समाजसेवी डिलारामको उपचारमा आर्थिक सहयोग

606

समाजसेवी डिलारामको उपचारमा आर्थिक सहयोग

बुटवल, ४ जेठ । रोल्पा स्थायी घर भई दुवईमा कार्यरत समाजसेवी डिलाराम ओलीको उपचारकालागि बुटवलका सामाजिक अभियान्ता मुक्तिराज पौडेलले आर्थिक सहायता प्रदान गर्नुभएको छ । दुवईमा काम गर्दा मजदुर नेता समेत रहनुभएका समाजसेवी ओलीको दुबै मृगौला फेल भएको छ । उहाँ दुबै मृगौला फेल भएपछि अहिले काठमाण्डौको त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँलाई मृगौला प्रत्यारोपणको तयारी गरिएको छ ।

उहाँको उपचारकालागि आर्थिक अभावमा परिवार तथा बिभिन्न संघसंस्थाहरुले सहयोगको अपिल गरिरहेका वेला बुटवल निवासी समाजसेवी पौडेलले काठमाण्डौ पुगेर उपचारकालागि २० हजार रुपैंया आर्थिक सहायता प्रदान गर्नुभएको हो । समाजिक अभियान्ता पौडेलले बुटवलमा बिरामी भेट्दा नगदी खाम अभियान सञ्चालन गर्नु भएको छ ।

बिरामीलाई अस्पतालमा भेट्न जाँदा फलफूलको सट्टा नगदी खाम लैजाने हो भने गरिव तथा विपन्न परिवारका बिरामीलाई उपचारमा राहत हुने भन्दै नगदी खाम अभियान सञ्चालन गर्नुभएको हो । सोही अभियान अन्तरगत अभियान्ता पौडेलले दुई वर्ष अंगाडी घुम्नकालागि दुबई जाँदा भेट भएका ओलीको मृगौला फेल भएपछि उपचारमा सहयोग होस भन्ने उद्देश्यले नगदी खाम हस्तान्त्रण गरेको बताउनु भयो ।

अन्तर्राष्ट्रिय रोल्पाली समाज युएईका सल्लाहकार समेत रहनुभएका समाजसेवी ओलीको उपचारमा सहयोगकालागि बिभिन्न संघसंस्थाले अपिल गरेका छन् । त्यसरी सहयोग गर्ने मनकारी मनहरुलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।