कांग्रेस र राजपाबीच मुख्य प्रतिस्पर्धा

695

कांग्रेस र राजपाबीच मुख्य प्रतिस्पर्धा

जनकपुरधाम/राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले निर्वाचनमा सहभागिता जनाउने घोषणा गरेसँगै प्रदेश नम्बर २ को सम्भावित राजधानी मानिएको जनकपुरमा स्थानीय तहको निर्वाचनका लागि चहलपहल वढेको छ ।

राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने प्रक्रियामा व्यस्त भएका छन् । प्रमुख राजनीतिक दलहरु देखि मधेस केन्द्रित राजनीतिक दलहरुले तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । प्रदेश नम्बर २ मा हुने निर्वाचननै सबै राजनीतिक दलहरुको शक्तिशाली बन्ने दाउ रहेका कारण राजनीतिक दलहरुले आफ्नो पुरा ताकत लगाउन थालेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक फोरम लगायतका दलहरु निर्वाचनमा केन्द्रित भएका छन् ।

उम्मेदवार चयन गर्दा सबै राजनीतिक दलहरुले जातिय बाहुल्यता, चुनावमा कसले बढी खर्च गर्न सक्ने, नेताहरुको विश्वासपात्र र ‘यस म्यान’को रुपमा रहने व्यक्तिहरु नै उम्मेदवारको सिफारिसमा परेका छन् । खास गरेर जनकपुर उपमहानगरपालिकामा मेयर पदका उम्मेदवारको सम्भावित सूचिहरु प्रस्ताव भएपछि अन्तिम टुङ्गो लगाउँदा जातिगत संरचना, खर्च गर्न सक्ने र नेताहरुको प्रिय पात्रको रुपमा रहेका व्यक्तिहरु नै प्राथमिकतामा पर्ने सम्भावना देखिएको छ ।

जनकपुर उपमहानगरपालिकाको मेयर पदमा कांग्रेस, राजपा, एमाले र माओवादीका उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएपनि मुख्य रुपमा राजपा नेपाल र नेपाली कांग्रेसका उम्मेदवार बीच नै मुख्य प्रतिस्पर्धा हुने स्थानीय अगुवाहरुले विश्लेषण गरेका छन् ।

जनकपुरमा साहुजी समुदायको बाहुल्यता रहेका कारण मेयरको उम्मेदवार उठाउँदा प्रायः जसो राजनीतिक दलहरुले साहुजी समुदायबाट उठाउन चाहेका छन् । जस्तै राजपा नेपालले जनकपुरमा मेयर पदका लागि उठाउने उम्मेदवारहरु मध्ये लालकिशोर साह, शिवशंकर साह, परमेश्वर साह, अमर पजियार लगायतका रहेका छन् ।

लालकिशोर साह विगतमा नेपाली कांग्रेसको नेविसंघको राजनीति गर्दै जनकपुरको राराब क्याम्पसमा स्ववियू उपसभापति हुनुका साथै प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याई जेलनेल गएका व्यक्ति हुन । जनकपुरमा विगतमा उपमेयर समेत भईसकेका साह पछिल्लो मधेस आन्दोलन हुँदा २०६२/०६३ मा नेपाली कांग्रेस परित्याग गरी सदभावनामा प्रवेश गरी मधेस केन्द्रित राजनीतिक आन्दोलनमा सहभागी भएका थिए ।

साह अहिले राजपा नेपालको प्रवक्ता हुनुका साथै परिपक्व नेताको रुपमा समेत स्थापित छन् । लालकिशोर साहलाई पछिल्लो संविधान सभाको निर्वाचनमा सदभावना पार्टीले समानुपातिक सांसदको रुपमा सिफारिस गरेको थियो । तर, धनुषाबाट माधवि रानी साहलाई सभाषद बनाइएको थियो ।

त्यसैगरी शिवशंकर साहको राजनीतिक पहिचान स्थापित हुन सकेको छैन । उनी व्यापारी नेताका रुपमा जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष हुुनुका साथसाथै प्रदेश नम्बर २ का बाणिज्य संघका अध्यक्ष हुन । यूवा माझ उनी लोकप्रिय रहेपनि राजनीतिक अनुभवको उनीमा कमि देखिन्छ । परमेश्वर साह तमलोपा धनुषाका संयोजक भएर लामो समय मधेस आन्दोलनमा नेतृत्व गरेका थिए । राजपा गठन हुँदा राजपा नेपालका संयोजक भएका साह अहिले केन्द्रिय सदस्य भएपनि धनुषामा राजपा नेपालको संयोजकमा संजय सिंह चयन भएका छन् ।

