Wednesday 13th December 2017
  • New title for a=>html, img=>alt
  • क्याटेलोनियाको संसद र मन्त्रिपरिषद खारेज, स्पेनको प्रत्यक्ष शासन लागू

    October 28, 2017


    बीबीसी , स्पेन । स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटेलोनियाको संसद भंग गरेर प्रत्यक्ष शासन लागू गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् ।

    उनले क्याटेलोनियामा चुनाव गराउने घोषणा पनि गरेको बीबीसीले लेखेको छ । अब क्याटेलोनियामा २१ डिसेम्बरमा चुनाव गराइने छ । स्पेनका प्रधानमन्त्री राखोयले यो चुनाव स्वतन्त्र र निष्पक्ष हुने प्रतिवद्धता जनाएका छन् ।

     

    उनले भनेका छन्, ‘स्थिति सामान्य बनाउन क्याटेलोनियाको शासनको सिधा बागडोर लिने अभूतपूर्व निर्णय जरुरी थियो ।’

    स्पेनबाट स्वतन्त्र हुनका लागि भन्दै अक्टोबर १ तारिखमा क्याटलोनियामा जनमत संग्रह गराइएको थियो जसलाई स्पेनको संवैधानिक अदालतले अवैध ठहर गरेको थियो । स्पेनबाट अलग हुने कि नहुने भनेर गराइएको जनमत संग्रहमा अलग हुने पक्षमा बहुमत आएको थियो । तर, क्याटेलोनियाका नेता  पुजिमोन्टले भने अलग भएको घोषणा गरिसकेका थिएनन् ।

    क्याटेलोनियाको क्षेत्रीय संसदले शुक्रबार स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो । १३५ सदस्यीय सदनमा प्रस्तावको पक्षमा ७० र विपक्षमा १० भोट आएको थियो । केही सदस्यहरुले भने मतदान बहिस्कार गरेका थिए ।

    यस मतदानपछि क्याटेलोनियाले स्पेनको संविधान खारेज गरेको थियो ।