हाट वजारको फोहोर घरको चुलोसम्म

706

हाट वजारको फोहोर घरको चुलोसम्म

श्याम पोखरेल/
बुटवल, १५ पुस । तपाई सचेत रहनुहोला अन्यथा हाटवजारको फोहोरले स्वास्थ्य विग्रन सक्छ । किनकी हाटवजारको धुलोधुवाका किटाणुसंगै फोहोरमैला तपाई हाम्रो चुलो चौकोसम्म पुग्ने गरेको छ । पहिलेदेखि अहिलेसम्म रुपन्देहीका सबै हाटवजार खुल्ला आकाशमुनीको फोहोरमा सञ्चालन गरिएको छ ।

खुल्ला आकाशमुनीको फोहोर ठाउंको हाटवजारका कारण मानिसको स्वास्थ्यमा प्रतिकुल असर परेको छ । रुपन्देहीको सबै ठाउंमा सञ्चालित हाटवजारहरु खुल्ला रुपमा सञ्चालन गरिएको छ । हाटवजारहरुबाट खरिद गरिएको तरकारी लगायत अन्य खाद्यवस्तु प्रयोग गरिंदा स्वास्थ्यलाई असर गर्नेगरेको स्वास्थ्य कर्मीहरुले बताउंदै आएका छन् ।

फोहोरो तथा धुलोधुवा र स्वास्थ्यलाई असरगर्ने किटाणुहरु उपभोक्ताको चुलोसम्म पुग्ने गरेकाले सचेत रहनुपर्ने स्वास्थ्य कर्मीहरुको भनाई छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले हाटवजारहरुको फोहोरले मानिसको स्वास्थ्यमा असर गरेको बताउनु भयो । उहाँले स्वासप्रसावसमा खराव हुंदा रुघाखोकी, ब्रोनकाईटिस, निमोनिया हुने र क्यान्सर समेत हुने भएकाले सचेत हुनुपर्ने बताउनु भयो ।

साप्ताहिक रुपमा रुपन्देहीको विभिन्न ठाउंमा सञ्चालित १ सय १५ हाटवजार खुल्ला रुपमा सञ्चालन गरिएको छ । खुल्ला आकाशमुनी अव्यवस्थित रुपमा सञ्चालन गरिएका हाटवजजार उपभोक्ता मुखि भएपनि स्वास्थ्यका हिसावले राम्रो मानिदैन ।

हाटवजारबाट खरिद गरिएको तरकारी लगायत सबै खाद्यवस्तुमा फोहोरका किटाणु हुने भएकाले राम्रोसंग सफा गरेर प्रयोग गर्नुपर्ने डा. प्रकाश बुढाथोकीले बताउनु भयो । रुपन्देहीका कूनैपनि हाटवजारहरु व्यवस्थित नभएकाले स्थानीयले व्यवस्थित गर्न माग गरेपनि आधिकारिक निकायबाट सुनुवाई हुन सकेको छैन ।

हाटवजार चलाउनेहरुले उपभोक्ताको स्वास्थ्यलाई ख्याल नगरेको उपभोक्ता कृष्ण क्षेत्रीले बताउनु भयो । ठाउंठाउंका स्थानीयले हाटवजार व्यवस्थित गर्न माग गरेपनि व्यवसायीले खुल्ला आकाशमुनी व्यवसाय गर्दै आएका छन् । व्यवसायीलाई पैसा कमाउने मात्र ध्यान भएको र राज्यको आधिकारिक निकायले कूनै चासो नदिंदा बाध्यताले अस्वस्थ्यकर खाद्य सामाग्री खानुपरेको उपभोक्ताले गुनासो गरेको छन् ।

उपभोक्ताको स्वास्थ्य र व्यवसायीको समस्यालाई बुझेर हाटवजारलाई उचित व्यवस्थापन गर्नका लागि स्थानीय निकायलाई हारगुहार गर्दापनि कुनै सुनुवाई नभएको हाटवजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेकबहादुर जीसीले बताउनु भयो । २०५४ सालदेखि बुटवल लगायत जिल्लाका सबै हाटवजारलाई सटर सिस्टम लैजानका लागि माग गरिएपनि मागको कुनै सुनुवाई नभएको अध्यक्ष जीसीको भनाई छ ।

हाटवजारलाई व्यवस्थित गरेर उपभोक्तालाई सफा र स्वच्छ सामान उपलब्ध गराउने मनसाय रहेपनि सरकारको तर्फबाट कुनै सहयोग नभएकाले समस्या भएको अध्यक्ष जीसीले बताउनु भयो । स्थानीय निकायले हाटवजार व्यवस्थापनमा ध्यान नदिएकाले हाटवजार व्यवसायी संघले मात्र व्यवस्थापन गर्न नसेको व्यवसायीले बताउँछन् । जसका कारण धुलोधुवा र फोहोर लागेको तरकारी लगायतका खाद्यवस्तु किन्न उपभोक्तालाई बाध्य छन् । स्वास्थ्यलाई ख्याल गरेर हाटवजारहरु सञ्चालन गर्न स्थानीयले आग्रह गरेपनि स्थानीयको मागलाई कसैले सुनेको छैनन् ।