खोई कांग्रेसको प्रदेश कार्यालय ?

356

खोई कांग्रेसको प्रदेश कार्यालय ?

बुटवल, बैशाख । पाँच नम्बर प्रदेश सभाको बैठक सुरु भएको ढाई महिना र प्रदेश सरकार गठन भएको २ महिना भइसक्यो । सरकारले प्रदेशको केन्द्र बुटवलमा तोकेपछि प्रदेशका अस्थायी संरचना तयार भएर प्रदेश सरकारले काम कारवाही अंगाडी बढाईरहेको छ । तर प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै आफ्नो प्रदेश कार्यालय स्थापना गर्न सकेको छैन ।नेपाली कांग्रेसको अहिलेसम्म प्रदेश संरचना र समिति बनेको छैन । त्यसको लागि विधान संसोधन हुनुपर्छ ।

तर प्रदेशको अस्थायी वा सम्पर्क कार्यालय खोल्न खासै कठीनाई नभएको पार्टी निकट बुद्धिजिबीको भनाई छ । ‘पार्टीको प्रदेशको समिती बनिसक्नुपर्ने हो बनेको छैन, प्रदेशको समिति नबने पनि तत्काल प्रदेशको कार्यालय स्थापना हुनैपर्छ ।’ प्रजातन्त्रबादी प्राध्यापक संघका केन्द्रीय सचिव डा. विष्णु पोखरेलले भन्नुभयो–‘नगर, क्षेत्र र जिल्ला समितिले समन्वय गरेर तत्काल ठाउँ खोजी पार्टीको प्रदेश कार्यालय खोल्नु पर्दछ ।’

बेला बेलामा पार्टीको संसदीय दलको बैठक बसिरहनु पर्दछ । संसदले अहिले दलको कार्यालय पनि उपलब्ध गराइसकेको छैन । प्रदेश सभा सचिवालयमा दलको नेताको कार्यकक्ष मात्र छ । कांग्रेस संसदीय दलको बैठक दलका नेताकै कार्यकक्षमा बस्ने गर्दछ । प्रदेश सभा बैठकका विभिन्न एजेण्डाहरुमा संसद बाहिरका नेताहरुसँग पनि अनौपचारीक बैठक तथा संबाद गर्न पार्टीको प्रदेश सम्पर्क कार्यालय आवश्यक छ । ‘प्रदेशमा पार्टीको कार्यालय नहुनु मैले ठूलो कम्जोरीको रुपमा लिएको छु ।’ डेमोक्रेटिक लायर्स एशोसिएसनका पूर्व केन्द्रीय सदस्य बाबुराम पाण्डेले भन्नुभयो–‘जिल्ला तथा स्थानीय समितिले पहल गरेर केन्द्रले प्रदेश सम्पर्क कार्यालय खोल्नुपर्दछ ।’

प्रदेशका विभिन्न जिल्लाबाट आएका कांग्रेसका कार्यकर्ताले विसाउने पार्टीको आधिकारिक ठाउँ छैन । पार्टीको प्रदेश स्तरीय बैठक र कार्यक्रम गर्न पनि ठाउँको अभाव छ । जिल्ला नगरका आफ्नै कार्यालय उपयुक्त ठाउँमा छैनन् । कांग्रेसको जिल्ला पार्टी कार्यालय भैरहवामा छ ।ठाउँ पर्याप्त भए पनि दुरीका हिसाबले टाढा छ । बुटवल मैनाबगरमा रहेको नगर र क्षेत्रीय कार्यालयलाई पनि प्रदेश सम्पर्क कार्यालय तोक्न साँघुरो छ । ‘पायक पर्ने र सहज ठाउँमा प्रदेश सम्पर्क कार्यालय हुनुपर्छ ।’ प्रजातन्त्रबादी प्राध्यापक संघका सचिव पोखरेल भन्नुहुन्छ–‘अरु जिल्लाबाट आएकाले पनि सजिलै फेला पारुन् ।’

पछि प्रदेश समिति गठन भएमा उनीहरुलाई कामकाज सुरु गर्न कार्यालय आवश्यक पर्दछ । ‘प्रदेशको नेतृत्व आएर कार्यालय खोज्न भन्दा आउने वित्तीकै काम सुरु गर्ने वातावरण बनाउनु पर्दछ ।’ डेमोक्रेटिक लायर्श एशोसिएसनका पूर्व केन्द्रीय सदस्य पाण्डे भन्नुहुन्छ–‘कार्यालय खोलेर एकजनालाई कार्यालय प्रमुख तोकी काम अगाडी बढाइहाल्नु पर्छ ।’ कांग्रेस प्रदेश संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले पार्टीको छुट्टै प्रदेश कार्यालय आवश्यक देखिएको बताउनुभयो । ‘प्रदेशको कार्यालय आवश्यक देखीएको छ, यस बारेमा म अरु साथीहरुसँग पनि छलफल गर्छु ।’