Thursday 23rd November 2017
  • New title for a=>html, img=>alt
  • किसानलाई जडिबुटि खेती तालिम

    May 24, 2017



    बुटवल, १० जेठ । सर्वाङ्गिण बिकासका लागि साझेदार संस्थाको आयोजना र लालिगुराँस युवा क्लवको सहआयोजनामा रुपन्देही क्षेत्र नं. ५ का दुई सय किसानलाई जडिबुटीको पहिचान तथा खेती सम्बन्धि तालिम प्रदान गरिएको छ ।

    सांसदको क्षेत्र बिकास कार्यक्रमको सहयोगमा रुपन्देही रुद्रपुर र साडीका किसानलाई रुद्रपुरको गरगरेमा, बिष्णुपुरा र सुर्यपुराका किसानकालागि सुर्यपुरामा, सालझण्डी र दुधराक्षका किसानलाई सालझण्डीमा तथा मानमटेरीया र गजेडीका किसानकालागि गजेडीको लौछामा तालिम सञ्चालन गरिएको थियो । गत वैशाख १७ गतेदेखि सुरु गरिएको ४ दिने तालिम बुधबार गजेडीमा समापन गरिएको हो ।

    यी चार स्थानमा सञ्चालन गरिएको तालिममा २ सय किसानलाई जडिबुटीको पहिचान गर्न र पहिचान गरिएको जडिबुटीको खेती कसरी गर्ने भन्ने बिषयमा तालिम प्रदान गरिएको सर्वाङ्गिण बिकासकालागि साझेदारी संस्थाकी अध्यक्ष लीलाकुमारी पौडेलले जानकारी दिनुभयो । तालिममा डा बद्रिप्रसाद गौतमले जडिबुटिको पहिचान, त्यसको महत्व, प्रयोग गर्ने तरिका, त्यसको खेती प्रणालीका बारेमा तालिम दिनुभएको थियो । तालिमको समापन गर्दै कञ्चन गाउँपालिकाका कार्यकारी प्रमुख कृष्णप्रसाद पन्थीले मुलुकको अर्थतन्त्रको आधार कृषि भएकाले कृषिलाई व्यबस्थित र व्यबसायमुखि रुपमा अंगाडी बढाउन आवश्यक रहेको र त्यसकालागि यस्ता तालिममा सिकेको ज्ञानलाई व्यबहारमा उतार्न सहभागिलाई आग्रह गर्नुभयो ।

    तालिमको समापनमा तालिममा सहभागि किसानलाई प्रमाणपत्र संगै एक एक थान अश्वगन्धाको विरुवा समेत प्रदान गरिएको छ । अश्वगन्धाले तीन महिनाबाट फल दिन थाल्ने र ६ बर्षसम्म लगातार उत्पादन भईरहने भएकाले किसानलाई कृषि व्यबसायमा व्यबसायिक बनाउन औषधीय गुण भएको अश्वगन्धाको बिरुवा वितरण गरिएको अध्यक्ष पौडेलले बताउनु भयो । अश्वगन्धाको बिरुवालाई २ हजार पर्छ भने त्यसको विउलाई ३ हजार रुपैंया प्रतिकिलो पर्ने त्रयमबकम सहकारीका अध्यक्ष तथा तालिमका प्रशिक्षक गौतमले बताउनु भयो ।

    समापन कार्यक्रममा दुर्गा माध्यमिक बिद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतम, आयोजक लालिगुरास युवा क्वलका अध्यक्ष रामबहादुर थापा, समाजसेवी दुर्गाबहादुर थापा लगायतले भनाई राखेका थिए । तालिमका सहभागिहरु चन्द्रकान्ति चौधरी, लक्ष्मी पंगेनी, मैना रसायली लगायतले आफ्ना वरीपरि भएका झारपातमा पनि औषधीय गुण हुने रहिछ भन्ने ज्ञान भएको र कृषि व्यबसायलाई व्यबसायिक रुपमा अंगाडी बढाउने अठोट गरेका थिए ।