आफ्ना प्रतिस्प्रधीलाई दोब्बर मतले जित्त्ने वामगठबन्धनका नेताहरु

329

आफ्ना प्रतिस्प्रधीलाई  दोब्बर मतले  जित्त्ने  वामगठबन्धनका  नेताहरु

काठमाडौं/ प्रतिनिधिसभा तर्फ प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अझै जारी छ । तर देशका धेरै ठाउँको नतिजा प्राप्त भएको छ भने केही ठाउँमा कसले चुनाव जित्दैछ भनेर अनुमान गर्न सक्ने अवस्था सिर्जना भइसकेको छ ।

निर्वाचनमा हार जित स्वभाविक भएपनि केही नेताले अस्वभाविक मत परिणामका साथ चुनाव जितेका छन् । एमाले र माओवादीका ६ जना नेताले दोब्बर भन्दा पनि बढी मतले आफ्ना प्रतिस्पर्धीलाई चुनावमा हराएका छन् ।

देशभर कांग्रेसले चुनाव हारिरहेका बेला वाम गठबन्धनका यी नेताहरुले आफ्ना प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढी मतले चुनाव हराएका छन् ।

दोस्रो संविधानसभामा पहिलो दल बनेको कांग्रेस प्रत्यक्ष तर्फको निर्वाचनमा तेस्रो स्थानमा ओर्लिएको छ ।

केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर पाँचबाट आफ्ना प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढी मत अन्तरले हराएका छन् । ओलीले ५७ हजार एक सय ३९ मत लिएर चुनाव जित्दै गर्दा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले जम्मा २८ हजार २ सय ९७ मत लिएर निकटतम प्रतिद्वन्दी बने ।

भारतले लगाएको नाकाबन्दीको खुलेर विरोध गरेका ओलीले त्यसयता देशभरनै निकै पपुलारीटी कमाएका छन् । उनको पपुलारीटी प्रतिनिधिसभा निर्वाचनमा पनि देखियो ।

पार्वत गुरुङ

दोलखाका एमाले नेता पार्वत गुरुङले पनि आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतअन्तरले पराजित गरेका छन् । उनले ५५ हजार ४ सय ५७ मत ल्याएर चुनाव जित्दै गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २४ हजार ८ सय १३ मत ल्याएर हार बेहोरेका छन् ।

भूमि त्रिपाठी

धादिङ क्षेत्र  नम्बर एकमा पनि एमाले नेता भूमि त्रिपाठीले आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतअन्तरले नै हराएका छन् । उनले ४९ हजार एक सय २१ मत ल्याएर चुनाव जित्दै गर्दा कांग्रेस नेता विश्वप्रकाश अर्याल २१ ह्जार ९ सय ६८ मत ल्याएर अल आउट भए ।

जनार्दन शर्मा

रुकुम पश्चिम जिल्लामा माओवादीका प्रभावशाली नेता जनार्दशन शर्माले पनि आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले हराइदिए । माओवादीको खास प्रभाव क्षेत्र मानिने रोल्पा रुकुमका जिल्लाहरुमा माओवादी उम्मेदवारहरुले राम्रो मत सहित चुनाव जितेका छन् ।

शर्माले ३४ हजार ४ सय २ मत ल्याएर चुनाव जितेका छन् भने नेपाली कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६ सय ५९ मत ल्याएर चुनाव हारेका छन् ।

बिना मगर 
कञ्चनपुर क्षेत्र नम्बर एकमा माओवादी नेतृ विना मगरले पनि आफ्ना प्रतिस्पर्धीलाई भारी मत अन्तरले हराइन् । मगर माओवादी अध्यक्ष प्रचण्डकी बुहारी समेत हुन् । चुनावी अभियान चलिरहेकै बेलामा आफ्ना पति प्रकाश हृदयघात भएर निधन भएपछि उनीप्रति मतदाताको सहानुभूति समेत देखाएका छन् ।

मगरले ३८ हजार ४ सय ६७ मत ल्याएर चुनाव जित्दै गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिवानसिंह विष्टले १८ हजार २ सय १९ मत ल्याएर चुनाव हारेका छन् ।

कमला रोका

रुकुम पूर्वमा चुनाव जितेकी माओवादी नेतृ कमला रोकाले पनि आधा भन्दा बढी मतले आफ्ना प्रतिस्पर्धीलाई हराइन् । उनले १० हजार ४ सय ३४ मत ल्याएर चुनाव जितेकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिशंकर घर्तिले जम्मा ४ हजार ४ सय ६ मत मात्रै ल्याइन् ।

जय  कुमार राई

सुनसरी एकमा जयकुमार राइले आफ्ना प्रतिस्पर्धी अशोक राईलाई दोब्बर मतले हराए । नेकपा एमालेका नेता जयकुमारले ४४ हजार ५ सय २८ मत ल्याउँदै गर्दा संस फोरमका नेता अशोककुमारले २२ हजार एक सय २३ मत मात्रै ल्याएका छन् ।

विष्णु पौडेल

एमाले नेता विष्णु पौडेलले रुपन्देही क्षेत्र नम्बर दुईबाट नेपाली कांग्रेसका युवराज गीरीलाई दोब्बर मतले हराएका छन् । पौडेलले ४४ हजार ९ मत ल्याएर चुनाव जितेका छन् भने गीरीले २१ हजार ९ सय ४६ मत ल्याएका छन् ।

वर्षमान पुन

माओवादी नेता वर्षमान पुनले रोल्पामा कांग्रेसका अमरसिंह पुनलाई दोब्बर मतले हराए । पुनले ४० हजार मत ल्याउँदा अमरसिंहले १९ हजार मत ल्याए ।

धनबहादुर बुढा

डोल्पामा एमाले नेता धनबहादुरले कांग्रेसका अंगद बुढालाई तेब्बर भोटले हराएका छन् । एमाले नेता बुढाले ११ हजार ७ सय ६१ मत ल्याउँदै गर्दा कांग्रेसका बुढाले ३१ सय ६७ मत मात्रै ल्याएका छन् ।

महन्थ ठाकुर पनि

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर पनि दोब्बर मत ल्याएर विजयी भए । उनले महोत्तरी ३ मा एमालेका विजयकुमार चौधरीलाई दोब्बर मतले हराए । ठाकुरले २५ हजार मत ल्याउँदा एमालेका चौधरीले ८४ सय मत ल्याए ।[लोकान्तरबाट ]