प्रदेश पाँचः स्वास्थ्यमा प्रदेश सरकारको बजेट

473

प्रदेश पाँचः स्वास्थ्यमा प्रदेश सरकारको बजेट

बुटवल, २ असार । दुर्घटनामा परि अंगभंग हुनेहरुको सहज उपचारकालागि ट्रमा सेन्टर स्थापना गर्न सरकारले २ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार प्रदेश पाँच प्रदेश सभामा विनियोजित बजेट सार्वजनिक गर्दै दाङको लमहीमा ट्रमा सेन्टर स्थापना गर्नकालागि उक्त बजेट विनियोजन गरिएको मुख्य मन्त्री शंकर पोखरेलले बताउनु भयो ।

स्थानीय तहमा स्वास्थ्य सेवाको क्षमता अभिबृद्धि गर्न अभिमुखिकरण तालिम, हाईड्रोसिलको निःशुल्क उपचार तथा आमा सुरक्षा कार्यक्रमका लागि पनि बजेट बिनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्य मन्त्री पोखरेलले बताउनु भयो । थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको उपचार तथा अनुसन्धान, थालासेमिया रोग सम्बन्धि निदान र जनचेतनाकालागि सरकारले १ करोड बजेट बिनियोजन गरेको छ ।

त्यस्तै प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्न दुर्गम क्षेत्रमा स्वास्थ्य शिबिर सञ्चालनकालागि १ करोड बजेट बिनियोजन भएको छ । सुरक्षित मातृत्वकोलागि बर्थिङ् सेन्टरहरुको सुधार तथा नयाँ स्थापनाकालागि सरकारले १ करोड बजेट विनियोजन गरेको छ । प्रदेश मातहत सञ्चालित अस्पतालहरुको सुदृढिकरणकालागि ३ करोड तथा अस्पतालहरुमा पोष्टमार्टम र मर्चरी रुम निर्माणकालागि सरकारले २ करोड ४० लाख रुपैंया बजेट विनियोजन गरेको छ ।

सरकारले बिशिष्टकृत स्वास्थ्य सेवा प्रवद्र्धनकालागि विशेषज्ञ सेवा बिस्तार तथा आधुनिक सुविधायुक्त प्रादेशिक अस्पताल निर्माण गर्न २ करोड १० लाख तथा प्रदेश पाँचमा रहेका तीन वटा अञ्चल अस्पताललाई आईसियु सहितको ए ग्रेडको एम्बुलेन्स व्यबस्था गर्न १ करोड ५० लाख रुपैंया बजेट बिनियोजन गरेको छ ।

स्वास्थ्य संस्थालाई आवश्यक उपकरणहरु उपलब्ध गराउने गरि ५० बेडका सरकारी अस्पतालहरुमा अनिवार्य रुपमा २ वटा एम्बुलेन्स व्यबस्था गर्नुपर्ने र त्यसकालागि सरकारले २ करोड ८६ लाख बजेट बिनियोजन गरेको छ । प्रदेश पाँचका जिल्लामा रहेका अस्पतालहरु र प्राथमिक स्वास्थ्य केन्द्रहरुमा एक्स–रे र भिडियो एक्स–रे व्यबस्था गर्न १ करोड ५० लाख बजेट बिनियोजन भएको छ ।

दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य प्रयोगशाला सेवा बिस्तार र जनताको सहज पहुँच स्थापनाकालागि सरकारले २ करोड रुपैंया बजेट बिनियोजन गरेको छ । त्यस्तै प्रदेश भित्रका स्वास्थ्य संस्थाहरुको गुणस्तर सुदृणिकर कार्यक्रमकालागि ३ करोड बजेट बिनियोजन भएको छ ।

सरकारले गरिव घर परिवारका बालबालिकालाई कुपोषणबाट बचाउनकालागि न्यून आय भएका सुत्केरी महिलालाई पहिलो दुई सन्तानसम्म आमा शिशुको स्वास्थ्य सुरक्षाकोलागि पोषण भत्ताकालागि बजेट बिनियोजन भएको छ । त्यस्तैगरी सरकारले आयुवेर्दिक चिकित्साको विकास तथा पर्वद्धन गर्नकालागि १ करोड ४५ लाख बजेट विनियोजन गरेको छ । यस अन्तरगत आयुवेर्दिक चिकित्सासंग सम्बन्धित बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बजेटमा उल्लेख छ ।