Thursday 18th January 2018
  • New title for a=>html, img=>alt
  • डा. केसीको गिरफ्तारीले जगाएको संभावना

    January 11, 2018


    विपुल पोख्रेल 

     विसं २०४६ सालको जनआन्दोलन उत्कर्षमा पुग्दै थियो । दाङमा आन्दोलन चर्केन भन्ने गुनासोसँगै काठमाडौंबाट नेताहरूले आन्दोलन चर्काउन निर्देशन पठाए । त्यसपछि चैत्र २२ गते राति ९ बजेतिर बैठक बस्यो । त्यतिबेला नेविसंघमा क्रियाशील युवाको ठूलो समूह उपस्थित थियो त्यहाँ । म स्कूलमै पढ्थेँ । 

    बैठक गाँउको एउटा घरको मथिल्लो तलामा बस्यो । घरबाहिर २ जनालाई बस्न भनियो । सायद, सुरक्षाका लागि उनीहरूलाई ‘सेन्ट्री’ बसालिएको थियो । माथिको बैठक झन्डै ४५ मिनेट चल्यो । त्यहाँ निर्णय भयो – चैत्र २४ गते घोराहीको नीमा चलचित्र मन्दिर अगााडिबाट जुलुस सुरु गर्ने, सबै जना एकएक गर्दै कसैलाई शंका नहुनेगरी जुट्ने, संख्या धेरै देखिन थाल्यो भने, सिनेमाको टिकट काट्ने स्थानतर्फ लाइन लाग्ने । अनि अर्को महत्त्वपूर्ण निर्णय भयो, फलानो फलानो गिरफ्तार हुने, फलानो फलानो कुनै पनि हालतमा गिरफ्तार नहुने । 

    मैले यो पछिल्लो निर्णय बुझिन । किन त्यसरी कसैलाई गिरफ्तार हुने र कसैलाई कुनै पनि हालतमा गिरफ्तार नहुन भनियो ? गिरफ्तार भनेको त सजाय पो त । मैले बुझेको यही थिए । 

    पछि बुझेँ, जस्तोसुकै अवस्थामा पनि सम्झौता नगर्ने, थुनिदा पनि सरकारले कुनै कागजातमा चुकाउन नसक्ने दृढ संकल्प बोकेकालाई गिरफ्तारी दिन र जनतासँगको सम्पर्क बढाउन सक्ने र सूचना सम्प्रेषण गर्नसक्ने क्षमतालाई भएका बाहिर बस्न भनिएको रहेछ । 

    अनि अर्को कुरा पनि बुझेँ, गिरफ्तारी दिनु भनेको आन्दोलनलाई संगठित गर्न र चर्काउनका लागि रहेछ । 

    अहिले डा.गोविन्द के.सी.को गिरफ्तारीपछि मलाई त्यतिबेलाको घटना स्मरणमा आइरहेको छ । त्यो गिरफ्तारीको घटनाको एउटा उद्देश्य थियो – आन्दोलनलाई संगठित र चर्को बनाउने । गोविन्द केसीको गिरफ्तारीपछिको क्रियाप्रतिक्रिया हेर्दा, गिरफ्तारीको विपक्षमा र पक्षमै पनि विभाजित मत सुन्दा अब नेपालमा भ्रष्टाचार र माफियातन्त्रको विरुद्धको आन्दोलन संगठित हुन्छ कि भन्ने आशा पलाएको छ । समाजले निस्वार्थी र विश्वसनीय एउटा पात्र खोजिरहेको हुन्छ जस्ले सामाजिक आन्दोलनको अगुवाइ गरोस् । समाज राजनीतिक नेताको खोजीभन्दा यस्तै नेताको खोजीमा रहेको हुन्छ । 

    राजनीतिक नेतृत्वले समग्र राष्ट्रको नेतृत्व गर्दै गर्दा शक्तिको उपयोग, सदुपयोग, दुरुपयोग गर्ने गर्छ । शक्तिको यसप्रकारको उपयोग गर्दा समाजमा उत्पन्न हुने ‘साइड इफेक्ट’बाट समाजलाई जोगाउनका लागि हरेक समयले समकालीन सामाजिक अभियन्ता खोज्ने गर्छ । नेपालको सन्दर्भको कुरा गर्ने हो भने, प्रत्यक १० /१० वर्षमा कुनै न कुनै रूपमा सत्ता र पद्धतिमा परिवर्तन आइरहेको हुँदा त्यही परिवर्तनबाटै नेता जन्मने र उसले सामाजिक अभियन्ताको कामसमेत गर्ने अपेक्षा गरिँदै आइयो । तर, त्यो सम्भव हुन सकेन । 

    अब समयले डा.गोविन्द केसी नेपाली समाजलाई उपहार दिएको छ । यो उपहारको चमकले एउटा अपेक्षित तर, असंगठित आन्दोलनको थालनी गर्न सक्छ जस्ले खुला र उदार अर्थनीतिका कारण उब्जेको ‘साइड इफेक्ट’का रूपमा रहेको माफियातन्त्र, नीतिगत भ्रष्टाचार र आर्थिक अपारदर्शिताको संस्कृतिलाई निमिट्यान्न पार्ने अवस्था सिर्जना गर्न सक्छ । समाजमा अनौपचारिक एम्बुड्सम्यान(लोकपाल¬)को रूपमा उनी आफैँ उपस्थित हुन सक्छन् र उनका हजारौँ अनुयायी उत्पन्न हुन सक्छन् । 

    डा.केसीलाई लाग्ने आरोप दुईवटा छन् । एउटा, उनी कतैबाट प्रयोग भएका छन् । दोस्रो, उनी सत्याग्रही त हुन तर अनशन बस्ने कुरालाई हल्का बनाइदिए । अब उनमाथी लागेका दुईवटै आरोपका आधारमा उनलाई नियालौँ । 

    उनी कहीँबाट प्रयोग भएका छन् भने आरोपको धरातल हेरौँ । यो आरोप लगाउनेहरू कुनै न कुनै मेडिकल कलेजमा सेयरभएकाहरू नै छन् । संसद्मा कुनै बेला नेकपा (एमाले)का सांसदले उनको विरोधका आधारमा मेडिकल कलेज सम्बन्धन रोक्न नमिल्ने भन्दै त्यसो गरिए आफू पनि संसद् भवन अगाडि अनशन बस्ने चेतावनी दिएक