अपराधको ८० प्रतिशत हिस्सा लागुपदार्थ दुव्र्यसनको

565

अपराधको ८० प्रतिशत हिस्सा लागुपदार्थ दुव्र्यसनको

बुटवल, २६ साउन । बुटवल जेसिजले सञ्चालन गरेको साताव्यापी जेसिज सप्ताह शनिबार समापन गरेको छ । लागुपदार्थ दुव्र्यसन बिरुद्ध साताव्यापी अभियान सञ्चालन गरेको बुटवल जेसिजले समापनका अवसरमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लागुपदार्थ दुव्यसन विरुद्ध अव नगरपालिकाले दायित्व लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बुटवल उमहानगरपालिका भित्रका सबै वडामा बजेट छुट्याएर दुव्र्यसन विरुद्ध गतिबिधिहरु सञ्चालन गर्ने बताउँदै त्यसमा साथ दिन र सहयोग गर्न सामाजिक संघसंस्था र नगरबासीलाई आह्वान गर्नुभयो ।

मुलुकमा समृद्धिको यात्रा सुरु भएको र लागुपदार्थ दुव्र्यसन पनि समृद्धिको बाधाको रुपमा खडा भएकाले लागुपदार्थ दुव्यसन न्यूनिकरण नगरी समृद्धिको लक्ष्यमा पुग्न नसकिने उहाँको भनाई थियो । कार्यक्रममा नार्कोन दक्षिण एसियाका प्रमुख तथा पूर्व प्रहरी संगठनका अध्यक्ष बसन्त कुवँरले लागुपदार्थ दुव्र्यसन बढ्दैगयो भने शहर बिनास नै गराउन सक्ने बताउँदै न्यूनिकरणकालागि गुरुयोजना बनाएर अंगाडी बढ्न नगरपालिकालाई सुझाव दिनुभयो ।

उहाँले अपराधको ८० प्रतिशत हिस्सा लागुपदार्थ दुव्यसनको भएको बताउँदै यसको निराकरणकालागि सबैभन्दा पहिले अहिलेसम्म दुव्र्यसनमामा नफसेकालाई जोगाउनु पर्ने, लागुपदार्थ सेवन गरेकाहरुको पहिचान गर्नुपर्ने, पहिचान भएकालाई व्यबस्थापन तथा उपचार गर्नुपर्ने, उपचारपछि आएकालाई पुनः सेवन गर्न रोक्नुपर्ने र बेचविखन गर्नेलाई कानुनी उपचार गर्नुपर्ने बताउनु भयो ।

लागु पदार्थ ३ हजार ५ सय भन्दा बढी बस्तुबाट प्राप्त हुने जानकारी गराउँदै उहाँले लागुपदार्थ पनि विष हो भन्ने जानकारी नहुँदा युवायुवती यसको कुलतमा फसेको उल्लेख गर्नुभयो । दुव्र्यसनमा फसेकालाई मुल बाटोमा ल्याउने काम भने त्यति सहज छैन । लागुपदार्थ सेवन तथा ओसार पसार र वेचविखन गर्नेलाई कारवाही हुँदै आएको छ । तर कारवाही भोगेको व्यक्ति त्यसपछि कहाँजान्छ भन्ने कुराको गहिरो अध्ययन गर्नुपर्ने अधिवक्ता महेन्द्र पाण्डे बताउनु हुन्छ ।

बुटवल तथा आसपासका क्षेत्रमा लागुपदार्थ दुव्र्यसनले विकराल रुप लिँदै गएकाले यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने हेतुले बुटवल जेसिजले लागुपदार्थ दुव्र्यसन बिरुद्ध साता व्यापी कार्यक्रम गरिएको अध्यक्ष यमप्रसाद तिवारीले जानकारी गराउनु भयो ।

बुटवल जेसिजले प्रत्येक वर्ष गर्दै आएको जेसिज सप्ताह अन्तरगत यो वर्ष जेसिज सप्ताहमा लागुपदार्थ दुव्यसन बिरुद्धका कार्यक्रममा केन्द्रित भएको हो । यहि साउनको २० गतेदेखि सुरु भएको सप्ताहमा बुटवल तथा आसपासका कलेजहरुमा जेसिजले साताव्यापी रुपमा लागुपदार्थ दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको जेसिज सप्ताहका संयोजक नरदेव न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रमको सञ्चालन बुटवल जेसिजका महासचिव चन्द्रमणी भुसाल र नेपाल जेसिजका प्रशिक्षक रमेश अर्यालको सञ्चालनमा भएको थियो । कार्यक्रममा बुटवल नगरपालिकाका वडा अध्यक्षहरु, बिभिन्न संघसंस्थाका प्रतिनीधि तथा किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।