गुल्मी काँग्रेसको ५० दिने महाअभियान

275

गुल्मी काँग्रेसको ५० दिने महाअभियान

गुल्मी, ३ बैशाख । नेपाली काँग्रेस गुल्मीको आयोजनामा “गाउँ जाउँ गाउँमै रमाउँ” भन्ने ५० दिने महाअभियान सुरु भएकोे छ । उक्त महाअभियान नयाँ बर्षको अवसरमा २०७५ बैशाख १ गते देखि सुरु भएको हो । महाअभियान कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गर्नुभएको थियो ।

५० दिने महाअभियानलाई सफल बनाउनका लागि गुल्मी जिल्लाका ९३ वटा वडामा ९३ जना प्रतिनिधिहरु खटाइएको छ । अभियान अन्तर्गत नव वर्षको अवसरमा विभिन्न ठाउँमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । महाअभियान अन्तर्गत जिल्लाका ९३ वटै वडा कार्यसमितिमा रिक्त रहेका पदलाई पूर्णता दिने, नेपाली काँग्रेसका सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने र स्थानीय जनताको समस्या, आवश्यक्ता र अवस्थाको बारेमा बुझेर समाधानका लागि सम्वन्धित निकायको ध्यानाकर्षण गराईने छ ।

५० दिने महाअभियान श्रम सहितको आवासीय कार्यक्रम रहेको हुंदा अभियानलाई अविस्मरणीय बनाउनको लागि वडामा खटिएका प्रतिनिधिहरु सामाजिक काममा समेत संलग्न हुनेछन् । ५० दिने महाअभियान अन्तर्गत सङ्गठन विस्तार, सुदृढीकरण एवम् सशक्तिकरणका लागि “जनतासंग नेपाली काँग्रेस” भन्ने मूल नारा तय गरिएको छ । यो नारालाई स्थापित र कार्यान्वयन गर्नका लागि पार्टीका गाउँ तह देखि जिल्ला तहका कार्यकर्ताहरुलाई पार्टीको सिद्धान्त, नीति र विचारमा प्रशिक्षित गर्दै जनताको घरदैलोमा नेपाली काँग्रेसलाई थप उर्जाशील बनाउने प्रमुख लक्ष्य रहेको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

महाअभियान अन्तर्गत नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई क्रियाशील बनाई सङ्गठनलाई चुस्त बनाउने, लैङ्गिक, जातीय, वर्गीय विभेद तथा सामाजिक कुसंस्कार विरुद्ध जनजागरण अभिवृद्धि गर्ने, ग्रामीण समस्याहरु अनुभुत गर्दै तिनको समुचित समाधानमा आवाज वुलन्द गर्ने, जिल्ला देखि स्थानीय तहसम्म छाँया सरकार गठन गरी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने, र क्रियाशील सदस्यताको परिचय पत्र वितरणलाई उत्सवका रुपमा मनाउँदै कार्यकर्ताहरुमा उत्साह जगाईने छ ।

यस्तै पार्टीलाई पुनर्जीवन दिन, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारी मार्फत कार्यकर्ताहरुलाई एकत्रित गरी संरक्षण गर्न, धर्म, संस्कृति र कलाको जगेर्ना गर्ने, आध्यात्मिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरुको संरक्षण सम्वद्र्धनमा सहयोग पु¥याउन र सबै कार्यकर्ता तथा सदस्यहरुको रेकर्ड अद्यावधिक गरिने छ । ५० दिने महाअभियान ७ हप्ते कार्यक्रमलाई २ चरणमा विभाजन गरि पहिलो चरणको कार्यक्रम बैशाख १ गते देखि सुरु गरिएको हो ।

सुरुका तिन हप्तामा विभिन्न कार्यक्रमहरु गरिने र चौथो हप्ता समग्र कार्यक्रमहरुको समिक्षा र प्रतिनिधिहरुको प्रतिवेदन प्रस्तुत बी.पी. स्मृति भवन तम्घासमा गरिने छ । पहिलो चरणको समिक्षा पश्चात दोस्रो चरणको कार्यक्रम तालिका निर्माण गरिने पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिनुभयो । महाअभियान कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सम्पूर्ण पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुलाई खटाईएको छ ।