गुणस्तरीय मह उत्पादनमा जोड

885

गुणस्तरीय मह उत्पादनमा जोड

बुटवल, ५ भदौ । नेपाल मौरी पालक महासंघ पाँच नम्बर प्रदेश समितिले मौरीको चरिचरन व्यबस्थापन, गुणस्तरीय महको उत्पादन तथा उत्पादित महको बजारीकरणमा जोड दिएको छ । नेपाल मौरीपालक महासंघ प्रदेश समितिको हालै बुटवलमा भएको बैठकले मौरीमा रानो सुधार, रोग नियन्त्रण तथा किसानलाई तालिमको व्यबस्थापन गर्ने बिषयमा जोड दिएको छ ।

हालै मौरी पालक किसानहरुको भेलाले नेपाल मौरी पालक महासंघ प्रदेश समिति गठन गरिएको थियो । उक्त समितिको बुटवलमा भएको पहिलो बैठकले मौरी पालन किसानलाई प्रोत्साहन हुने गरी कार्यक्रम सञ्चालनमा जोड दिईएको प्रदेश समितिका सचिव लिलापती घिमिरेले बताउनु भयो ।

उक्त बैठकमा कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले नेपालमा मौरी पालनको अवस्था, यस भित्रका समस्या र सरकारले गर्ने प्रोत्साहनका कार्यक्रमका बारेमा जानकारी गराउँदै गुणस्तरीय मह उत्पादनकालागि मन्त्रालयबाट हुने सहयोग गर्न आफू तयार रहेको बताउनु भयो । उहाँले मौरीको चरिचरन संकटमा रहेकाले चास्नीमा अनुदान, उत्पादित महको गुणस्तर तथा बजारीकरण, किसानलाई तालिम प्रदान गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने जानकारी गराउनु भयो ।

नेपाल मौरी पालक महासंघ प्रदेश समितिका अध्यक्ष रामहरी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष यमकला पल्लीले स्वागत गर्नुभएको थियो । उक्त बैठकमा केन्द्रीय अध्यक्ष तथा जिल्ला प्रतिनीधिहरुको समेत सहभागिता रहेको थियो ।