दुबै चुनाव एकै दिन गर्न सकिन्छ: प्रचण्ड

439

दुबै चुनाव एकै दिन गर्न सकिन्छ: प्रचण्ड

बुटवल,  साउन । सरकारको सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवको एक साता भित्र प्रदेश र केन्द्रको चुनावको मिति घोषणा गर्ने तयारी भईरहेको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले प्रदेश र केन्द्रको दुबै चुनाव एकै दिन गर्न सकिन्छ भन्नेमा प्रमुख राजनीतिक दलहरु पुगेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘दुबै निर्वाचन एकै दिन गर्न सम्भव छ भन्नेमा हामी प्रमुख राजनीतिक दलहरु पुगेका छौं ।’

पार्टी कार्यकर्ता प्रशिक्षणकालागि पाँच नम्बर प्रदेशको बुटवलमा आउनु भएका पार्टी अध्यक्ष दाहालसंग प्रेस सेन्टर रुपन्देहीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रदेश र केन्द्रको चुनाव एकै पटक गर्न सकिने निर्वाचन आयोगलाई सुझाव दिनुभयो ।

निर्वाचन आयोगले प्राविधिक समस्या देखाउँदै दुबै चुनाव एकै पटक गर्न नसकिने बताएको थियो । उक्त समस्या समाधानकालागि बढी मतदाता भएका स्थानमा सोही अनुसार बुथ बढाउन सकिने तथा प्रदेश र केन्द्रको समानुपातिकको मतपत्र एउटै बनाउन सकिने उहाँले तर्क गर्नुभयो ।

प्रदेश नं. २ मा तेस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी चुनावमा नआउनु राजपाकै लागि घाटा हुने बताउनु भयो । उहाँले भन्नुभयो–‘चुनावमा आउनु पर्छ, आउनु हुन्छ, आउनु भएन भने उहाँहरुलाई नै घाटा हुन्छ, पार्टी समाप्त हुने स्थिती आउँछ ।’ संविधान संशोधनको बिधयकलाई संसदमा निर्णयार्थ प्रस्तुत गर्ने सरकारको तयारी रहेको पनि उहाँले जानकारी गराउनु भयो ।

वेष्ट मिनिस्टरीयल प्रणालीमा अंगाडी बढ्दा स्थिरता हुँदैन भन्ने देखिएकाले उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा आफू लागेको र त्यसकालागि दवाव दिन समेत आग्रह गर्नुभयो । राष्ट्रिय स्वाधिनता सुदृणीकरणका हिसावले पनि कार्यकारी राष्ट्रपति आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो–‘हाम्रो देश नेपाल समाजवाद उन्मुख राज्य भएकाले पनि त्यसको आधार तयार गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जानुपर्छ ।’

हाल भईरहेको चुनावी प्रणाली बढी खर्चिलो भएको र यसले मुलुक दुईनम्बरी काम गर्नेहरुको हातमा जाने खतरा बढेको उल्लेख गर्दै उहाँले निर्वाचन प्रणाली सुधार गर्नुपर्ने धारणा राख्नुभयो । ‘निर्वाचन पूर्ण समानुपातिक भयो भने यसको अन्त्य हुन सक्छ ।’ अध्यक्ष दाहालले भन्नुभयो–‘यो बाहेक अरु कुनै बिधि छ भने पनि छलफल गरौं ।’

स्थानीय तहको चुनावमा माओवादी केन्द्रले सोचे अनुसारको परिणाम प्राप्त नगर्नुका पछाडी पार्टी बिभाजन र सांगठनिक अस्तव्यस्तता रहेको उल्लेख गर्दै उहाँले पार्टी विभाजन गरि बाहिरिएका नेताहरु मोहन बैद्य, बाबुराम भट्टराई तथा नेत्रबिक्रम चन्द बिप्लवसंग एकिकरणका लागी छलफल चलिरहेको बताउनु भयो । कार्यक्रम प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष भुबन कार्कीको अध्यक्षता र सचिब मोहन न्यौपानेको सञ्चालनमा भएको थियो ।