Wednesday 21st February 2018
  • New title for a=>html, img=>alt
  • लखन थापालाई प्रथम सहिदको सम्मान दिन माग

    February 12, 2018


    बुटवल, २९ माघ । शहिद लखन थापालाई प्रथम शहिद घोषणा गरिएपनि प्रथम शहिदको सम्मान नभएको भन्दै प्रथम सहिदको सम्मान दिन माग गरिएको छ । नेपाल मगर संघ रुपन्देही र प्रथम शहिद लखन थापामगर अक्षयकोष रुपन्देही सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि लखन थापालाई प्रथम सहिद घोषणा गरिएजस्तै गरि शहिदको सम्मान दिन माग गरेका हुन् ।

    उनको सम्मानकालागि पूर्णकदको शालिक काठमाण्डौ शहिद गेटमा अन्य चार सहिद सरह राख्नुपर्ने, स्थानीय, प्रदेश तथा संघीय तीन तहका सरकारी कार्यालयहरुमा लखन थापाको फोटो राख्नुपर्ने, लखन थापाको जिवनी पनि अन्य शहिदको जस्तै गरि पाठ्यक्रममा समावेश गर्नुपर्ने प्रथम सहिद लखन थापामगर अक्षयकोष रुपन्देहीका अध्यक्ष माथवरसिंह सलामीले माग गर्नुभयो ।

    त्यस्तै प्रथम शहिद लखन थापाको स्मृतीमा प्रत्येक वर्ष फागुन २ गते सार्वजनिक बिदा दिनुपर्ने, जयसिंह चुमीमगर, सुकदेव गुरुङ, सुपती गुरुङ, लगायत तत्कालिन प्रजातान्त्रिक आन्दोलनमा सहादत्त प्राप्त गरेका सबैलाई राष्ट्रिय सम्मान सहित शहिद घोषणा गर्नुपर्ने उहाँले माग गर्नुभयो ।

    जहानीय राणा शासनको बिरुद्ध सामाजिक तथा राजनीतिक बिद्रोहको सुत्रपात गरेका लखन थापालाई राणा फौजद्वारा गोरखाको बुंकोटमा १९३३ फागुन २ गते खिर्राको रुखमा झुण्ड्याएर हत्या गरिएको बताईएको छ । लखन थापाकै बिद्रोह र बलिदानीकै जगबाट २००७ सालमा राणा शासनको अन्त्य भएपनि मुलुकमा धेरै राजनीतिक परिवर्तन भएर संघीय गणतन्त्र सम्म आउँदा पनि उनको वलिदानर्ला गुपचुप राखिनु र शहिद घोषणा गरेर पनि सम्मान नदिनु अन्याय पूर्ण भएको नेपाल मगर संघ रुपन्देहीकी अध्यक्ष गीता सारु मगरले बताउनु भयो ।

    राणा बिरोधी आन्दोलनको सुत्रपात गर्ने लखन थापालाई राणा बिरोधी प्रजातान्त्रिक शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथचन्द्र ठाकुरको सूचीमा राखेर सोही अनुसारको सम्मान गर्र्नुपर्ने माग सहित नेपाल मगर संघले सोमबार संघ रहेका ७३ जिल्लामा एकै साथ जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएका छन् ।

    प्रत्येक वर्ष शहिद दिवस मनाउँदा उनी चार जना शहिदको मात्रै फोटो राख्ने र प्रथम शहिदको कुनै सम्मान नभएकाले विवेकहिन र विभेदपूर्ण कामको सुधारकालागि अभियान थालिएको नेपाल मगर संघ रुपन्देहीका सचिव कमल थापाले बताउनु भयो ।

    नेपाल मगर संघ रुपन्देही र प्रथम लखन थापामगर अक्षयकोष रुपन्देहीले यहि फागुन २ गते बुटवलको राजमार्गमा लखन थापा दिवस मनाउने समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । लखन थापालाई नेपाल सरकारले २०७२ साल असोज दुई गतेको मन्त्रीपरिषद बैठकले प्रथम सहिद घोषणा गरेको थियो ।