व्यापारी न्यौपाने माथि गोली प्रहार गर्ने भारतीय पक्राउ

264

व्यापारी न्यौपाने माथि गोली प्रहार गर्ने भारतीय पक्राउ

भैरहवा, २५ भदौ । सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोली प्रहार गर्ने, ज्यानमार्ने डर धम्की देखाई मोटो चन्दा रकम असुली गर्ने भारतीयमुलका एक कुख्यात अपराधीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आईतवार भैरहवामा सार्वजनिक गरेको छ ।

भारत रक्सौल नगरपालिका १ मोतिहारीका अरविन्द यादव भन्ने बब्लु तिवारीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । अपराधी सार्वजनिक गर्दै रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले अभियुक्त यादव ज्यान मार्ने, लागु औषध कारोवार, चन्दा असुली एवं साईवर अपराधमा संलग्न रहेको पाईएकोले कानुन वमोजिम मुद्धा दर्ताको प्रक्रिया अगाडी बढाईएको जानकारी दिनुभयो ।

गत मंसिर २१ गते व्यापारी न्यौपानेमाथि गोली प्रहार गर्ने र अर्का व्यापारी विष्णु शर्मालाई ज्यान मार्ने धम्की दिएर मोटो रकम असुली गरेको, नेपाल–भारत सिमा क्षेत्रमा लुकिछिपी वसेर लागु औषध कारोवार गर्ने, फोन एसएमएस मार्फत धम्की दिएर पैसा असुली गर्ने व्यक्ति यादव नै भएको पीडित पक्षले समेत पहिचान गरेको प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनु भयो । भारतमा पनि विभिन्न घटनामा कार्वाहीमा परि फरार भएको अनुसन्धानमा फेला परेको र घटना वयानका क्रममा समेत हातको औलाको ल्याप्चे (फिंगर प्रिन्ट) मिलेकाले यादव कुख्यात अपराधी भएको पुष्टी भएको एसपी ज्ञवालीले बताउनु भयो ।

यादव भारत महाराजगंज थाना सुनौली ग्राममा २०६६ साल असार २ गते लागु औषध ब्राउन सुगर र हातहतियार अभियोगमा कार्वाही पाईसकेका व्यक्ति हुन । उक्त सजायपछि पनि उनी सिमावर्ती क्षेत्रमा वसी नेपालमा आपराधिक गतिविधि वढाउंदै आएको अनुसन्धान अधिकारीले बताए । लागु औषध नियन्त्रण व्युरो कोटेश्वरले पनि यादवलाई काठमाण्डौंमा नियन्त्रणमा लिएको र अनुसन्धानका क्रममा विभिन्न घटनाहरुमा समेत संलग्नता रहेको पाईएकोले यादव कुख्यात अपराधी भएको तथ्य पत्ता लागेको एसपी ज्ञवालीले बताउनु भयो ।

रुपन्देही प्रहरीले यादव माथि ज्यानमार्ने उद्योग र हतहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्धा लगाएको छ । अभियुक्तलाई सार्वजनिक गर्दा सिमावर्ती भारतका सुरक्षाकर्मी एवं गुप्तचर विभागका ब्यक्तिहरु समेत सहभागि थिए । गोपनियता र सुरक्षा संवेदनसिलताका हिसावले भारतीय सुरक्षा अधिकारी एवं गुप्तचरको नाम भने सार्वजनिक गरिएन ।