लुम्बिनी, सिद्धार्थनगर र गैडहवा खुला दिसा मुक्त हुन सकेनन्

947

लुम्बिनी, सिद्धार्थनगर र गैडहवा खुला दिसा मुक्त हुन सकेनन्

बुटवल, ३२ साउन । रुपन्देहीका दुई नगरपालिका र एक गाउँपालिका अझै खुला दिसा मुक्त हुन सकेका छैनन् । गत आर्थिक वर्षमा रुपन्देहीका सबै स्थानीय तहलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएपनि लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका र गैडहवा गाउँपालिकामा लक्ष्य अनुसार काम गर्न नसकिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका ईञ्जिनीयर ध्रुव धितालले बताउनु भयो ।

कार्यालयले बुधबार आर्थिक वर्ष २०७३÷०७४ मा भएका कामको समिक्षा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा कार्यालयले सरसफाईका क्षेत्रमा गरेका कामको प्रगति विवरण प्रस्तुत गर्दै ईञ्जिनीयर धितालले त्यस क्षेत्रमा स्थानीय निकायका कर्मचारीले उदासिनता देखाउँदा लक्ष्य हासिल गर्न नसकिएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकामा अघिल्लो आर्थिक वर्षको अन्त्यमा ३ हजार घरमा शौचालय निर्माण गर्न बाँकी रहेकोमा यो आर्थिक बर्षमा १ हजार ५ सय मात्र शौचालय निर्माण भएकाले अझै १ हजार ५ सय घरमा शौचालय बनाउन बाँकी छ । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा अघिल्लो आर्थिक वर्षमा ४५० घरमा शौचालय बनाउन बाँकी थियो । गत आर्थिक वर्षमा उक्त नगरपालिकामा ४ सय घरमा शौचालय निर्माण भएको छ । अव उक्त नगरपालिकामा ५० घरमा मात्रै शौचालय बनाउन बाँकी छ ।

त्यस्तै गैडहवा गाउँपालिकामा अझै ३ सय घरमा शौचालय बनाउन बाँकी छ । साविकका विष्णुपुरा, साडी, जोगडा र सुर्यपुरा गाउँ बिकास समिति मिलाएर गाउँपालिका बनाईएको गैडहवामा यस अगाडी नै विष्णुपुरा बाहेकका साविकका गाबिसहरुमा खुला दिसा मुक्त क्षेत्र घोषणा गरिसकिएको थियो । विष्णुपुरामा अघिल्लो आर्थिक वर्षमा ७ सय घरमा शौचालय बनाउन बाँकी थियो । गत आर्थिक वर्षमा अव ३ सय घरमा शौचालय बनाउन बाँकी छ ।

एक उपमहानगरपालिका, ५ नगरपालिका र १० वटा गाउँपालिका रहेको रुपन्देहीमा १३ वटा स्थानीय तहमा भने खुला दिसा मुक्त क्षेत्र घोषणा गरिसकिएको छ । रुपन्देही जिल्लामा अझै १ हजार ८ सय ५० घरमा शौचालय बनाउन बाँकी रहेको र चालु आर्थिक वर्ष भित्रै पुरा गर्ने गरी काम अगाडी बढाईने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख बासुदेव पौड्याल बताउनु हुन्छ । ‘यस अगाडी स्थानीय निकायमा जनप्रतिनिधि पनि नभएका कारणले काम गर्न त्यति सहज थिएन, स्थानीय तहमा निर्वाचन भएको छ, अव केही सहजपनि होला ।’ उहाँले भन्नुभयो ।

उक्त समिक्षा कार्यक्रममा डिभिजन प्रमुख पौड्यालले खानेपानी योजनामा भएका प्रगति तथा प्राबिधिक ईश्वरी आचार्यले खानेपानी सुरक्षा अवधारणा बारे जानकारी गराउनु भएको थियो ।