कर निर्धारणलाई बैज्ञानिक बनाउन काँग्रेसको माग

778

कर निर्धारणलाई बैज्ञानिक बनाउन काँग्रेसको माग

सैनामैना, १४ असार । नेपाली काँग्रेस सैनामैना नगर समितिले एकिकृत करको नाममा नागरिकलाई भार नथप्न नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि सैनामैना नगरपालिकाको प्रस्तावित करको दर जनताको ढाड सेक्ने खालको भएको भन्दै बैज्ञानिक बनाउन आग्रह गरेको हो ।

नेपाली काँग्रेस सैनामैना नगर समितिले बिहिबार सैनामैनामा पत्रकार सम्मेलन गरि नगरपालिकालाई करको दायरा बृद्धि गर्न तथा करको दर कम गर्न सुझाव दिएको हो । पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नगर सभापति रामप्रसाद अधिकारीले एकिकृत सम्पत्ति करका सम्बन्धमा राजनीतिक दलका बिच भएको सहझदारी अक्षरश पालना गरी हुवहु कार्यान्वयन गर्न माग गर्नुभयो ।

यस अंगाडी नगरपालिकामा कृयाशिल राजनीतिक दलका बिचमा जग्गाको मुल्यांकन गरि त्यसका आधारमा न्यूनतम कर निर्धारण गर्ने सहमति भएको थियो । तर अहिले नगरपालिकाले उक्त सहमति बिपरित हुने गरी करको दायरा र दर निर्धाण गरेकाले नागरिकको ढाड सेकिने गरि भएको कर निर्धारण नेपाली काँग्रेसलाई मान्य नहुने नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्माले बताउनु भयो ।

त्यस्तै नगरपालिकाले एकिकृत सम्पत्ति कर भन्दा पनि सरसफाई कर दर अध्यधिक निर्धाण गरेको उहाँले आरोप लगाउनु भयो । नेपाली काँग्रेसले घरको वर्गीकरण गरि ५० देखि १०० रुपैंया सम्म सरसफाई कर निर्धारण गर्न सुझाव दिएको भएपनि नगरपालिकाले एउटै घरमा ३ हजार सम्म कर निर्धाण गरेकाले चर्को सरसफाई कर स्वीकार्य हुन नसक्ने भन्दै आपत्त प्रकट गर्नुभयो ।

चर्को सरसफाई करको नेपाली काँग्रेसले प्रतिवाद गर्ने बताउँदै जिल्ला उपसभापति शर्माले सरसफाई कर नतिर्न नागरिकलाई आग्रह गर्नुभयो । ‘नगरपालिकामा आवश्यक र गर्नै पर्ने काम फोहोर मैला व्यबस्थापन नै हो ।’ उहाँले भन्नुभयो–‘तर फोहोर मैला व्यबस्थापनका नाममा जनताले बोक्नै नसक्ने गरी करको भारी आयो, जनतालाई ढाड सेक्नेगरी गरिएको कर निर्धारण नेपाली काँग्रेसलाई शैह्य छैन ।’

जनताबाट कर उठाएपछि ५०÷५० वा ६०÷४० जनसहभागीताका योजना खारेज गर्न पनि कांग्रेसको माग छ । नगरपालिका भित्र हालै विद्यालयको समायोजन तथा कक्षा घटुवाको निर्णयले अभिभावकलाई हतोत्साहित बनाएको भन्दै सो विद्यालयलाई पूर्ववत स्थितीमा सञ्चालन गर्न कांग्रेसको आग्रह छ । नगरसभापति रामप्रसाद अधिकारीले विकासमा कांग्रेस सहयोगी बन्ने र कर मार्फत जनताको ढाड सेक्ने काम भएमा चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

कार्यक्रम नगर उपसभापति गुरुप्रसाद पराजुलीको स्वागत तथा सचिव टेकबहादुर रेश्मीको सञ्चालनमा भएको थियो ।