Thursday 20th September 2018
  • New title for a=>html, img=>alt
  • कालाजारको संक्रमण बढ्दो अवस्थामा : सरकारलाई चुनौती

    June 30, 2018


    कबिन्द्र नेपाल/
    बुटवल, १६ असार । सन् २०१४ अंगाडीसम्म विरगञ्ज पुर्वका १३ जिल्लामा मात्रै कालाजारको संक्रमण रहेको तथ्याङ्क सहित सरकारले उन्मुलनका कार्यक्रमलाई देशको पूर्वी क्षेत्रमा मात्रै केन्द्रत गरेको थियो । तर बिरामी पश्चिम क्षेत्रमा पनि थिए । कालाजारका बिरामीको उपचार पनि भईरहेको थियो । यद्यपी अस्पतालले त्यस्ता बिरामीको तथ्यांक राखेका थिएनन् । त्यस समयमा सरकारका कार्यक्रम पूर्वमा मात्रै केन्द्रित भएकाले पश्चिमका बिरामी प्रभावकारी उपचार सेवाबाट वञ्चित थिए ।

    सन् २०१४ (२०७१ जेठ २५ गते) मा प्युठानका २५ वर्षीय युवा कालाजार उपचारकालागि लुम्बिनी अञ्चल अस्पताल आए । अस्पतालमा त्यसको औषधी थिएन । अस्पताले औषधी मगायो । तर सरकारले एक जनालाई मात्रै औषधी पठायो । त्यसको एक महिना नपुग्दै त्यसै जिल्लाबाट थप दुईजना बिरामी कालाजार उपचारकाका लागि लुम्बिनी अञ्चल अस्पताल आए । अस्पतालमा औषधी नभएका कारण उनीहरुलाई काठमाण्डौ रिफर गरियो । त्यसपछि सरकारले लुम्बिनी अञ्चल अस्पतालमा ३÷४ जनाकालागि औषधी पठायो । सन् २०१४ मा लुम्बिनी अञ्चल अस्पताल ४ जना र पाल्पाको मिसन अस्पतालमा गरि ३ जनाको गरी सात जना कालाजार भएका बिरामी उपचार यो ।

    यिनै दुईवटा अस्पतालमा सन् २०१५ मा ६ जना, सन् २०१७ मा ३३ जना र सन् २०१८ को ६ महिनाको अवधिमा १८ जना कालाजारका बिरामीको उपचार भईसकेको छ । यसले कालाजारको संक्रमण बढ्दो अवस्थामा देखाउँछन् । कालाजार उन्मुलनकालागि सरकारले सन् २०१५ सम्ममा प्रत्येक १० हजार जनसंख्यामा १ जना भन्दा कममा झार्ने लक्ष्य लिएका थियो । तर यस क्षेत्रको कालाजारको तथ्यांकले सरकारलाई चुनौति दिईरहेको छ ।

    अहिलेसम्म यस क्षेत्रमा ९१ जना आएका कालाजारका बिरामी मध्ये २ जनाको ज्यान गएको छ । सरकारले कालाजारको बिरामी उपचार पछि फर्किदा यातायात खर्चको रुपमा एक हजार र उपचार तथा ल्याव परिक्षणकालागि ५ हजार रुपैंया उपलब्ध गराएको छ । तर यसले मात्रै प्रयाप्त नभएकाले लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मी बताउनु हुन्छ ।

    बिरामीको उपचारमा ईन्जेक्सन निशुल्क भएपनि उपचार प्रकृयामा लाग्ने अन्य शुल्कका कारण शुल्क तिर्न नसकेर तीन जना बिरामी भागेको तथ्यांक लुम्बिनी अञ्चल अस्पतालमा छ भने अन्य तीन जानालाई रिफर गर्नु परेको थियो ।

    अहिलेसम्म उपचारमा आएका कालाजारका बिरामीको तथ्यांक हेर्दा सबैभन्दा बढी पाल्पामा ४१ जना, प्युठानमा १७ जना, स्याङ्जामा १० जना, दाङ् अर्घाखाँची र गुल्मीमा ५÷५ जना तथा कपिलबस्तु सल्यान, रोल्पा, नवलपरासी र बाँकेमा १÷१ जना बिरामी भेटिएका छन् ।

    रुपन्देही प्रकोप तथा विपद् व्यबस्थापन समितिका अध्यक्ष तथा लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालका अनुसार विशेषज्ञ सेवा सहितका अस्पताल भएका क्षेत्रमा कालाजारका बिरामीको संख्या बढी देखिएको छ । यसले बिरामी नभएर भन्दा पनि उपचारकालागि अस्पतालको पहँुच नभएका कारण बिरामीले रोग पालेर बस्नुपर्ने बाध्यता भएको सहज अनुमान गर्न सकिने उहाँले बताउनु भयो ।

    पोथी जातको संक्रमित ‘फ्लेबोटोमस अर्जेटिपस’ नामको भुसुनाको टोकाईबाट कालाजार हुन्छ । कालाजार गराउने परजीविलाई लिस्मेनीया डोनोभनी भनिन्छ । क्यूटेनियस लिस्पेनियासिस, भिसेरल लिस्पेनियासिस र म्यूकोक्युटेनियस लिस्पेनियासिस गरि यो तीन प्रकारको हुन्छ । नेपाल सहित भारत, बंगलादेश लगायतका दक्षिण पूर्वी यसियामा भिसेरल लिस्पेनियासिस परजीविले कालाजार हुने गरेको छ ।

    विश्वमा वार्षिक ६ लाख जनामा कालाजार रोग लाग्ने गरेको तथ्यांक छ भने त्यसको ९० प्रतिशत हिस्सा भारत, बंगलादेश, सुडान र ब्राजिलमा मात्रै छ । त्यस्तै ‘फ्लेबोटोमस अर्जेटिपस’ नामको यो भुसुना विश्वमा ६५० जातीका छन् । त्यसमध्ये ७० प्रकारका जातीले मात्रै कालाजार फैलाउँछन् भने नेपालमा भएका ११ जाती मध्ये ‘फ्लेबोटोमस अर्जेन्टिपस’ले मात्रै कालाजार फैलाउने अनुमान गरिएको छ । नेपालमा कालाजार सन् १९५३ मा पत्ता लागेको थियो भने यसको सन् २०८० बाट मात्रै रेकर्ड राख्न थालिएको थियो ।