कर फिर्ताको माग गर्दै उद्योग बाणिज्य संघको ज्ञापन

469

कर फिर्ताको माग गर्दै उद्योग बाणिज्य संघको ज्ञापन

मणिग्राम, १ भदौ । तिलोत्तमा उद्योग वाणिज्य संघले नगरपालिकाले व्यवसायीक कर र सम्पत्ति कर बढाएको बिरोधमा फिर्ताको माग गर्दै शुक्रवार ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष गुणनिधी भण्डारीले व्यवसायिक कर र सम्पत्ति कर सम्वन्धि १३ बुदे माग राख्दै नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

संघले नगरपालिकाले ३ हजार ५ सय प्रतिशत सम्म कर बृद्धि गरेको भन्दै त्यसलाई तत्काल हटाई अहिलेको करमा बढीमा १० प्रतिशत मात्र बढाउन माग गरेको छ । अध्यक्ष भण्डारीले ज्ञापन पत्र बुझाउदै कर बढाउदा सहमति र आवश्यक बिधि र प्रक्रिया समेत पुरा नगरिएको आरोप लगाउनु भयो । उहाँले राजश्व परामर्श समिति र अन्य छलफलमा अत्यधिक कर नवढाउन र व्यवहारिक र बैज्ञानिक पद्धतिमा कर लगाउन आफुले पटक पटक कुरा उठाउदा पनि नगरपालिकाले बेवास्ता गरेको बताउदै तत्काल अत्यधिक बढेको कर फिर्ता नलिइए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिनुभयो ।

ज्ञापन पत्र बुझदै नगर प्रमुख घिमिरेले राजश्व परामर्श समिति सहित बिभिन्न समितिमा व्यापक छलफल पश्चात करको नयाँ दर निर्धारण गरिएको दाबी गर्दै गरिव असहायबाट कर लिने नीति नगरपालिकाले नलिएको तर कर तिर्न सक्नेले मनासीव तिनृु पर्छ भन्ने मान्यता रहेको बताउनु भयो ।
उहाले ज्ञापन पत्र आई सकेकाले करका सम्वन्धमा थप अध्ययन गरी कुनै कर बढी नै भए नगर कार्यपालिकामा र आवश्यक परे नगरपरिषदमा समेत छलफल गरी सच्याउन सकिने आश्वासन दिनुभयो । सोही अवसरमा संघका सल्लाहकार तथा उद्योगी चन्द्रमान श्रेष्ठले भर्खरै नगरपालिका भई उद्योग व्यवसायको स्थापनाको माहोल बन्न लागेको अवस्थामा लगाइएको अत्यधिक करले त्यस्ता उद्योग व्यवसाय फष्टाउन नसक्ने बताउनु भयो ।