कपिलवस्तुमा तरकारी जोन कार्यक्रम संचालन

1.2K

कपिलवस्तुमा तरकारी जोन कार्यक्रम संचालन

कपिलवस्तु,२१ चैत । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत तरकारी जोन कार्यक्रम संचालन भएको छ । एकीकृत तरकारी खेतीलाई प्रोत्साहन गरी नमुना तरकारी खेतीकालागि जिल्लामा तरकारी जोन कार्यक्रम संचालन गरिएको हो ।

कपिलवस्तु नगरपालिको पाँच वटा र बुद्धुभूमि नगरपालिकाको एक वडामा तरकारी जोन कार्यक्रम संचालन गर्न लागिएको हो । तरकारी जोन कार्यक्रमकै लागि कृषि विकास कार्यालय अन्तर्गत तरकारी जोन कार्यान्वयन ईकाई समेत स्थापाना गरिएको छ ।

तत्कालिन ५ गाबिस र हाल नगरपालिकाका पाँच वडाका ५ सय १० हेक्टर क्षेत्रमा तरकारी जोन कार्यक्रम अन्तर्गत बिभिन्न तरकारीहरु लगाईने कृषि कार्यालयका प्रमुख खुर्सेद अहमद खाँले बताउनुभयो । कपिलवस्तु नगरपालिकाको वडा नम्बर ३, ४, ६, ९, १० र १२ तथा बुद्धुभूमि नगरपालिकाको वडा नम्बर १० मा तरकारी जोन कार्यक्रम संचालन गर्ने तयारी गरिएको छ ।

जोन कार्यक्रमबाट ८ हजार ६ सय ७० मेट्रिक टन तरकारी उत्पादन भई १९ करोड बढीको कारोवार हुने अपेक्षा गरिएको छ । कृषि कार्यालयका अनुसार जिल्लामा ५ हजार ८ सय ४५ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको र ३ हजा ८ सय ४० मेट्रिक टन भारत र बाहिरी जिल्लाबाट निकासी गर्ने गरिएको छ ।

गमलामा तयार भएको गोभीमा पानी हाल्दै तरकारी जोन कार्यक्रमको उद्घाटन गर्दै कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव)ले कृषिमा आधुनिकिकरण र यान्त्रिकिकरणलाई बढावा दिई सहज उत्पादन बढाउन जोन कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

उहांले जोन कार्यक्रमले उत्पादन बढ्नुको साथै बजारीकरणमा समेत सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । जिल्लालाई धान उत्पादनमा सुपर जोन बनाउनुपर्नेमा जोड दिदै उहांले कपिलवस्तुमा लागु भएको धान जोन कार्यक्रमलाई बिस्तार गरेर सुपर जोन बनाउनु पर्छ भन्नुभयो ।

कार्यक्रममा सांसद बृजेश कुमार गुप्ताले कृषि उपजको मुल्य किसानले आफै तोक्ने किसिमले सरकारले प्रावधान मिलाउनु पर्ने बताउनुभयो । उहांले चक्लाबन्दीलाई जोड दिदै सरकारले कृषकहरुको ऋण सुबिधालाई मध्यनजर गर्दै कृषक एटिएम संचालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कृषि बिभागका महानिर्देशक डिल्लीराज शर्माले तरकारी जोन कार्यक्रमले भूमिको चक्लाबन्दी हुने र त्यसले कृषकहरु ब्यवसायिक बन्ने बताउनुभयो ।

प्रदेश नम्बर ५ का सदस्यहरु दीर्घ नारायण पाण्डेय, धरमबहादुरलाल श्रीवास्तव, सहसराम यादवले जिल्लामा मलखाद बीउ बिजन र सिंचाईको ब्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभएको थियो ।

तरकारी उत्पादनमा अगुवा कृषक मेघनाथ केवटले आफुहरुलाई तरकारी उत्पादनमा झन सहज हुने बताउनुभयो ।