परमेश्वर साह संविधान सभाको प्रथम र दोस्रो निर्वाचनमा तमलोपाबाट धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवारी दिएपनि पराजित भएका थिए । अमर पजियार जग्गा व्यवसायी हुन । उनी भर्खर मात्र राजपा नेपालमा प्रवेश गरेका हुन । जनकपुरमा मेयरको टिकट पाउने उद्देश्यले पजियार राजपामा प्रवेश गरेको बताइन्छ ।

राजपा नेपाल धनुषाका संयोजक संजय सिंहका अनुसार अहिले कुनै पनि व्यक्तिको नाम टुङ्गो लागेको छैन । पार्टीको सम्पुर्ण नेता, पदाधिकारी, जिल्ला स्थित केन्द्रिय सदस्य, भातृ संगठन समेतको वैठकबाट टुङ्गो लाग्ने सिंह बताउँछन् । नेपाली कांग्रेस मधेसमा ठुलो पार्टीको रुपमा स्थापित रहँदै आएको छ । खास गरेर धनुषा त कांग्रेसको गढ नै हो । नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकामा मेयर तथा उपमेयर कुनै पनि हालतमा जित्नै पर्ने दाउका साथ अगाडी वढेको छ ।

विगतमा नेपाली कांग्रेसले जनकपुरको मेयरमा उठाएका आधिकारिक उम्मेदवार पराजित हुने र कांग्रेसको बागी उम्मेदवार नै निर्वाचित हुने परम्परा रहेकाले पनि विगतको परम्परा नदोहोरियोस भन्ने उद्देश्यका साथ नेपाली कांग्रेस सचेत भएर निर्वाचनमा होमिएको छ ।

नेपाली कांग्रेसको मेयर पदका लागि दिगम्बर राय, किशोरी साह, प्रफुल्ल राज घिमिरे, कन्हैया लाल कर्ण, धिरेन्द्र मोहन झा, श्याम साह, श्रीराम साह र मनोज साहलाई सिफारिस गरिएको छ । त्यसैगरी उपमेयरमा निलम कर्ण, इन्दिरा चौधरी, सम्झना बर्मा र अनिता श्रीवास्तवलाई सिफारिस गरिएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रफुल्ल राज घिमिरेले दिएको जानकारी अनुसार २४ वडाका वडा समितिको संरचना अनुसार कांग्रस कमिटिले सिफारिस गरेको नामलाई जनकपुर उपमहानगरपालिकाको नगर समिति र धनुषा क्षेत्र नं. ४ को क्षेत्रिय समितिले सिफारिस गरेको अनुसार ती नामावलीहरु धनुषाका कांग्रेस सभापति रामसरोज यादवलाई बुझाइएको छ । सिफारिस गरिएका ती नामहरु मध्ये अन्तिम टुङ्गो लगाउन कांग्रेस धनुषा सभापति यादव काठमाण्डौ पुगेका छन् । कांग्रेसको केन्द्रिय कमिटिले नाउँको टुङ्गो लगाउने बताइएको छ ।

धनुषामा उम्मेदवारको टुङ्गो लगाउन केन्द्रिय कमिटिलाई जिम्मा दिइएपनि कांग्रेसका नेता विमलेन्द्र निधिले रोजेको उम्मेदवार नै अन्तिम हुने बताइएको छ । जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि मनोज साहको नाम नै चयन हुने सम्भावना रहेको छ ।

विमलेन्द्र निधि कांग्रेस धनुषा सभापति रामसरोज यादवको सिफारिसलाई नै अनुमोदन गर्नेछन् । र, यादवको विश्वासपात्र उम्मेदवारको रुपमा मनोज साह नै रहेका छन् । त्यसैले मनोज साह नै कांग्रेसको जनकपुरमा मेयर पदको लागि उम्मेदवारको रुपमा चयन हुने सम्भावना प्रवल रहेको कांग्रेस धनुषाका नेताहरु बताउँछन् ।

