधार पु¥याइदिएमा नगरपालिकाले तोकेको क्षेत्रमा आफूहरु उद्योग चलाउन तयार रहेको बताए । उनीहरुले उद्योग तथा सप्लायर्सको नियमित अनुगमन गर्न नगरपालिकालाई आग्रह समेत गरेका छन् । त्यसक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नदीजन्य पैदावारहरुको व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिकामा प्राप्त भई नसकेको हुँदा क्रसर उद्योगीलाई लगाइएको दोहोरो कर हटाउने विषयमा सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो ।

उहांले नदीजन्य पैदावारको अवैध उत्खनन् र ओसारपसार नियन्त्रण गर्ने नगरपालिकाको अभियानमा सघाउन व्यवसायीलाई आग्रह गर्नुभयो । यस्तै नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले क्रसर व्यवसायीलाई स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार कर लगाइने बताउनुभयो । बैठकपछि नेपाल रोडा ढुंगा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीले जिल्लामा संचालित विभिन्न योजनाहरुलाई गिट्टी वालुवा उपलब्ध गराएको ठाउंवाट उद्योगहरुलाई पनि केही मात्रामा उपलब्ध गराई उद्योग चलाउने वातावरणका लागि पहल गरिदिन नगरपालिकालाई आग्रह गरिएको वताउनुभयो ।