Wednesday 13th December 2017
  • New title for a=>html, img=>alt
  • अनावश्यक शुल्क लिनेलाई कारवाही गर्न मन्त्री बोहोराको निर्देशन

    November 13, 2017


    बुटवल, २७ कात्तिक । स्वास्थ्य मन्त्री दीपक बोहोराले डेंगु परिक्षणमा अनावश्यक शुल्क लिने स्वास्थ्य संस्थालाई तत्काल कारवाही गर्न जनस्वास्थ्य कार्यालयका क्षेत्रीय निर्देशक र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीलाई निर्देशन दिनुभएको छ ।
    रुपन्देहीका केही नीजि स्वास्थ्य संस्थाले मौकाको फाईदा उठाएर अनावश्यक शुल्क दिएको गुनासो आएकाले मन्त्री बोहोराले तत्कालै कारवाही प्रकृया अंगाडी बढाउन निर्देशन दिनुभएको हो ।

    डेंगुको महामारी लिएको रुपन्देहीको अवस्था बुझ्नकालागि सोमबार लुम्बिनी अञ्चल अस्पताल आउनु भएको मन्त्री बोहोरासंगको छलफल कार्यक्रममा उहाँले मातहतका कार्यालयलाई निर्देशन दिंदै कारवाही पछि आफूलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो । ‘निशुल्क उपचार हुन्छ भने किट उपलब्ध गराऔं ।’ उहाँले निर्देशन दिँदै भन्नुभयो–‘तर शुल्क लाग्छ भने बाहिर चेकजाँच गराउन बन्द गरौं ।’

    उहाँले लुम्बिनी अञ्चल अस्पतालमा सिटि स्क्यानको तत्कालै व्यबस्था हुने जानकारी गराउँदै डाईग्नोसिस भवनकालागि आवश्यक बजेट व्यबस्थापनको काम तत्कालै सुरु हुने बताउनु भयो । उहाँले लुम्बिनी अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा बिकास गर्न अपरिहार्य रहेकाले मेडिकल कलेज बनाउन सबै एकजुट हुनु आग्रह गर्नुभयो । ‘यी सबै कुरा गर्न सहमति आवश्यक छ ।’ उहाँले भन्नुभयो–‘त्यसकालागि नगरपालिकाले सहमति दिनुपर्छ ।’

    बुटवललाई पाँच नंम्बर प्रदेशको राजधानी बनाउनकालागि पनि पूर्वाधार बिकास आवश्यक रहेको र त्यसकालागि यी सबैकुरा आवश्यक भएको उहाँले बताउनु भयो । जसरी पनि रुपन्देहीलाई पाँच नं. प्रदेशको राजधानी बनाउने बताउँदै त्यसकालागि शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार बिकासमा आफू प्रतिवद्ध रहेको बताउनु भयो ।

    कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षेत्रीय डाईरेक्टर बिनोदकुमार गिरी मन्त्रीले दिएको निर्देशन तत्काल कार्यान्वयन गर्ने बताउँनु भयो । उहाँले रुपन्देहीमा फैलीएको डेंगुको महामारी नियन्त्रणकालागि क्षेत्रीय कार्यालयले सबै प्रकारको काम गर्ने पनि बताउनु भयो ।

    रुपन्देही जिल्लामा चालु आर्थिक वर्षमा ६३५ जना डेंगुका बिरामी भेटिएको जानकारी दिँदै लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकारी लक्ष्मीराज रेग्मीले अहिले पनि रुपन्देहीका बिभिन्न अस्पतालमा ३० देखि ३५ जना डेंगु संक्रमित बिरामीको उपचार भईरहेको जानकारी गराउनु भयो ।

    लुम्बिनी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले अस्पतालको बिकासकालागि भौतिक पूर्वाधार निर्माण, प्राबिधिक उपकरणहरु तथा जनशक्ति व्यबस्थापनमा सहयोग गर्न मन्त्री बोहोरालाई आग्रह गर्नुभएको थियो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले अहिले डेंगु रोग नियन्त्रणकालागि नगरपालिकाले काम गरिरहेको बताउँदै रुपन्देहीको समग्र स्वास्थ्य सुधारकालागि अञ्चल अस्पतालमा बिभिन्न पक्षको सुधार आवश्यक रहेको बताउनु भएको थियो ।
    त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले नगरपालिकाले केन्द्रीय सरकारको मुख ताक्ने प्रबृत्ति मात्रै गर्ने नभई स्थानीय स्तरबाट हुने काम आफैले गर्नुपर्ने भनाई राख्नुभएको थियो ।

    लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद खनालले जनचेतनाकै कारण डेंगुले महामारीको रुप लिएपनि नियन्त्रण भित्रै रहेको बताउनु भयो । उहाँले अस्पतालमा आईसीयु सञ्चालन गर्दा मन्त्रालयले तत्कालै दरवन्दी व्यबस्था गर्ने बचन दिएपनि दुई वर्ष बित्दासमेत काम हुन नसकेको बताउँदै आईसीयु बिकास समितिले धान्नुपर्दा समस्या भएको बताउनु भयो ।

    त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले डेंगु रोग नियन्त्रणकालागि जनस्वास्थ्य नगरपालिका लगायतका संस्थाले लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने, जनचेतना जगाउने काम भईरहेको बताउँदै फगिङ् स्प्रेको कार्यक्रम भएपनि लामखुट्टेसंगै वातावरणमा भएका आवश्यक पर्ने मौरी लगायतका किराहरु मर्ने भएकाले त्यसलाई तत्काल नगरिएको जानकारी गराउनु भयो ।