Wednesday 13th December 2017
  • New title for a=>html, img=>alt
  • बम आक्रमणमा परेका उम्मेदवार कार्कीकोअस्पतालको बेडबाट मतदातासंग अपिल

    December 4, 2017


    काठमाडौं,१८ मंसिर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा उदयपुर क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेद्वार नारायणबहादुर कार्कीले महाराजगञ्जस्थित शिक्षण अस्पतालको शैंयाबाट शान्ति,समृद्धि,लोकतन्त्रको संरक्षण,संविधानको कार्यान्वयन र विकासको लागि नेपाली कांग्रेसलाई मत दिन अपिल गर्नुभएको छ ।

    निर्वाचन प्रचारको क्रममा रहनुभएका उम्मेदवार कार्कीलाई लक्षित गरी निर्वाचन विथाल्ने र लोकतन्त्रवादी उम्मेदवार,कार्यकर्ता तथा मतदाताहरुलाई त्रसित बनाई चुनावको परिणाम आफ्नो पक्षमा पार्न चाहने तत्वहरुले मंसिर १३ गते उदयपुरको गढी गा.पा. वडा नं. ६ मा उहाँलाई लक्षित गरी प्रहार गरेको बम विष्फोटमा परि घाइते हुनुभएका उम्मेद्वार कार्की शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ ।

    बम प्रहारबाट उहाँ गम्भीर घाइते हुनुभएको छ । उहाँको अनुहार र खुट्टामा गहिरो चोट लागेको छ । उहाँको उपचारमा संलग्न डाक्टर रोहित पोख्रेलका अनुसार उहाँको दाहिने खुट्टाको नलीहडडी र गोडा भाँचिएको छ । छाला जलेको छ । देब्रे खुट्टाको कुर्कुच्चा भाँचिएको छ । दायाँ हातमा चोट लागेको छ । रगत कम छ । उहाँलाई क्रिटिकल टिमले हेरिरहेको छ ।

    निर्वाचन उत्कर्षमा पुग्न लागेको बेलामा घाइते भएर अस्पतालमा बेचैनीका साथ बस्नुभएका उम्मेदवार कार्कीले आफू मतदाताहरुको घरदैलोमा जाने क्रममा आततायीहरुको आक्रमणमा परेर अस्पतालमा बस्न परेको उल्लेख गर्दै आम नेपालीको शान्ति,विकास र समृद्धिको सपनालाई साकार पार्न मंसिर २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरी अध्यधिक बहुमतले जिताउन आग्रह गर्नुभएको छ ।

    उहाँले आफूलाई नेपाली जनताले दोस्रो संविधान सभाको निर्वाचनमा दिएको जनादेशलाई शिरोपर गरी संविधान निर्माणको कार्य सफल गराएको उल्लेख गर्दै पार्टीले अगाडि सारेको समृद्धिको अभियानलाई साकार पार्न र निर्वाचन क्षेत्रमा सडक, खानेपानी ,सिंचाई, अस्पताल, शिक्षा लगायतका विकासका पूर्वाधारहरु पु¥याउन पार्टीले यसपटक पनि उम्मेदवार बनाएकोले सो जिम्मेवारी निर्वाचनमा विजयी भएपछि पूरा गर्ने बताउनुभएको छ ।

    नेका उम्मेदवार कार्कीले आफ्नो क्षेत्रका सम्पूर्ण उम्मेद्वारहरुसंग प्रत्यक्ष भेटेर मत माग्ने चाहना हुँदाहुदै पनि लोकतन्त्र विरोधी आक्रमणकारीको निशानामा परेर अस्पतालमा थन्कन परेको उल्लेख गर्दै पार्टीका जिल्ला नेताहरु र आफूप्रति माया गर्ने सबैले निर्वाचन अभियानलाई सुचारु गर्नुभएकोमा आभार व्यक्त गर्दै निर्वाचनका दिन र मतगणनासम्म सो उत्साह र सक्रियता जारी राख्ने विश्वास गर्नुभएको छ । उहाँले आफ्नो क्षेत्रका सबै गाँउ र नगरका वडा वडाका बासिन्दाहरुको आवश्यकता र आकांक्षाका बारेमा आफूलाई राम्रो जानकारी भएको उल्लेख गर्दै जनताका समस्याको समाधान र विकासको चाहनालाई अब आउने नेपाली कांग्रेसको सरकारले पूरा गर्ने बताउनुभयो ।

    उहाँले नेपाली जनताले ७० बर्षभन्दा लामो समय संघर्ष र आन्दोलन गरी ल्याएको संविधानको कार्यान्वयन, व्यक्तिका मौलिक स्वतन्त्रता,सम्पत्ति आर्जन गर्ने,उपभोग गर्ने र वेचविखन गर्ने सम्पत्तिको अधिकारको रक्षागर्ने भएकोले नेपाली कांग्रेसलाई मतदान गरी बहुमत दिन समस्त मतदातासमक्ष आग्रह गर्नुभएको छ ।

    उहाँले नेपाली कांग्रेसलाई अमूल्य मत दिएर विजयी गराई देश र जनतालाई समृद्ध पार्ने सपना साकार पार्ने अवसर दिन पनि मतदातासंग अनुरोध गर्नुभएको छ ।

    उहाँसँगै चुनाव प्रसारमा रहनु भएका निरा कटुवाल, धनमाया धौलाकोटी, राजन कार्की सहित अन्य ३ जना घाइते हुनु भएको थियो । निरा कटुवालको गोडा काम नलाग्ने भएकोले काटेर फाल्नु परेको छ ।