मनोज साह कांग्रेसमा धेरै नै कनिष्ठ रहेको र बरिष्ठ नेताहरुलाई माइनस गर्न खोजिएको भन्दै कांग्रेसकै अधिकांश नेताहरुले असन्तुष्ट छन् । नेपाली कांग्रेसका एकनेताका अनुसार राजपा नेपालले उठाउने उम्मेदवारले पनि कांग्रेसले जित्ने वा नजित्ने निर्भर रहन्छ । राजपा नेपालले लालकिशोर साहलाई मेयरको रुपमा टिकट दिएमा साहले कांग्रेसको अर्को खेमा रामचन्द्र पौडेल पक्षका नेताहरुको समेत भोट पाउने सम्भावना रहन्छ ।

स्थानीय तहको चुनावमा पहिलो पार्टी बनेको नेकपा एमालेले पनि जनकपुरको मेयर जित्ने बताउदै आएको छ । २ नम्बर प्रदेशमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न एमालेका नेताहरु जनकपुरमा केन्द्रित भएका छन् । केही दिन अगाडि मात्र जनकपुर पुगेका एमाले बरिष्ठ नेता माधवकुमार नेपाल सहभागि कार्यक्रममा राजपाका कार्यकर्ताले अबरोध गरेका थिए ।

एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले राजपाको अबरोधका बाबजुद एमाले प्रदेश २ मा पहिलो पार्टी बन्ने दावी गरेका छन् । स्थानीय निर्वाचनमा तेस्रो स्थानमा रहेपनि प्रदेश २ मा पहलिो पार्टी बन्ने भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु तराइका जिल्लामो दौडाहामा लागेका छन् ।

प्रचण्डले जनकपुरमा बसेर स्थानीयसँग भलाकुसारी गर्ने गरिरहेका छन् । माओवादी केन्द्रका नेता अजय शंकर नायकले प्रदेश नम्बर २ मा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दावी गर्छन ।

प्रदेश नम्बर २ मा चुनावी घमाशान

असोज २ गते प्रदेश नम्बर २ को १ सय ३६ स्थानीय तहमा निर्वाचन हुँदैछ । प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह कायम भएका छन् । प्रदेश नम्बर २ को निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता रहेका छन् ।

६ हजार ६२७ जनप्रतिनिधि

स्थानीय तहको तेस्रो चरणको निर्वाचनबाट ७७(७७ प्रमुख र उपप्रमुख, ५९(५९ अध्यक्ष र उपाध्यक्ष, एक हजार २७१ वडाध्यक्ष तथा महिला, दलित र खुला गरी पाँच हजार ८४ वडा सदस्य निर्वा्चित हुनेछन् ।
निर्वाचनको परिणाममा कसले बाजी मार्ने भन्ने विषयमा चुनावी रणनीति बनाउन अहिले राजनीतिक दल अत्यन्तै व्यस्त छन् । स्थानीय तहको निर्वाचनका सन्दर्भमा त्यस क्षेत्रका जिल्लामा यही भदौ ७ गतेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ भने निर्वाचन अधिकृतको कार्यालय सोमबारदेखि खुल्नेछ ।

भदौ २१ मा मनोनयन दर्ता

निर्वाचनका लागि आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम बनाएको छ । नेपालको संविधानका केही अन्तरवस्तुप्रति विमति जनाउँदै आन्दोलन चलाउँदै आएको राष्टिूय जनता पार्टीले पनि आफ्नो सम्पूर्ण साधन, स्रोत र शक्ति अब स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरिसकेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकारले त्यस क्षेत्रको शान्ति सुरक्षाको व्यवस्थालाई चुस्त तुल्याउन नेपाली सेनाको समेत संलग्नता रहने व्यवस्था मिलाएको छ ।

निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन अघिल्ला निर्वाचन जस्तै प्रदेश नं २ मा पनि प्रमुख राजनीति दलबीचमै चुनावी तालमेल हुन सक्ने संकेत देखिएको छ । तालमेलकै कारण दलहरुले उम्मेदवारको घोषणा गरेका छैनन् । माओवादी अध्यक्ष प्रचण्डले एमाले बाहेकका दलहरुसँग तालमेलको सम्भावना रहेको बताएका थिए {सभार लोकान्तर}